आंतकवादी संस्मरण र मुर्दावाले मुर्कुट्टाहरुको आँतक... - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आंतकवादी संस्मरण र मुर्दावाले मुर्कुट्टाहरुको आँतक…

  • बिक्रम फागो वनेम 

एकताका पञ्चायती तानाशाही शासकीय ब्यवस्था केही समयकाल ढल्नु अघि, ठुल्दाई नाम विशेषले अज्ञात मान्छेको कटु–आलोचना गर्दै सम्बोधन गर्थे । त्यो ठुल्दाई को हो ? को हो ? एकाध– दोकाध ठाउँहरु विशेषमा सुनिन्थ्यो । स्कूल पढ्दै गरेको यो फुच्चे कलमी मान्छेलाई यो ठुल्दाईबारे अलिक चासो बढ्दै गयो । स्कूलको माध्यमिक तहको पहिलो खुड्किलो टेक्दै थिएँ सायद । यो ठुल्दाई को रछन् ? भनेर खोजी निन्दा गर्न थालें । आफू पढ्दै गरेको स्कूलमा (श्री जनता मा.वि., पथरी–७,मोरङ) पनि यदाकदा कानेखुशीहरुमा ठुल्दाईको कुरो चल्दैथ्यो ।

एकदिन घरमा पुज्य आफ्नो पापा (बौउ) लाई सोधनी गरें, यो ठुल्दाई भन्ने मान्छे को हाउ ? किन खोजीनिन्दा चाहियो ? जोसुकै होस् न, पढ्नु–सड्नु छोडेर । के को ठुल्दाई खोज्नु पर्यो ? बौउले एक्कासी रन्केर सातो लिनु भो । अनि त्यस्तो दादागिरी देखाउँने ठुल्दाईचेन् को हो ? त्यस्तो दादागिरी देखाउँनेलाई तह लगाउँनु पर्दैन र ? मेरो कट्मेरो मष्तिष्कमा खिल गाढिएको ठुल्दाईप्रतिको रोषप्रकट भएथ्यो । फेरि तँ नि बामे भईस् की के हो ? बौउको आक्रोशथ्यो । म मौनता भित्र रातोपिरो भएँ । फेरि ठुल्दाईको अस्तित्व खोज्दा बामे भन्ने अर्को विशेष नाम जोडिन पुग्यो । यो यो बामेहरुको काम छैन, हल्यो, खायो अनि हिंड्यो । सन्ध्यारी छिमेकी दौतारी साथीको बुवा ढकाल भन्ने बाःले सधैं यसरी नै गाली गर्नु हुन्थ्यो । फेरि यो बामे नामधारी ट्यागले अर्को रिङगटा चलाएथ्यो ।

एकदिन स्कूलमा अचानक खैरो ड्रेसमा २, ४ जना पुलिसहरु आए । उसबेला खैरो लुगा लगाउँनेहरु देख्दा नै सप्पोई डरले काँप्थे । तैंचुप–मैंचुप हुनु पथ्र्यो । स्कूलमा त्यस्तै सन्नाटा छायो । सरले कोही कसै नबोल्नु भन्ने सिम्बोलिक रूपमा हातले औंल्याउँनु भएथ्यो । हामेरुँ उसै नि डराएथ्यौं । केही क्षणमा यसो स्कूलको अफिसतिर नियाँले, आफ्नो बौउ पो बेश्कनै ठूलो स्वरमा कड्केको सुने। बौउ कराएको सुनेंसी, म झन् डराएँ । त्रसित बनें । स्कूलको सरहरुसँगै पुलिसहरुको बथानमा आफ्नो बौउ त्यसरी बेश्कनै उफ्रेको देखेपछि त आफू झनै आँतकित बन्न पुगेथें । मलाई लागेथ्यो की, अब मेरो बौउलाईचेन् यो पुलिसहरुले पक्रेर लैजाने रछन् भनेर भित्र–भित्रै कहालिएको थिएँ ।

धन्न त्यस्तै एकडेढ घण्टापछि त्यो पुलिसहरु त्यसै खाली फर्किएथे । आफूलाई भने आफ्नो बौउलाई समातेर लैजालान् भनेर कत्रो डर र पीर लागेथ्यो, कठै..! अन्तः भरै बुझेको त, बौउले यो स्कूलमा ठुल्दाई विरोधी र बामे–सामेहरु कोही कसै नभएको डिफेन्समा तर्क पेश गर्नु भा रछ । एकजना १० कक्षामा पढ्ने बुझक्कड अलिक ठूलो साथीले सुनाए । त्यो सुन्दा आफ्नो बौउप्रति पो किन–किन रिस उठेर आएथ्यो । आखिरमा को हो त्यो, ठुल्दाई भन्ने मान्छे ? जसको एकरत्ति विरोध गर्न नहुने/नपाईने ? अनि त्यो क्यारे बामे–सामे हुन नपाईने ? झननन रिस उठेथ्यो । आफूलाई रिस उठेको कुरा साथीहरुलाई सुनाको त, तेरो बौउले मार्छन्, त्यसो नभन ।

फेरि तँलाई नि पुलिसले पक्रेर लान्छ नि भने । मेरो बौउ, यो मुला दादागिरी देखाउँने ठुल्दाईको विरोध गर्न र त्यसको खोजीनिन्दा गर्न किन दिदैंनन् के ? यहीँ प्रश्न चिन्हको चिन्तनले मेरो मथिङगल भित्र–भित्रै हल्लि रहेथ्यो । यो खप्परको घनचक्कर भित्र ठुल्दाई र बामे नामधारी जन्तुहरु पिसिरहेको बेला, फेरि अर्की स्त्री नानधारीको नाम फोकस भो गाँठे..! त्यो स्त्री नेपाल देशकै धनाढ्य कुवेर हुन् रे । अन्तः त्यस्ति धनी आईमाई को होला ? जसको सप्पोई सम्पत्तिहरु स्विस बैंकमा राखेको छन् रे भन्ने हल्ला चल्यो । यो हल्लाको खेतीचेन्, यिनै बामे–सामे ट्याग लागेकाहरुले चलाएको हो भन्ने भो । त्यो आईमाई को रे ? भन्दा त पम्फादेवी रे ।

त्यसको सम्पत्ति जफत गरेर यी सारा नेपाली गरीव दुःखी जनतालाई बाँड्ने रे भन्ने सपनाहरू बाँड्न थालेथे । अरे त्यस्तो बाँड्न मिल्छ भने त्यो आईमाईको त्यत्रो धन सम्पत्ति पोईसाहरु किन जफत र नखोस्ने त ? भन्नेतिर पो मेरो पनि खप्परमा अनाहकमा बामे सूत्र प्रयोगका लागि कस्सिन्दै जान लाग्दैथ्यो । अब भने यो ठुल्दाई, बामे र पम्फादेवीले मेरो खप्परमा ९० प्रतिशत डिग्रीको सोला हान्दैथ्यो । उसै नि तन्द्राहरु भंग गर्दै लैजादैंथ्यो ।

