संसारमा आपतकालिन समय आउने सम्भावना छ : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संसारमा आपतकालिन समय आउने सम्भावना छ : अङसीमाङ आत्मानन्द सेइङ

माघ ५, माङसेबुङ । वैज्ञानिक भौतिकवादीहरुले इश्वर छ भनेर नमानेपनि यो ब्रमाण्डको मालिक माङ (इश्वर) रहेको मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले बताउनु भएको छ ।

इलामको माङसेबुङमा आयोजित सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महान सेवा समारोहको शुक्रबार समुद्घाटन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।

‘माङले चाहेमा यो ब्रमाण्ड एक सेकेण्डमा ध्वस्त हुन्छ ।’ अङसीमाङज्यूले भन्नु भयो, ‘यो पञ्चतत्वको पनि मालिक छ, पञ्चतत्व बिना मानव अस्तित्व सम्भव छैन् ।’

यो पृथ्वीलाई कसरी बचाउने सबैले चिन्तन मनन गर्नुपर्ने समय आएको बताउनु हुँदै, वहाँले भन्नु भयो, ‘पृथ्वी ध्वस्त हुन आटयो यसबाट कसरी बचाउने यसमा मेरो चिन्तन छ । नरसंहार हुनु हुन्न भन्ने हाम्रो सिद्धान्त छ ।’

विश्वमा ठूला ठूला शक्तिशाली मुलुकका नेताहरुबीचको मत भिन्नताले विश्व युद्धको रुप लिन सक्ने सुनाउनु हुँदै वहाँले थप्नु भयो, ‘संसारमा आपत्तकालिन समय आउने सम्भावना छ ।’

विश्वको गति राम्रो नरहेको संकेत गर्नुहुँदै अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘विनाशकारी भूकम्प, महामारी रोग व्यधिहरुबाट जोगिन सबैले माङमा सेवा गरौं । माङले चाहेमा यो संसारलाई एक सेकेण्डमा ध्वस्त हुन्छ । यसबाट जोगिन माङसेवा गर्नुपर्छ ।

भौतिकवाद र अध्यात्मिकवादको धेरै बहस हुने गरेको सुनाउँनु हुँदै अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘माक्स पनि चेतनाको स्तरमा पुग्न सकेन, चेतनाको ठाउँमा पुगेको भए राम्रो हुन्थ्यो ।’

महान सेवा समारोहको समुद्घाटन गर्दै प्रमुख अतिथि माइ नगरपालिकाका मेयर खम्बासिं योङहाङले माङसेबुङ गाउँपालिका र माइ नगरपालिकाबीच समन्वय गरेर विकास निर्माणमा अघि बढ्न सकिने बताएका छन् ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको समुपस्थितीमा सम्पन्न महान सेवा समारोहमा विशेष अतिथि माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई रहनुभएको थियो ।

माघ १ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोह अन्तर्गत विहिबार (आज) विश्व शान्ति तथा मानव एकताको निमित किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न गरिएको थियो । समारोह अन्तर्गत माघ ३ गते किरात साम्जिक मुन्धुम अनुसार साक्मुरा वादेम्मा (गाली श्राप बहन्ती) सम्पन्न भएको छ ।

सेवा समारोह अन्तर्गत शुक्रबार (हिजो माघ ५ गते) सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोह प्रमुख अतिथिबाट समुद्घाटन, जातीय झाँकी प्रदर्शन, अतिथिबाट शुभकामना मन्तव्य साथै साँझ बृहत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

सावायेहाङ खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महान समारोह समितिको आयोजनामा सप्ताह व्यापी आयोजना गरिएको कार्यक्रम शनिबार (आज) किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुबाटबाट विशेष माङ आशीर्वचन हुने भएको छ । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण गर्ने साथै संस्थागत धन्यवाद–पत्र वितरण र पुस्तक÷पुस्तिका विमोचन हुने कार्यक्रम समेत रहेको छ ।

त्यसैगरी भक्तजनहरुबाट संकलन गरिएको माङवाहाङवा (बीउविजन) लाई सेवा गरी मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको हस्तबाहुलीबाट सबै भक्तजनहरुमा वितरण गरिने समारोहले जनाएको छ । भने साँझ बृहत सांस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने समारोह सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले जनाएको छ ।

प्रकृतिपूजक किरात समुदायले भूमिमा खनजोत गर्न अघि प्रकृति (पञ्चतत्व) को सेवा गरी माङवाहाङवा मागेर सबै भक्तजनहरुमा माङवाहाङवा वितरण गर्ने प्रचलन अनुसार मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ देव उपस्थितीमा हरेक वर्ष खिबेक्वा याक्वा सेवा (उभौली पर्व) को अवसरमा माङवाहाङवा (बीउविजन) वितरण हुने गरेको छ ।

सावायेहाङ खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महान समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा स्वगत तथा औचित्य माङगेन्ना समितिका उपाध्यक्ष होम लिङदेन राख्नु भएको थियो । भने माङगेन्ना समितिका सह सचिव समिता थेबेले सञ्चालन गरेकी छन् ।

सम्बन्धित खवर