मुक्कुमलुङमा किन केवुलकार ? : ज्ञानु फुरुम्बो चरपे - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुक्कुमलुङमा किन केवुलकार ? : ज्ञानु फुरुम्बो चरपे

  • ज्ञानु फुरुम्बो चरपे

जब वि.स. १८३१ मा गोर्खाका राजा पृथ्वीनायाराण शाहले बनावटी र देखावटी सम्वन्ध राखेर यहाँका सबै भुमिपुत्रहरुको भाषा, लिपि, धर्म, संस्कार, थातथलो नस्ट गर्ने नीति अवलम्बन गरे त्यहीँ समयदेखि हिन्दु अतिवादी नीतिले यो ठाउँमा जरा गाड्यो । त्यसपछि कति ठाउँहरु अप्रभंस भए भने, याक्थुङहरुको शक्तिशाली धार्मिकस्थलहरु नाम परिवर्तन गरी हिन्दु धार्मिकस्थलको रुपमा प्रचार प्रसार गर्न थालियो । यसको शिकार मुक्कुमलुङ पनि अछुतो रहन सकेन ।

रैथाने याक्थुङहरुले मुक्कुमलुङ भन्दै आएको आफ्ना सर्वोच्च शक्तिपीठ एकासी नाम परिवर्तन भएर पाथीभरा हुन पुग्यो । यसरी याक्थुङहरुको शक्तिपिठहरु धेरै ठाउँमा हिन्दुकृत गर्ने प्रयास नगरिएको होइन । मयङलुङ, सुम्जिरी सुमहात्लुङ, कुम्मायक कुस्सायक जस्ता ठाउँमा अतिक्रमण नभएका होइनन् । तर, मुक्कुमलुङलाई चाहिँ विस्थापितनै बनाए ।

अब मुक्कुमलुङलाई संरक्षण गर्ने कि नगर्ने घरमा श्रीमतीसँग, परिवारसँगमा झगडा गर्दै जाँड र रक्सीको गढिमा बसेर संसार जित्ने गफ मात्र दिने होकी आफ्नो चोत्लुङ मुक्कुमलुङको सरक्षणमा पनि लाग्ने हो ? याक्थुङहरुको चोत्लुङ माङगेन्ना शिर ढाल्न याक्थुङ लिम्बु नै प्रयोग गरिन्दै छ । क्या, गजब यो दुनियाँ हाम्रो समाजले कहिले बुझ्ने हो ?

मुक्कुमलुङ संयक्त संघर्ष समितिले सिंगो याक्थुङहरुको माङगेन्ना चोत्लुङ साथै हजारौ भक्तजनहरुको विश्वास र आस्थाको केन्द्र भनेर परिचित मुक्कुमलुङलाई संरक्षण गर्नुपर्छ । यहाँ कुनै पनि मुक्कुमलुङको पबित्र आस्थामा आँच आउने भौतिक संरचना निमार्ण गर्नु हुन्न भनिरहँन्दा केवुलकार निमार्ण कर्ताले त्यसको बिरुद्वमा लिम्बूहरुलाईनै प्रयोग गरेको देखिन्छ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयर अमिर मादेन अहिले न्वारनको बल निकालेर निर्माण पक्षलाई साथ दिइरहेको देखिन्छ । विचारा मेयर सापलाई ठूलै विकास गरेको भाव भएको होला, आफ्नै शिर ढालेर याक्थुङहरुको मुन्धुमी आस्था बिध्वंस बनाएर ।

तर यो सपना नदेखे हुन्छ मुक्कुमलुङलाई संरक्षण गर्न हिजो ताप्लेजुङका याक्थुङहरु मात्र लागेका थिए भने आज विभिन्न जिल्लाका याक्थुङ लगायत सिंगो याक्थुङ लिम्बूहरुको मातृसंस्था किरात याक्थुङ चुम्लुङ र विभिन्न पहिचानवादी संघ, संस्था र पहिचावादी दलहरु मुक्कुमलुङ संरक्षणका लागि तरवार भएर उभिएका छन् ।