उस् समय (४४–४५ सालतिर) तिहारको चाडपर्वहरुमा गाउँघरतिर यसो मेन्जो सांस्कृतिक÷सांगीतिक कार्यक्रमहरु गरी टोपल्थ्यौं । प्राय स्कूलले राजा वीरेन्द्रको जन्मोत्सव कार्यक्रमहरुमा, गाउँ पञ्चायतको मुख्य कार्यालयमा (पथरी बजार) स्कूलको विशेष प्रतिनिधित्व गराउँदै, राष्ट्रिय गीतहरुमा नचाउँनचेन् प्राय मलाई नै लैजान्थे । उसताक राष्ट्रवादी भनौं की ? राजावादी गीतहरु भनौ ं? ती गीतहरुमा उधुम्मै नाचेर हिंडेथें, बरै..! हाम्रा राजा वीरेन्द्र बाँचुन वर्ष हजार, नेपालीको यहीँ छ पुकार । तराई हेर कति राम्रो हरियो वन हुनाले‘ ! हट्ने होईन, ड्टी लड्ने नेपालीको बानी हुन्छ,…..! जहाँ सिंगो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ..! भन्ने राष्ट्रिय ट्याग लागेका गीतहरुमा बेश्कनै नाची दिँदै स्कूलको प्रतिनिधित्व गर्नु पथ्र्यो । रसरंगमा बढि चासो र लगाव बढेसी, प्राय सम्पन्न हुने कुनैपनि सांस्कृतिक कार्यक्रमहरु उति छुट्टाईएनन् होला सायद ।

त्यहीँ समयको चक्रभित्र त्यो ठुल्दाई, बामे र पम्फादेवी भन्नेहरुको नामहरु झन्–झन् चर्चाको विषयमा आकासिन्दोथ्यो । हामेरुँ २, ४ जना साथीहरु खुबै मिल्ने थियौं । प्राय रातीराती सु–सम्पन्न हुने सांस्कृतिक कार्यक्रमहरु हेर्न जान छुटाउँदैनौंथ्यौं । हामेरुँको घर मास्तिर डाँडागाउँ भन्ने राई दाजुभाई समुदाय अलिक बाक्लो सघन बस्तीहरुथ्यो । त्यहीँ गाउँमा भुवन राई र प्रकाश राई भन्ने दुई दाजुभाई थिए । जो गिटार बजाएर सुन्दर मिठो स्वरमा बेजोड गीतहरु गाउँथे । साँझ रातीराती गीत गाउँने सांस्कृतिक कार्यक्रमहरु गर्ने गर्थे । हामेरुँ नि निर्धक्क सुन्न र सहभागी हुन जाने गथ्र्यौं । त्यो बेला चलेछ बतास सुस्तरी मनै सरर…हो, भरोषा छैन् जीवनको विताऊ हाँसेर..! अनि (सितल पर्यो छाँया)–२, गरीबले गरीबको गर्नुपर्छ मायाँ, यो कुरोलाई राख मनैमा..!

अनि त्यस्तै फेरि कान थापेर सुनिदेऊ दाजु रीतिथिति बिग्रेर गइसक्यो..! भन्ने गीतहरु बेजोड गाउँथे । जुन गीतहरु सुनेर सार्है आनन्द लिन्थ्यौं हाउ । आखिरीमा तीनै गीतहरुले यति मन छोएथ्यो की, त्यसपछी त हामेरुँ आफैले गुनगुनाउँन थाली सकेथ्यौं मात्रै के, झन् खुबै गाउँदै हिड्न पो थालेथ्यौं । अन्तः प्रस्तुत माथिको गीतहरु त जसलाई वास्तवमा जनवादी भन्ने गीतहरु पो भन्दा रछन् । त्यो गीतहरु गाउँदै हिड्न थालेसी पो बामेहरु भयौ की, के हो ? भन्न थालेथे । यी बामेहरुको हँदै खेदो खन्न थालेसीचेन्, यो बामे भनेको के हो ? अनि ठुल्दाई र पम्फादेवी भनेको को हो के ? यसको बारेमा सार्है उत्सुक र कौतुहलता बढेसी/बनेपछि मात्रै यसको आन्तरिक रहस्योदघाट्न थाहा पाएँथे । १० कक्षामा पढ्ने ठूला साथीहरुले खुसुक्कै सुनाएथे ।

जसको यथार्थ कुरोहरु बुझ्दा, तीनदाङ छक्क परेंथे । आ¥रे..! ठुल्दाई भनेका त त्यो बेलाका तत्कालीन स्व. राजा वीरेन्द्रलाई पो भनेका रछन् हाउ । आफू भने उनै राजाको जय–जयगानहरु गाउँदै पो हिडिंराथें के । अनि बामेचेन् किन हेरी नसकेको हो ? भन्नेथ्यो । यसो बुझ्दा बामेहरु भनेको त यिनै कथित कम्युनिष्टेहरुलाई पो भन्दो रहेछन् । खोई उसबेला यो कांग्रेसलाईचेन् के भन्थ्यो ? पत्तो नै भएन । प्रजातन्त्र प्राप्ति र मुक्तिको लागि विगुल फुक्ने अभियेन्ताहरु सप्पोईलाई बामे नै भन्थे होलान् भन्ने लाग्थ्यो । अनि रह्यो अर्को रहस्यमयी विषायन्तर त्यो थ्यो पम्फादेवी को थिइन् भन्ने ? अन्ततः उनी पनि ठुल्दाई कै बडामहारानी ऐश्वर्य हुन् भने । यी तिनै अलाङकारिक उपनामहरुको रहस्योदघाट्न भएसी, आफू त झनै ठुल्दाई विरोधी कित्तामा उभिन थालें । बामेहरु को को हुन् ? पत्तो नै पाइएन ।

तथापी, अलिक बाङगो–टेडो कुरो गर्यो कि, त्यसलाई बामेको ट्याग भिराई हाल्थे । उसवेलाको बामे नामक मान्छेहरु अजिवको थिए क्यार । मेरो मगजमा अझै ताजैछ की, स्थानीय तहको दुई वटा निर्वाचन (२०३८–२०४३) र ठूलो राष्ट्रिय पञ्चायत सदस्यहरुकोचेन् एकपल्ट आम–निर्वाचन (२०४३) भएको थाहा छ । यो निर्वाचनमा त्यो बेला जनपक्षीय उम्मेद्वार फल्ना–फल्ना भन्ने पर्चा, पम्पिलेटहरु खुबै प्रचार–प्रसारमा भेटिन्थ्यो । हामेरुँ उहीँ जन–सांस्कृतिक कार्यक्रममा सुटुक्कै त्यहीँ डाँडागाउँ जान्थ्यौ । हो त्यो कार्यक्रममा भोटचेन्, जनपक्षीय उम्मेद्वारहरु बम बहादुर खड्काको वलि रहेको दियो र उमेशजंग थापाको हलो चिन्हमा दिऔं, भन्दैं माग्दथे । मोरङ जिल्लाबाट २ जना पञ्चायत सदस्यहरु निर्वाचित भएर जानु पथ्र्यो । त्यसमा उमेशजंग थापाले भने प्रत्येक चुनाव जिती रहन्थ्यो । भने अर्को मधेसी समुदायका बद्रीप्रसाद मण्डलले उछिन्थे ।

