‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि दिनेश योङहाङलाई - Mangsebung News
  • शुक्रबार, बैशाख ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि दिनेश योङहाङलाई

मंसिर २०, माङसेबुङ । फाकफोकथुम इलामका दिनेश योङहाङले मातृभाषा गायन प्रतियोगिता ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि जितेको छ ।

इलामको माङसेबुङमा मंगलबार वृहत सांस्कृतिक कार्यक्रमसँगै भएको फिनालेमा इलामका माई नगरपालिकाका शान्ता फियाक, मोरङ लेटाङ नगरपालिका वारङगीका हरिचन्द्र लिम्बू र पान्थर मिक्लाजुङ गाउँपालिका सारङडाँडाका उपेन्द्र आङदेम्बे लिम्बूलाई पछि पार्दै योङहाङले ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि जितेको हो ।

उपाधि कव्जा गरेसँगै योङहाङले नगद पुरस्कार ४० हजारको साथमा ट्रफी, एउटा गिटार र प्रमाण पत्र प्राप्त गरेका छन् । उप बिजेता बनेका तीन फाइनलिष्टहरुले नगद १० हजारको साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोहमा आयोजित वृहत सांस्कृतिक कार्यक्रमको अवसरमा आयोजना गरिएको मातृभाषा गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ को उत्कृष्ट आठ(सेमिफाइनलिष्ट) को लाईभ प्रस्तुतिको आधारमा सोमबार उत्कृष्ट चार प्रतियोगी फिनालेका लागि छनोट गरिएको थियो ।

यसैगरि मंगलबार फिनालेमा उत्कृष्ट चार प्रतियोगीहरुले गरेको प्रस्तुतिको आधारमा निर्णायकहरुले विजेता छानेको थियो ।

माङसेबुङ इक्ला गायन प्रतियोगिताको टप चार फाइनालिस्टमा स्थान सुरक्षित गर्न सफल प्रतियोगिहरु दिनेश योङहाङ फाकफोकथुम इलाम, शान्ता फियाक माई नगरपालिका इलाम, हरी चन्द्र लिम्बू लेटाङ मोरङ, उपेन्द्र आङदेम्बे मिक्लाजुङ साराङडाँडा पान्थरका रहेका थिए ।

प्रतियोगिताको निर्णायकहरुमा गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, गायिका दीलमती चेम्जोङ, गायक तथा संगीतकार आइन्द्र नेम्बाङ रहेको थियोे ।

प्रतियोगि सहभागीहरुलाई अनलाइन अडिसनबाट छनौट गरिएको थियो ।

 

सम्बन्धित खवर