मुक्कुमलुङ प्राकृतिक शक्तिपिठ हो । यस्तो ठाउँमा अधिकांश तीर्थयात्री भक्तजनहरु दुइ चार घण्टाको पैदलयात्रा गरेर माङ देवीको दर्शन गर्न मन पराउँछन् । धार्मिक परम्परा अनुसार देवी देवताको दर्शन गर्दा दुःख कष्ट नगरी सिद्वि शक्ति, पुण्य प्राप्ति हुँदैन भन्ने बुझाई छ । त्यहीँ भएर मुक्कुमलुङ (पाथीभरा) देवी दर्शन गर्न आउने भक्तजन दूई चार घण्टा कष्ट गर्न रुचाउँछन् । हिन्दुहरु धार्मिकस्थल केदारनाथ, परसुरा जस्ता स्थलमा आज पनि कष्ट गरेर दर्शन गर्छन ।

के भारत सरकार गरीब भएर त्यो ठाउँमा भौतिक संरचना बनाउन नसकेको हो त ? पक्कै होइनन् । यसका प्राकृतिक अस्तित्व, पवित्रता कायम गरी स्वच्छ राख्नलाई हो । अनि मुक्कुमलुङमा चाहिँ किन केवुलकार चाहिने ? वर्षाैदेखि तीर्थयात्री हिडने सडक निमार्ण भएको छैन् यसमा कसैको ध्यान गएको छैन् । मुक्कुमलुङमा केबुकार हिजोदेखि आजसम्म नहुँदा पनि लाखौ भक्तजनले दर्शन गरेका छन् । हिड्न नसक्नेका लागि सयौं युवा तथा कामदारहरु खटाएका छन् । उनीहरुले बोकेर भए पनि दर्शनार्थिहरुलाई दर्शन गराएका छन् ।

सारा भक्तजन खुशीनै छन् हिजोदेखि आजसम्म । त्यसैले मुक्कुमलुङमा केवुलकारको कुनै औचित्य छ जस्तो लाग्दैन् । किनकी मुक्कुमलुङ आफैमा प्रसिद्व हो मुक्कुमलुङ याक्थुङ लिम्बुहरुको चोत्लुङ हो । आस्था माङगेन्ना हो । त्यसले सहमति सहकार्य साथै एकले अर्काको अस्तित्वलाई स—सम्मान गर्न सकिएन भने कुनै कुराले निकास पाउँदैन । त्यसैले यो विषयमा निर्माण पक्ष र स्थानीय सरकारले आन्दोलकारीहरुको भावना आकांक्षालाई ख्याल गर्न जरुरी छ ।

म त मुक्कुमलुङमा अब उप्रान्त कुनै भौतिक संरचना निमार्ण नहोस भन्न रुचाउँछु । सामान्य सानतिना नभई नहुने बाहेक तर यो भनिरहँदा विकास विरोधी भन्नु होला ठीकै छ केही छैन् । तर केवुलकार बनोस भनेर लाग्नेहरुले स्थानीय प्रभावित क्षेत्रका जनता र सरोकारवालाहरुलाई कसरी बुझाउनु भएको छ । त्यहाँको गुरुयोजना कसरी बुझाँउनु र देखाउँनु भएको छ ? केवुलकार निमार्ण हुँदा के के कुरामा फाइदा हुन्छ ? कुन कुराले असर गर्छ भनेर सर्वसाधारण जनतासम्म कहिले पुग्नु भएको छ ? कुन कुन ठाउँमा गएर सार्वजनिकरण गर्नु भएको छ ? रातारात तस्कर शैलीमा प्रवेश गरेर सोझा सिधा जनतालाई आकाशको फल देखाएर मख पारेर हुन्छ ?

ताप्लेजुङको अस्तित्व बचाएर अटल रहेको मुक्कुमलुङ, याक्थुङ लिम्बुहरुको सर्वशक्तिमान पवित्र धार्मिकस्थल शिर चोत्लुङमा केवुलकार निमार्णले एक नाफा भएता पनि दशौं, विसौं घाटा हुँदै छ । सधै भरि हरयाली देखिने मुक्कुमलुङमा दस हजार भन्दा बढि रुखहरु नष्ट हुँदै छ । संविधानले संरक्षण गरेको राष्ट्रिय फूल लालिगुँरास हजारौ काटिन्दै छ । साम्माङ सिङ लगायत विभिन्न लोपोन्मुख रुखहरु नष्ट गरिन्दै छ । विश्वमा दुर्लभ रेडपाण्डा जस्ता वन्यजन्तुको बाँसस्थान र खेल्ने चरण बिनास गरिन्दै छ ।