परन्तुः पूर्व–प्रधानमन्त्री स्व. मातृकाप्रसाद कोइराला हामेरुँकै स्कूलमा नि भोट माग्न आएथे । पहिलोपटक उनलाई त्यहीँ देखेथें । अर्का पूर्व–प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल पनि चुनाव लडेथे । विचराहरु दुबैले हार बेहोरेथे । उसताक बमबहादुर खड्का भने बहुत चर्चामा थिए, उनी खुँकार बामे हुन् भन्थे । पञ्चायती मण्डलेहरु उनको नाम सुन्ने वित्तिक्कै न डराएका हुन्, न ईरिटेड÷घृणा मानेका हुन्, ठम्याउँनै गार्हो हुन्थ्यो । एउटा आँखा फुटेका यिनै बाम नेता, विराटनगर जेलमा अनसनरत वसेका छन् भन्थे । ३१ दिन पानी शुद्व नपिईकन अनसन बसेर जेलमै देहत्याग गरेको नि सुनिएको हो । यो सप्पोईको उनै ठुल्दाईको अन्याय, अत्याचारले गर्दा भएको हो भन्थे । सुन्दा आफुलाई नि पारो तातेर आउँथ्यो के । यो ठुल्दाई र पम्फादेवीको नामहरु सुन्ने वित्तिकै एकखालको भित्रैबाट रिसको कम्पन उठथ्यो । र दाह्रा टोकथें ।

वास्तवमा यसो हुनुको अर्थ म त थाहै नपाईकनै बामे रोग लागिसकेको थिएछ, पत्तोसम्म भएन । क्रान्तिकारी रहर र जोश अनि भावनाले मात्र कहाँ होइने रछ र ? क्रान्ति त वास्तवमै मान्छेको अन्तष्करणमा थाहै नदिई कतिखेर रक्तविजको रूपमा अंकुरण भइसकेको पो हुने रैछ । जो आफूलाई त्यस्तो विद्रोहको चेत खुलेपछि मात्रै पो थाहा पाइयो त हाउ, गाँठे..! उसै ठुल्दाईको तानाशाही मण्डले शासन (२६ चैत २०४६) ढल्या होइन नि ।

स्मरण रहोस् की, मेरो बौउले त्यो स्कूल पढाउने समय किन बढि कियर गरे होलान् भनेको त, त्यो बेला स्कूलले बढी त बामेहरुको प्रोडक्ट÷उत्पादन गर्थेछ । कतै छोरो पनि बामे बन्ला र उनेरुँको संगत गर्ला भन्ने पिरोलो थिएछ । आफ्नो बौउ उसै नि ठुल्दाईको मण्डले शासनका प्रतिनिधि पात्र थिए । त्यहीँ मानेमा पो ठुल्दाईको कुरो निस्क्यो की, बम्किन्थे र भन्थे तँ नि बामे हुँदैंछ्स् की के हो ? मेरो बौउ मोरङ पथरीमा झोडा फँडानी खुलेपछिको इलामको तत्कालीन बाँझो–९, पेल्टीमारी (हालःचुलाचुली गापा.–४) बाट बसाईँसराई पछि स्थानीय चुनाव लडेथे । पहिलो पटक गासस.(गाउँ समिति सदस्य) चुनाव (२०३८) अत्यधिक बहुमतले जित्नु भएथ्यो । त्यस्तै दोस्रो कार्यकालको चुनाव (२०४३) आइपुग्दा उप–प्रधानपञ्च त झनै लोकप्रिय बहुमतका साथ चुनाव जित्नु भाथ्यो । हो त्यहीँ बेला बौउचेन् म पढ्दै गरेको स्कूलको सञ्चालक ब्यवस्थापन समितिको अध्यक्ष थिएछन् ।

त्यहीँ मानेमा पछि बुझ्दा त, त्यो स्कूलमा खैरे पुलिसहरु आउँदा, बौउले कोही कसै बामेसामेहरु नभएको प्रतिवाद गर्दै जिम्मा लिएका रहेछन् । उस बेलाका प्रतिनिधिहरु धेरै शक्तिशाली थिए । पञ्चे प्रतिनिधिहरु बोलेपछि प्राय सप्पोईनै तैंचुप–मैंचुप हुन्थे । तिनै खैरे पुलिसहरु पनि चुप लाग्थे । त्यसो त स्थानीय सरकारको पञ्चेहरुसँग सिडिओहरुनैं चुपचाप हुनु पथ्र्यो । उल्टै सिडिओले नमस्ते विन्ति टक्र्याउँनु पथ्र्यो । उसो त मेरो बौउ मण्डले शासनका जनप्रतिनिधि पात्र भए नि उसताक कुनै घुष नखाई, नलिइकनै आफ्नो लोकप्रियता कायमै राखिरहेथे । यदि पञ्चायती शासनकालले तत्कालै कोल्टे नफेरेको भए, बौउले अर्को पटकको चुनावमा पनि प्रमुख प्रधानपञ्च जित्दै थिए । दुर्भाग्य दुई बर्षे कार्याकालको अवधि समय रहन्दै शासकीय ब्यबस्था परिवर्तन भएथ्यो, लैलै..!

ठुल्दाईको पतन र महा–ठुल्दाईहरुको उदयकाल

एउटा निरङकुश तानाशाही ठुल्दाईको शासनकाल बलैले ढालेथ्यो । अर्को (२०४६ पछि) उदार प्रजातन्त्रको खास्टो ओढेर आयो । त्यो झन् महा सामन्ति ठुल्दाईको रंगरुपमा देखा पर्यो । मण्डललेहरुले उसताक् घुषसुस लिनुपर्दा नि आँखा छलेर, टेवुलमुनि छुपाएर लेनदेन् गर्ने गर्थे । कसैलाई ज्यानै लिनु परेपनि, पिंठ्यु पछाडि छुरा हान्थे । अहिले महा ठुल्दाई बन्न पुगेका भुईँमान्छेहरु बाफ रे, येनारुँ त झन् छोइ नसक्नु दादागिरीको सामन्ती डनहरु नै हुँदै गए । येनारुँले त हाक्का–हाक्की धुत्ने, थुत्ने र मार्नेमा त, प्रजातन्त्रको मुख्य निर्देशक सिद्धान्तकै रूपमै व्याख्या–विश्लेषण नै गरे जस्तो हविगत देखाई दिए । यो उनेरुँको हकमाचेन् प्रजातन्त्रको प्रमुख सौन्दर्यताचेत हो जस्तो भन्ठाने । मतलव प्रजातन्त्रको नाउँमा फेरि अर्को उदारशैलीको पुँजीवादी सामन्ती शासकहरुको शनैः शनैः उदयकालको प्रारम्भहरु हुँदै गएको देखिएको हो ।

यसले नेपाली कांग्रेसका र कम्युनिष्ट एमालेका भूईँ नेताहरुलाई सरप्राईज÷बम्पर उपहारहरु पाए, भेटे जस्तै भएको हो । गिरिजाप्रसाद कोइराला, शेरवहादुर देउवा, माधवकुमार नेपाल र खड्गप्रसाद ओलीहरु पूरै फँलासको एक्का ट्रावल सिनहरुमा देखिए । भने, प्रजातन्त्र प्राप्ति (२०४६) जन आन्दोलनका कमाण्डर बनेका स्व. गणेशमान सिंह, अन्तरिम प्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराई र कम्युनिष्ट बामघटकका तत्कालीन पार्टी अध्यक्ष स्व. मनमोहन अधिकारीहरु प्रजातन्त्रकै उदार समाजवादकै परिकल्पनामै उपेक्षित बनेर विते । महा ठुल्दाई बन्ने सपनाहरू देख्ने यिनै कोइराला, देउवा, नेपाल र ओलीहरुले लघारे । र, आफ्नै रजगजमा प्रजातन्त्रको हालीमुहाली गर्न पुगेका हुन् ।

