एमाले अध्यक्ष ओलीले पाँचथर पुगेपछि मध्यपहाडी लोकमार्ग पछ्याउने हिम्मत गरेनन् - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एमाले अध्यक्ष ओलीले पाँचथर पुगेपछि मध्यपहाडी लोकमार्ग पछ्याउने हिम्मत गरेनन्

पुस १, पाँचथर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथर पुगेपछि मध्यपहाडि लोकमार्गलाई पछ्याउने हिम्मत गुमाउदै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ पूरा गरेका छन् ।

प्रदेश नं.१ प्रवेश गरेपछि नै निरन्तर पहिचानवादीहरुको अवरोधको सामना गरेका ओलीले पाँचथर पुगेपछि चारपाङ्ग्रे गाडी मार्फत् मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ पुग्ने आँट गुमाएका हुन् ।

आन्दोलनरत पहिचानवादीहरुबाट सशक्त प्रतिरोध हुने थाहा पाएपछि संकल्प यात्राको अन्तिम दिन एमाले अध्यक्ष ओली हेलिकप्टर चार्टर गरेर चिवाभञ्ज्याङ पुगेको पहिचानवादी नेता सागर केरुङले बताए ।

प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मध्यपहाडी लोकमार्गको पाँचथर खण्डमा  ओलीलाई कडा प्रतिरोध गर्ने तयारी गरेपछि हच्किएका ओलीले हेलिकप्टर मार्फत् चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन गरेका छन् ।

केरुङले पाँचथरको याङवरकमा पहिचानवादीले वम राखेको र स्वागत गेंट भत्काइदिएको निराधार हल्ला फैलाएर आन्दोलनलाई बद्नाम बनाउन खोजिएको पनि बताए । आफूहरु शान्तिपूर्ण तर सशक्त आन्दोलनको तयारीमा रहेको केरुङले बताए ।

एमालेको संकल्प यात्रा अन्य प्रदेशमा शान्तिपूर्ण रुपमा अघि बढेको थियो । तर प्रदेश नं.१ प्रवेश गर्नसाथ धनकुटाको लेगुवामा ओलीमाथि आफ्नै कार्यकर्ताले झापड प्रहार गरेका थिए । त्यसपछि क्रमशः तेह्रथुम र पाँचथरमा ओलीले पहिचानवादीहरुको अवरोध झेल्नु परेको थियो ।

अन्ततः मध्यपहाडी लोकमार्ग भएरै संकल्प यात्रा पूरा गर्ने भनेर निस्किएका ओलीले पहिचानवादीकै डरले संकल्प यात्राको अन्तिम दिन आकाशको बाटो रोज्न बाध्य भएको पहिचानवादीहरुले बताएका छन् ।

 

सम्बन्धित खवर