प्राकृतिक र पर्यावरणमा समस्या निम्तिने छ । बहुमूल्य जडिबुटी अन्त्य हुँदैछ । पवित्र आस्था र विश्वासको केन्द्र डेटिङ स्पोर्ट टुडिखेल बन्दैछ । कुनै असली मुक्कुमलुङ पाथीभरा कहाँ हो भनेर टर्च बालेर खोज्ने दिन आउँछ । यहाँ दुइ चार जनाको विकासको नाममा पैसा कमाउने दाउमा स्वार्थी ब्यक्तिहरुले गर्दा आउँदो दिनमा मुक्कुमलुङमा जटिल परिस्थिति नआउँला भन्न सकिन्न ।

विगत समयदेखि हजारौ भक्तजनहरुलाई सेवा दिएर बसेका फेदिका जनताहरुलाई कसरी ब्यवस्थापन गर्ने ? रोजगार पाएका सयौं युवाहरुलाई कसरी एडजस्ट गर्ने ? स्थानीयबासीहरुलाई प्रोजेक्टबाट कस्तो लाभ अवसर प्राप्त गर्ने स्थानीय सरकारले के पाउने कति पाउने प्रभावित क्षेत्रका जनतालाई कति शेयर लगानी दिने यस्ता कुराहरु धेरै छन । तर, यो कुरा जनता समक्ष नराखी योजना सञ्चालन गर्नु भनेको भ्रष्टचारी तस्करीहरुलाई साथ दिनु हो । स्थानीय सरोकारवालाहरुको इच्छा विपरित कार्ययोजना सञ्चालन गर्नु हो । कहिले केवुलकारको नाम फेरिने, कहिले मान्छेको नाम फेरिने कहिले जग्गाको दाम र मूल्य रातरात बढने गरेको छ । केवुलकार सञ्चालनमा नआइनै करोडांै नाफा झ्वाम हुने अनि जनतालाई विकास र समृद्विको पाठ पढाउने ?

लु अब बुझौं, विकास र समृद्धिको नाममा ल्याउन लागेको केबुलकारको सुरुवाति हिसावकिताव । केवुलकार निमार्ण गर्ने जग्गा भनेर २०७४ सालमा ५९ रोपनी १५ आना जग्गा सात लाख बिस हजारमा खरिद गरी त्यहीँ ५९ रोपनी जग्गा मध्येबाट केवुलकार कम्पनीलाई ४४ रोपनी बेचेको देखिन्छ । ४४ रोपनी जग्गाको दाम कति हो भने २९ करोड ८५ लाखमा केवुलकार कम्पनीलाई बेचिएको देखिन्छ । यहाँ हेर्ने हो भने, प्रति रोपनी ६७ लाख ८४ हजार ९० रुपैयाँ परेको देखिन्छ । जम्मा रु ७ लाख २० हजारमा किनेको जग्गा कसरी रातारात ४४ रोपनी जग्गाको दाम २९ करोड ८५ लाख पुग्यो । यस विषयमा हामीले खोज्ने कि नखोज्ने ? के यस्तो कुरा देखिदेखि शेयर लगाउन सक्नु हुन्छ ? आज नानाभाति कुरा गरेर, अनेकौं प्रलोभन देखाएर हामीलाई फकाउँदै छन् । अब हामीले यस्ता दलाल भ्रष्टचारी, तस्कर, माफियाहरुसँग दुई चार खोका दियो भन्दैमा लम्पसार पर्ने हो ? यो कुरा समयमै सचेत भएर स्थानीय सरोकारवालाहरुले खोज्न र रोक्न सकिएन भने मुक्कुमलुङ पाथीभरा दलाल र भ्रष्टचारीहरुको कमै खाने भाडा मात्र हुनेछ ।

यदि केवुलकार बन्यो भने यहाँ बस्नेहरुले अवसर पाउनु त कुरै नगरौ, विर्तामोडदेखि फेदीसम्म केवुलकार कम्पनीले कब्जा गर्ने छ । गाडी, घोडा, होटल, भक्तजन सबै अनि हामी मक्ख परेर कुरा गर्छाै केवुलकार बन्यो भने जिल्लाकै समृद्वि रे कठै बरा !

सम्बन्धित खवर