त्यो प्रजातन्त्रको साधुत्वको हिस्सा खान नपाएका अर्को हिस्सेदारीहरुले फेरि सप्पोईजनलाई अंश खान दिने भन्ने विद्रोहताको ऐंलानेजंगको उर्दी गरे र भूमिगत रूपमा जंगलतिर पसेथे । जो कम्युनिष्ट माओवादीको नाममा शसस्त्र जनयुद्धको घोषणा (२०५२) गर्दै बन्दुक बोक्नतिर लागेथे । यिनै माओवादीले शसस्त्र द्वन्द्वकालमा देशमा अनेकन संकटहरुको बाधा अड्चनहरु आएथे । राजदरबार हत्याकाण्ड (१९ जेठ २०५८) त्यहीँताका घटेथ्यो । जुन समय राजा वीरेन्द्रको बंश नाश नै हुनेगरीको हत्या गरिए । जुन त्यो बर्बर हत्याकाण्ड, राणाकालीन जंगे (जवरा जंगबहादुर राणा) ले गरेको कोतको काण्ड (वि.स. १९०३) भएपछिको सप्पोई भन्दा भयानक डरलाग्दो र दर्दनाक दरबारिया हत्याकाण्डथ्यो यो ।

जो दरवारको शक्तिमा दुर्भाग्य अन्यासै ब्रेकअप लागेसी, दाजैको मृत्युवरणपछि सरप्राईजमा श्रीपेज ओढ्न पुगेका राजा ज्ञानेन्द्रलाई उसको बौउ महेन्द्रको प्रेतात्मा भूत चढेकोथ्यो क्यार । दरबार हत्याकाण्डपछि एउटा ठूलै बाजी जिते जस्तो हर्षोल्लास मनाएको माओवादीप्रति राजा ज्ञानेन्द्रको खप्परमा गरम चढेथ्यो । मतलब उनेरुँप्रति बदलावको प्रतिशोध साँध्ने ईरादामा लक्षित थिए । तर त्यो शक्ति संचय राजामा भएपनि शक्ति चलायमान गर्ने साँचो भने दलीय नेतृत्व गर्ने संसदीय शासकहरुलाई मात्र थियो । राजा त प्रजातन्त्रको अलङकारिक सौन्दर्यताको अभिभावकत्वमा मात्र दरिएका थिए ।

के गर्ने राजा त ताला न थिए, भने त्यसलाई खोल्ने साचोचेन् संसद थियो । तर जसै राजा ज्ञानेन्द्र आफैं जोरी खोज्दै बौउ (महेन्द्र) कै बाटोमा (१९ माघ २०६१) निस्केथे । जसरी यिनको बौउले तत्कालीन पहिलो जन–निर्वाचित कांग्रेसका प्रधानमन्त्री तथा दुई तिहाई सरकारको नेतृत्व गरिरहेका विपी. कोईरालालाई शाहीसेनाहरुद्वारा उसताक एउटा अपराधि भएझैं हत्कडीका साथ सार्वजनिकस्थलबाट गिराफ्त्तार (१ पुष २०१७) गरिएको थियो । अन्ततः यिनका कु–पुत्र माईलो छोरोले पनि श्रीपेजको ताज पहिरिए पछिचेन् त्यहीँ बौउकै तानाशाही निरङ्कुशताको ब्योहोरा देखाएथे । उनको बौउले जसोतसो पञ्चायती काल ब्यबस्थालाई तीन दशकसम्म (३० बर्ष) धान्न सके । उनले (महेन्द्र २० २८ मृत्यु) त्यस्तै ११ बर्ष धाने, भने उत्तरधिकारी जेठो छोरो राजा वीरेन्द्रलेचेन् झण्डैं १८ बर्ष धान्न सकेछन् । अन्तः माईलो कु–पुत्रले त १५ महिना पनि टिकाउँन सकेनन्, कठै..!

दुर्भाग्य, बौउ महेन्द्र बन्ने रहर पाल्दा र आफ्नो हविगत भन्दा बढी शासकीय शक्तिको मृगतृष्णाहरुको भोक पाल्दा÷राख्दा, उनको राजकीय पदभार मात्र गुमेन, जो सदा–सदाको लागि देशको ऐतिहासिकतासँग जोडिएको राजसंस्थाको चोलानै उठाई दिए, बरा..! माओवादीको शसस्त्र द्वन्द्वलाई तह लगाउँने, मारेरै सिध्याउँछु भन्ने अमेरिकी रवाफको आडम्बर जस्तो नियत राख्ने हुँदां अन्ततः उनी आफै नै अग्निकुण्डमा परेर खरानी हुन पुगे । यी सप्पोई अवयवको उतार–चढावहरु उनै माओवादीहरुको शसस्त्रपूर्ण द्वन्द्वको भेलहरुले ल्याएकोथ्यो । जसले प्रजातन्त्रको हिमायतीहरु हौंउ भन्ने कांग्रेस र एमाले जस्ता महा–ठुल्दाईहरु बनेका सामन्ती शासकहरुलाई साईजमा ल्याएका थिए । प्रजातन्त्रको विकल्पमा फेरि लोकतन्त्रको १९ दिने जन–आन्दोलन (२०६२÷६३) मच्चिएथ्यो । हो यहीँ लोकतन्त्रले राजा ज्ञानेन्द्र र राजसंस्थाको चोला पनि उठाई दियो । र लोकतान्त्रिक गणतन्त्रसँगै अन्त्यमा, संघीयता (२०६४) पनि जोडिएर आएको हो ।

फेरि अर्का महान ठुल्दाईको उदय र संकटकाल

संघीय लोकतान्त्रिक गणतन्त्र शासकीय ब्यबस्थाको उदयपछि माओवादी पुष्पकमल दाहाल उर्फ प्रचण्डको सत्ताभोग चास्ने पालो आएथ्यो । उनको पार्टीले नयाँ संविधान सभाको आम– निर्वाचन (२८ बैसाक २०६४) अन्तर्गत लार्जेष्ट् पार्टीको रूपमा बहुमत बटुलेपछि प्रचण्ड लोकतान्त्रिक गणतन्त्रको पहिलो जन–निर्वाचित प्रधानमन्त्री बन्न पुगेका हुन् । उनी उसबेला कांग्रेस, एमालेको ठुल्दाई शासकीय रवाफको प्रवृत्तिलाई रोक्न र आम– सिमान्तकृत आदिवासी जनजाति लगायत मधेसी, दलित वर्ग र अन्य शोषित पीडित जनवर्गिय समुदायको अग्रधिकारको निमित्त मुद्दाहरु लिएर जनयुद्वको नेतृत्व गरेका थिए । सत्ता भोग्न पुगेपछि उनै नव उदारवादी जनवादको प्रिय नेता बन्न पुगेका उनै प्रचण्ड झन् महान ठुल्दाईको नवउदार सामन्ती शासकको रूपमा पो उदाउँन आईपुगे हाउ गाँठे..! जसलाई सत्ता भोग्नु अघि नेपालीजनले नेपाली राजनीतिमा अन्तिम दलीय विकल्प पार्टीको रूपमा स्वीकारेका थिए । र उस्तै अगाध श्रद्वाभावहरुले पुजेथे । यिनीहरु त झन् सत्ताभोग्न र देश लुट्न नपाएको रक्तपिपासु अघोरीहरु जस्तै रंगरुपमा पो दरिन पुगे । न सिमान्तकृत जाति, वर्ग र समुदायलाई राजनीति अग्राधिकार र मुक्तिको प्रत्याभुति दिन सके । न त आम–आदिवासी जनजातिलाई पहिचानको आधारहरुमा संघीयताको नामाकरणहरुनै विस्तारहरु गर्न सके । न की, समाजवादको अंशवाट नयाँ जनवादी स्वायत्त सरकारहरु नै स्थापित गर्न सक्यो ? न त देशको कानुन पालना गर्ने पद्वतीको विकास र निर्माण गर्नेतर्फ नै सक्यो ?

अतः भन्नैपर्दा यी माओवादी शासकहरु जनवादी संरचनातिरचेन् होईन, बरु आफन्त परिवारवादतिर पो सत्तापलट् बेश्कनै गर्न पुगे के । अन्ततः सत्ताभोग्ने यी तीन ठूला(कांग्रेस, एमाले र माओवादी) दलीय पार्टीहरु यी सप्पोईनै आखिरमा एउटै ड्याङका मुलाहरु बन्न पुगे । तैंपनि काले, मैंपनि काले । उहीँ काले–कालेहरु मिलेर, खाँऊ भाले भने जस्तो नै त्यहीँ मिल्न गयो । जसै उनेरुँको गायत्री मन्त्रको सूत्रधारको राजनीति प्रयोगमा बाहुनवाद जिन्दावाद नै राख्नुपर्ने रछ । जुन त्यो सूत्रको प्रयोगबारे यी बाहुनवादी दलीय पार्टीहरुको झोले बन्न पुगेका आदिवासी जनजाति नेताहरुले, काफी बुझ्दा–बुझ्दै पनि कति लाचारी र स्वभिमान गिराएर राजनीति गरेका हुन् नि ? उसो त अहिले धेरै आदिवासी जनजाति समुदाय लगायत, विविध उत्पीडित बर्ग जातिहरु आफ्नो जातीय अस्तित्व र राजनीति चेतनाको कठ्घरामा उभिन सक्ने भइसकेका छन् । त्यसको केही फिलिङगोहरु दलीय पार्टीहरुमा यत्रतत्र फैंलन्दै गएको देखिन्छ नै । जुन त्यो कुनैदिन उनेरुँको हकमा भने महंगो पर्न जानेछ । यति हेक्का राख्नैपर्छ । बस्तुत तः फेरि स्मरणमा आलै सम्झौं की, राजसंस्था सहितको प्रजातन्त्रमा यिनै कांग्रेस र एमाले घाँडो बन्न पुगेथ्यो । जसको विकल्प राजा र राजसंस्थाहिन लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएको हो । परन्तुः जसले गणतन्त्र ल्याउँन १७ हजार बढी निहत्था नागरिकजनको हत्या गरेर भित्र्याएको हो । आज उनैप्रति नेपाली नागरिकजनले पनि वहीँ कांग्रेस, एमाले जस्तै घाँडोकै रूपमा गलहत्याउँन बलप्रयोग गरिरहेछन्, बरा..!

काशः आज यहीँ तीनदले शासकहरुको भ्रष्टवादी स्वेच्छाचारी ईत्छादिनको कारण, देश अन्तिम संकटमा लम्पसार हुन पुगेको हो । संघीय लोकतान्त्रिक गणतन्त्र शासकीय ब्यबस्थाको यिनै दलीय शासकेहरुले लज्जाको ध्वज्जी उडाई दिए । गणतन्त्रमा जे पनि गर्ने छुट् हुन्छ भन्ने भाष्यहरु निर्माण गराईए । त्यस्ता नयाँ ठुल्दाईहरु त, महा–ठुल्दाईको रूपमा कति जन्मिए कति । सिद्धान्त तः कानुनी राज, राजा राणाहरुकै ब्यबस्थामा थियो भन्ने नै टीका–टिप्पणीहरुले स्थानहरु पाउँदै गएको सुनिन्छन्दे/खिन्छन् । वास्तवमा गणतन्त्र अहिले उनै हिजोका रक्त पिपासु बनेका राजावादीहरुले घेराबन्दी गर्न खोज्दैछन् । उनेरुँको हकमा फेरि कतै हिजोको जस्तै देश लुट्न र चुस्न पाईएला की भन्ने आश र लोभमा मुर्दाघाटबाट उठेर यसो सल्बलाई रहेको देखिन्छन् । उसो त देश राजनीति र आर्थिक रूपमा तन्नाम र डामाडोल भने बन्न पुगेको छ ।

आर्थिक संकटले देश जर्जर अवस्थामा कोमामै जानसक्ने नाजुक स्थितिचेन् बन्दै गएकोछ । यहीँ कमजोर अवस्थाको फाईदा उठाउँन त, यी प्रतिगमनकारी अघोरीहरुले चौरर्फी घेराबन्दी गरेर आक्रमणको प्रयास गर्दैछन् । आज यी तीनै दले शासके नेताहरु (प्रचण्ड, सेरे र केपी.) आफ्नो समाजवादी दिग्दर्शनको ऐनाघरको दरवारमा निर्धक्कले निदाउँन सकिरा छैनन् । अब निदाउँन् पनि कसरी ? सत्तामोहको लोभमा देश लुट्ने कु–कर्महरु गर्ने जस्तो हर्कत देखाएपछि अनि आफै देश लुट्ने रक्त पिपासु अघोरी बनेसी गणतन्त्रको जगको पिल्लरहरु नहल्लाए, तेमेरुँको बौउको केचेन् हल्लिने भो के ? तेमेरुँको दले कार्यकर्ताहरु हेर्यो, उस्तै धमिराहरु जस्ता लाग्छन्/ देखिन्छन् ।

अन्तः अघोरीहरु र धमिराहरुको साँठगाँठ मिलेपछि, लोकतान्त्रिक गणतन्त्रको जग बलियो की ? कमजोर हुने हो ? त्यसै पनि अधर्मी पापीको कर्म गरेपछि, तेमेरुँको आत्मा–मनहरुले के त्यतिकै उन्मुक्तिको शान्ति पाउँछ र ? उसै त प्रतिगमनकारी मृत–प्रेत्मात्माहरुले तेमेरुँको निंद हराम त्यसै गरेको होईनन् नि ? फेरि त्यसै तेमेरुँ तर्सिएका र डराएका पनि होईनौ नि ? खैरः आफू झन् बढे महान ढुल्दाई बन्ने होडबाजीमा सत्ताको शासक मात्र बन्नपुग्दा कमरेड प्रचण्ड पनि उहीँ कमाउँरेड खाओवादी बन्न पुगेका हुन् । अन्ततः यिनको हविगत पनि वहीँ पूर्व राजा ज्ञानेन्द्र कै चोला उन्मुख हुने लक्षित देखिन्छन् । माओवादी ट्याग लागेका कार्यकर्ता र तिनका जनता जनार्दनले बिस्तारै यिनलाई वाईपाश अर्थात ईग्नोर गर्दै जानेक्रम ज्यादै बढ्दो देखिन्दोछ । प्रचण्डको हकमा अझै कुछ बढे ठुल्दाई बन्ने, झनै रहर बढ्दो छ की ?

सोघा बनेका प्रेतात्माहरुको हाउगुजीः

हिजो पञ्चायती कालरात्रीमा प्रजातन्त्रवादीहरुलाई पञ्चायती शासन विरुद्ध उभिन्दा र बोल्दा,बामे डाकाहरुको झुण्ड हुन् भन्ने गर्थे । १०४ बर्षे जहाँनिया राणा शासनको अन्त्य गर्न र पुनःराजालाई सिंहसानमा राख्नलाई, उसबेला कथित नामधारीको प्रजातन्त्र(७–फागुन–२०० ७)भित्र्याईएको यसो हल्लासिक् चलाईयो । त्यो राणाकालीन सत्तच्युत गर्न र तत्कालीन राजा त्रिभुवनलाई शक्तिशाली राजाको रूपमा बागडोर थमाउँनलाई मात्र प्रजातन्त्र भन्ने नामको विशेषः संज्ञादिने कर्मकाण्ड पूरा न गरेका हुन्थि/ए । त्यहीँ प्रजातन्त्रको आड्मा उतिबेलाको आम–निर्वाचनमा(२०१५)काँग्रेसले दुइतिहाई बहुमत ल्याउँदा, तत्कालीन प्रधानमन्त्री विपी.कोईरालालाई, राजा महेन्द्रले अपध्वस्त गरे, र प्रजातन्त्र(२०१७)कु–गरेको हो । त्यसपछी यतादेखि न प्रजातन्त्रवादी र राजावादीहरुवीचको शासकीय सत्ताको लडाईँको शुभाराम्भ भएको हो । यसको वीजारोपण गर्ने प्रमुख नै यिनै राजा महेन्द्र थिए/हुन् । भनेसी अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र सम्मको यात्राहरुमा आईपुग्दा, यी यस्ता राजा ल्याउँनुपर्छ, संघीयता, गणतन्त्र मास्नु पर्छ र २०४७ कै मुल–संविधानमै फर्कनुपर्छ भन्ने राजावादीहरु, उहीँ महेन्द्रकै भड्केका दुःखी आत्माहरुको सोघा बनेका प्रेतात्माहरु न हुन् ।

हामेरुँको मुन्धुमी सौन्दर्यताचेतमा सोघालाई अपरिकल्पित, अकथनीय, असोंचनीय रूपले कुनैपनि दुर्घटनाहरुबश आफ्नो मान्छेहरुको ज्यान केही तलमाथी भए, वा भन्नुको मतलव मृत्युवरण नै भएको खण्डमा, त्यो उसको मृत्युचेन् सोघा बाटोमा÷लाईनमा गयो है भन्ने जनश्रूति प्रचलन छ । सिधै अर्थभावमा भन्नुपर्दा नराम्रो बाटोमा गयो, भन्ने नै हो । अब उसको दुःखीआत्मा भड्किन्छ, र आफन्तजनलाई दुःख दिन्छ, पिरोल्छ भन्नेमा घर परिवारको प्राय आफ्न्तजनहरु दुःखमन गर्छन् । अन्तः साँझ राती ओछ्याँनमा होस् या करेसाबारीहरुमा होस्, या बाटोघाटोहरुमा होस्, उसको मरेको आत्माचेन् भुत–प्रेतको रूपमा ऊ(मृतक मान्छे) स्वयं आफै आउँछ, र जान्छ भनेर आफन्तजनहरु डराउँने र तर्सने गर्छन् ।

मिथकमा भुतप्रेतको विषायन्तर कुराहरु सुन्दै कति डराउँछन् । अतःसोघालाई मुन्धुमी दर्शनमा उसको भड्केको दुःखी आत्मालाई फकाई फुल्याई उसकै बाटोमा पन्छाई पठाउँने विधिकर्महरु नि छन् । जुन येवा, साम्बाहरुले र सेवासाबाहरुले फलाकेर, पुकारेर गर्ने गर्छन् । जो यति कर्मकाण्ड विधिहरु गर्दापनि उसको आत्मा(उसको मरेकै बाटो)जान मानेन भने, यी येवा, साम्बाहरुले र सेवासाबाहरुले कठोर विधी कर्महरु द्वारापनि जब्बर्जस्त बाटो लगाउँने गरिन्छन् भनिन्छ । जो त्यो बाटो नगए, नसमाते रत्ति धर हुन्न,पाईन्न भन्ने मुन्धुमी लोकश्रूति र येवा,साम्बा र सेवासाबा हरुको कथन रहि आएकोछ ।

हो यथार्थमा कहनुपर्दा, यी राजावादीहरु भनेका ठ्याक्कै सोघा बनेकाहरु हुन् । यिनलाई मुन्धुमी विधिकर्ममा येवा, साम्बा र सेवासाबाहरुले जे जसरी मनाउँने प्रयत्न गरिन्छन् हो त्यैसै गरेजस्तो यो गणतन्त्रवादी नेपाल सरकारले पनि उसैगरी फकाई फुल्याईगरी आफ्नै बाटोमा फर्क, नभए आफ्नो सोघा आत्माहरु यो ज्युँदोलोकमा आउने, ल्याउँने भए, एक्सचेञ्ज÷मतलव बदलेर आऊ भनेरै फकाउने उर्दी जारी गर्ने नै हो । नभए उर्दी जारी नमाने,नटेरे त वहीँ साम,भेद, दण्ड र मृत्यु सरकारले अन्तिम अस्त्रको रूपमा प्रयोग गर्नै पर्यो । नत्र अनाहकमा लोकतन्त्रको बर्खिलाफमा कोही कसैलाई प्रेतात्मा बनेर किचकन्या (चुँडेल)को स्वरुपमा तर्साउँदै, विथोल्दै र आँतकहरु मच्चाउँदै नरपिंसाचको कर्महरु नगरै राम्रो हो ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । यो भन्दा सुन्दर अर्को विकल्प संसारमा कुनै शासकीय ब्यावस्थाहरु छैनन् । तेमेरुँ राजा पक्षधरलाई राजाको निरङ्कुश ठोकतन्त्र चाहिएको हो । राजाको शासनकालमा ठोकतन्त्रको भोकखाने प्रजातन्त्रप्रेमी अगुवा राजनीतिकर्मी अभियेन्ताहरुलाई पो त्यो तकलिफको दुःखान्तभार थाहा छ त । तेमेरुँ जस्तो सोघाको आत्मा बोक्नेहरुलाई के थाहा ? लोकतन्त्रले तेमेरुँको न डढेंल्ना मस्काएको छ, न त बन्दुकको कुञ्जाले तेमेरुँको साप्रा उप्काई दिएको छ । नदुख्ने, नबोल्ने भएपछी न तेमेरुँ राजा–राजा चाहियो भन्दै विनावित्थामा कुर्लन्दैछौ । तेमेरुँको डढेंल्नामा कोर्ला बर्सेको र साप्रा उप्केको दिनमा मात्र सम्झनेछौ कि, ठोकतन्त्र कस्तो हुन्छ भन्ने । यतिको कमेन्ट राजाकोमात्र गर्ने आँट गर त?जसको केही क्षणमै तेमेरुँको त्यहीँ राजाले बौउको बिहे देखाई दिन्छन्, बुझ्यौ ?

फिरःयी राजावादीहरु भनेका हिजोका उनै तानाशाही निरङकुश शासकहरुको रहलपहल रहेका तिनै अंशका केही थोपाहरु न हुन् । तेलको भाँडो रित्तिएपछी, जसरी केही थोपाको बुँदहरु रहन्छन् नै । हो यो त्यहीँ शासकहरुको आखिरी जीनको तत्त्वहरु हुन् । जसको वीर्यदान÷शुक्रकिटहरुबाट जन्मेका नरपिंसाच मुर्कुट्टाहरु हुन्, यी कमल थापा, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही लगायत पछिल्लो दुर्गा प्रसाईहरु के । सोघा बनेको आत्माहरुले के नै गर्न सक्छ र ? रातभर जाग्ने, अनि उज्यालो भएपछी दिनभर अस्तित्व लोप हुने । आखिर सोघाहरुको दिनचर्याहरु वित्ने यसरी नै त हो । राती– राती आफ्नो भेष÷स्वरुप बदल्दै चाहार्ने न हो । कहिले मुर्कुटा बन्ने, कहिले किचकन्या हुने, कहिले राँकेभुत बन्ने त कहिले बनझाँक्री न बनि टोपल्ने हो । येनारुँको काम भनेको मात्र तर्साउँने, डर देखाउँने र सक्दा सातो लिने, अनि विरामीसम्म पार्ने न हो । आखिर यिनले न चिथोर्न, न टोक्न, न त मार्न नै सक्छन् के । यति कुरो थाहा हुनेहरुलाई यो प्रेतात्माहरुदेखि न डराउँछन्, न त तर्सन्छन् नै । डराउँनेहरु त, कमजोर आत्मा हुनेहरु र अन्धविश्वासमा जीवन देख्नेहरु मात्र न हुन्÷हो । बाँकी त यी यस्ता बकम्फुसे विषायन्तरमा कुराहरुको वास्ता नि गर्दैनन् ।

भनिन्छ, संसारमा जतिपनि माक्स ईजम दर्शनलाई फलो गर्ने कम्युनिष्टहरु, अति भौतिकवादीहरु हुन् रे भन्ने सुन्थें । तर अफसोंच यो दुर्गा प्रसाईको प्रेतात्माहरु देखि, यी कम्युनिष्टहरु किन डराएका हुन् नि ? यथार्थ ठोष बस्तुको अस्तित्वलाई स्वीकार्न सक्ने, कथित अस्तित्व नभएको बस्तुलाई अमान्य मान्ने यो देशको कथित कम्युनिष्टहरुलाई के भन्ने हो नि ? जो नरपिंसाच भुतप्रेतहरुदेखि डराउँन खोज्छन् । यो भन्दा कटु–आलोचना, निन्दा र भत्सर्ना, यी हरामी कम्युनिष्टेहरुलाई कति गर्ने हो के ? लैलै..!

तोःकथित एउटा जाबो मेडिकल अस्पतालको मालिक भएको प्रसाईसंग मार्सीभात मेजमान खाकै भरमा, उसलाई बाघ जस्तो गर्जिने बनाउँनेहरु को हो ? उसको पर्सानालिटीको सेयर बजारमा मूल्य÷भाऊको तोक लगाउँनेहरु को ? अहिले ऊ बाघ जस्तो बनेर गर्जिन्दा तर्से, डराए जस्तो गर्ने ? एउटा जाबो हुईयाँ फ्याउरो बाघको छाला ओढेर गर्जन्दा, गणतन्त्रको शासकहरु डरले लकलक् काँप्ने जस्तो गर्ने हो ? त्यसलाई त्यत्रो भाऊ किम्तिहरु दिएर किन सेयर बजारको नेप्से उकालो काटेको देखाउनु पर्ने हो ? मतलव उसलाई, उसैको घरमा नजरबन्द गर्नुको के तुक छ हौउ ? ए..! प्रचण्ड सरकार ? त्यसो त कुनै समय राजा ज्ञानेन्द्रले पनि, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालालाई पनि घरैमा नजरबन्दी गरेको होईन र ? अनि तानाशाही राजा र लोकतान्त्रिक गणतन्त्रको प्रचण्ड सरकारवीच के फरक रहयो ? र देखियो के ? लोकतन्त्रको सुन्दर पक्ष भनेकै आफ्नो कुराहरु खुलेआम बोल्न राख्नु पाउँने होईन र ? थुईक्क..! गणतन्त्रको हुत्तिहारा नपुंसक लाछीहरु हो । अब यी प्रतिपक्षी केपी.ओली र अहिलेका प्रधानमन्त्री प्रचण्डले त्यसको जवाफ आम–नेपालीजनलाई चित्तबुझ्दो जवाफ दिनुपर्छ की पर्दैन ? कार्पोरेट उद्योगी माफियाहरुसंग शान शौकात, विलासिताको संसारै राज छ भनेर, लोकतान्त्रिक गणतन्त्रको शासक बनेका तेमेरुँले, सत्ताको चावी बुझाएर त्यतै ल्यापासिएर मुन्टिने हो त ?

नालायकहरु हो, ‘यो देश सोघा बनेका राजावादी हरुबाट एकरत्ति खतरा छैन । यदी खतरा र जोखिम नै छ भने, लोकतान्त्रिक गणतन्त्रको हिमायतीहरु हौं भन्ने यिनै शेरे, प्रचण्डे र ओलीहरु देखिचेन् यो देश पुर्ण खतरा र जोखिममा छ ।’ उसै नागरिक समाजका अगुवा तथा मानवअधिकारवादी कृष्ण पहाडीले भनेका होईनन् रछन् । ‘यी तीन जन्तुलाई आम–नेपालीजनले मिल्काई दिने हो भने, लोकतान्त्रिक गणतन्त्रलाई कोही कसैबाट कहिल्यै खतरा हुने छैन ।’ उनै पहाडीज्युको कथन हो यो । यति कुरोको चुरोचेन् अबको आम–नेपाली नागरिकजनले जसै बुझ्नु पर्यो । नत्र सोघाहरुको राजहुने दिनहरु नआउला भन्न कठिन् नहोला । खैरः राजा पक्षधरले हिजो राजाकालहरुमा भए गरेको अन्याय, अत्याचार र बेथितिहरुको निर्मम् तरिकाले आत्मा–समिक्षा गर्न जरुरी छ । लोकतान्त्रिक गणतन्त्रको शासकीय ब्याबस्था आफैमा रत्ति खराव होईन,र छैन पनि । यसलाई खरावचेन् यी दले शासकहरुले गरेको हो । स्वेच्छाचारी तवरले देशलाई मनपरीतन्त्रले शासन गर्न खोजेकै हुन् । कयैंन गल्ती त्रुटिहरु दोहोर्याएका छन् ।

आम–नागरिकजनको सेवक हुनुपर्ने सरकार, अहंकारवादी शासक बन्न पुगेको छ । दम्भित र रवाफिलो हुँकारमा जंगेशैलीमा सरकारको नेतृत्व गरिरहेका छन् । हो यी सप्पोई लोकतान्त्रिक गणतन्त्रको कुरुप सौर्न्दर्यताको आँखीझ्यालको ऐना हो । अतः ऐनामा आफ्नो अनुहार सुन्दर देखिएन, र कुरुप देखियो भने ऐना फुटाउँने की, आफ्नो अनुहार सुन्दर बनाउँने तर्फ कसरत गर्ने हो ? आफू सुन्दर बन्न खोज्दा न ऐनामा सुन्दर देखिने हो । ऐनाको कामले को सुन्दर ? को कुरुप हो ? भन्ने अग्निपरीक्षा दिने काम छुट्ट्याउँदैन । उसको काम जस्तो छ, सेम त्यस्तै ठ्याक्कै देखाउँने मात्र हो बस् । हो शासकीय ब्याबस्था भनेको त्यहीँ ऐंना न हो, शासकहरुले जसरी चलाउँछन्, त्यस्तै न देखाई दिने हो । किन्तुः दोष ऐनाको होईन, असुन्दर र कुरुप देखिनेहरु हुन् । राजा पक्षधरले यति कुरा बुझे काफी नै होला । कुवा गन्हायो भन्दैमा, कुवा भत्काउँने हो की ? सफाचेन् गर्नुपर्ने हो ? पक्कै सफा गर्ने प्रयासचेन् गर्ने नै हो । अब मुलजराको पानी नै गन्हाएको निर्क्यौल भो भनेचेन् अन्ततः कुवा नै भत्काउँने हो । र त्यसको दोश्रो विकल्प निकास खोज्ने हो । लोकतन्त्रमा यो निकास दिने सुन्दर पक्षता छ । तर राजतन्त्रमा यो वैकल्पिक पक्षता रोज्ने अधिकार एकरत्ति हुन्न÷हुदैंन । यतिपनि तपाईं हामेरुँले बुझौं ।

विट्यौंनीमा पुनः भन्नुपर्दा, अहिलेको यी सलबलाई रहेका राजावादीहरु भनेको, टाउको नभएका कथित मिथकमा सुनिएको मुर्कुटा जस्तैहरु हुन् । जो अघी हिडेंको त देखिन्छ नै, तर अफसोंच खासमा उसको खुट्टाको कदम÷पाईलोचेन् उल्टो देखिन्छ रे भनिन्छ् । अन्तः यी उल्टो हिड्ने र मध्ययुगीन ढुँगेयुगको राजाकालीन बर्बरताहरुको रजगज गरेको तिनै सपनाहरू देखाउँने, र सपना देख्नेहरु कठैबराहरुसंग किन डर र त्रास मान्नुपर्ने हो नि ? लैलै..!

न पञ्चायती कालरात्री फर्कने हो, न की राजा र राजतन्त्र नै फर्किने हो । बेसुरा मुर्दावाले मुर्कुट्टाहरुको रोनाधोना सिवाए केही होईन । आखिरमा हुनेपनि त केही होईन । बेकारमा राँकेभुतहरुको जस्तो आँतक मच्चाई टोपल्छन् । संगै हिन्दुराज्य धर्म बनाउँने सपनाहरू बाँड्ने नि,यहीँ लोकतान्त्रिक दले पाटीहरु भित्र काफी छन् । उसो राजालाई काँधमा बोकुंला झैं गर्नेहरु नि छन् । राजा ल्याउँदा, हिन्दुराज्य स्वतः हुन्छ । हिन्दुराज्य ल्याउँदा नि राजा स्वतःहुन्छ भन्नेहरुको दिवा सपना देख्ने विष्टहरु पनि छन् ।

विचरा पुर्व–राजा ज्ञानेन्द्र आफ्नै घरको परिवारलाई सहिसलामत तहमा राख्न नसकी कठिन मोड्मा चिन्ताग्रस्त छन् । यिनबाट कस्तो अपेक्षा राखेको हुन् ? हिजो १५ महिना राजगद्वीमा बसेको देखेकै हुन् क्यारे । उनको हकमा आफू राजा हुँ या नबनुँ, सिर्फ केवल राजसंस्था मात्र फर्किए, आफुमाथी लागेको राजसंस्थाको बध गरेको÷मासेको भन्ने कालो ट्यागको धब्बा मेट्न सकिन्थ्यो की, भन्ने झिनो आशा नि राखेको हुन सक्छन् । त्यो आशा राख्न के अपराध हुने भो र ? जसै राजा बनाउँछौं महाराज सरकार भन्दै, विचरा राजालाई सपनाहरू देखाउँन लगाउँनेहरु, यिनै प्रसाई, राप्रपाका लिङ्देन, शाही र थापाहरु न हुन् । कति त आत्माग्लानीले पिरोल्ला । प्रायश्चित गर्लान् नै । भने त्यसमा आफैले सपनाहरू देख्नु र बुन्नु कुन आश्चर्यता रहयो र?जो राजा ल्याईन्छ भन्नेहरुले झन् कति सपनाहरू देख्दै होलान् के, कठै..!

फिरःविट् मार्दैगर्दा, प्रचण्ड सरकारले के हेक्का राखोस् भने, आखिरमा हिजोको सत्ता निर्माणले न ऊनी पनि ठुल्दाई बनेका हुन् । भन्नेहरुले पनि सत्ताभोगको ठेकेदारहरु भएकै कारणले नै पनि ठुल्दाई भनेर औंल्याएको हो । अनि सत्ताभोग पछीको ठुल्दाई बनेपछि, त्यो ठुल्दाई फेरि–फेरि बन्न कहाँ सकिन्छ र ? त्यो ठुल्दाई फेरि बन्न र कहलिन त्यति सजिलो कहाँ छ र ? अन्तः त्यैसै छोड्न कहाँ सकुँला र ? भन्ने उहीँ महा–ठुल्दाई बन्ने ध्याउन्नमा सत्तामोह चाख्न मात्र खोजी रहे, फेरि मौरीको चोलामा जीवन फर्केला । भनिन्छ, मौरी आफैले निर्माण गरेको महको स्वादमा भुल्दा,त्यहीँ महको रसमा टाँसिएर देहत्याग गर्छ रे।अन्ततः मुल–बाटो विराएको प्रचण्ड सरकारको हविगत पनि, आखिर सत्तामोहकै भोगरसमा मौरीको जस्तै जीवनचक्रमा खाली ठुल्दाई–ठुल्दाई बन्ने महत्वाकांक्षीमै डुब्ने देखिन्दोछ । तोःफेरि–फेरि महा–ठुल्दाई बन्ने रागमा राजा सामन्तहरुकै जुनी साटौला, र नेपाली भुमीमा अन्तिम अन्त्येष्टि हुने जगा नपौला, बुझेस्, प्रचण्ड महा–ठुल्दाई..!
ईतिश्री..!

lojimaphago@gmail.com

(लेखक माङसेबुङ मासिकका स्तम्भकार हुन् /प्रस्तुत लेख माङसेबुङ मासिकको मंसिर अंकमा प्रकाशित लेख हो)

सम्बन्धित खवर