संसारमा नयाँ आयाम छोड्दै छु : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संसारमा नयाँ आयाम छोड्दै छु : अङसीमाङ आत्मानन्द सेइङ

फागुन ५, माङसेबुङ । हाम्रो आत्माले दुःख नपाई माङको लोकमा पुगोस् भनेर भक्ति गर्नुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले बताउनु भएको छ ।

विगतका वर्षझैं यस वर्षपनि इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा आयोजित मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको नुमाङगेन्ना महान सेवा समारोह अन्तर्गत शुक्रबार आयोजित विशेष आशीर्वचन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङले सो कुरा बताउनु भएको हो ।

‘हाम्रो आत्माहरु नर्क र स्वर्गमा गएर बस्ने दुई किसिमको आत्माहरु हुन्छ । पवित्र आत्माहरु मात्र स्वर्गमा जाने गर्दछन् ।’ अङसीमाङले भन्नु भयो, ‘मुक्ति र मोक्ष प्राप्तिको लागि प्रार्थना गर्नुपर्छ । आत्मालाई पवित्र राख्यौं भने माङले लिन्छ ।’

पञ्चतत्वको गति विग्रेको र संसारमा एउटा अनिष्ट आउने सम्भावना रहेको बताउनु हुँदै, वहाँले भन्नु भयो, ‘यो अनिष्टबाट हामी कसरी बच्ने भन्ने विषयमा सबैले ध्यान दिनुपर्छ ।’

विश्वमा ठूला ठूला शक्तिशाली मुलुकहरुबीचको शक्ति प्रदर्शनले गर्दा नरसंहार हुने सम्भवना रहेको सुनाउनु हुँदै वहाँले थप्नु भयो, ‘धार्मिक दृष्टिकोणले हेर्दा संसार अन्त्य अन्त्यतिर पुगेको छ । त्यसैले यसबाट जोगिन माङसेवामा ध्यान दिनुपर्छ ।’

संसारभरका मानव समुदायहरु किरात धर्म दर्शनमा एकताबद्ध हुन अनुरोध गर्नुहुँदै अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘यो संसारमा नयाँ आयाम छोड्दै छु । यो दर्शन चिनेर अगाडि बढ्नुहोस् ।’

देश विदेशमा आपत्तकालिन अवस्था नहोस भनेर माङसँग प्रार्थना गरिरहेको सुनाउँनु हुँदै अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘विश्व शान्ति होस्, जहाँरहे पनि हाम्रो आत्मा एकता होस एकता भयौं भने सिद्धि शक्ति पाउँछौं ।’

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको समुपस्थितीमा सम्पन्न महान सेवा समारोहमा विशेष आशीर्वचन कार्यक्रममा मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ समक्ष मिक्तोक (उपहार) अर्पण गर्ने साथै संस्थागत धन्यवाद–पत्र वितरण र पुस्तक÷पुस्तिका विमोचन कार्यक्रम समेत रहेको भएको थियो ।

फागुन ३ र ४ गते भव्य रुपमा मनाइएको जन्मोसत्व कार्यक्रममा बुधबार २ गते विश्व शान्ति तथा मानव एकताको निमित किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न गरिएको थियो । समारोह अन्तर्गत फागुन १ गते किरात साम्जिक मुन्धुम अनुसार साक्मुरा वादेम्मा (गाली श्राप बहन्ती) गरिएको थियो ।

सेवा समारोह अन्तर्गत बिहिबार (फागुन ३ गते) समारोहको प्रमुख अतिथि माननीय संघीय सांसद लिला बोखिमबाट समुद्घाटन, जातीय झाँकी प्रदर्शन, अतिथिबाट शुभकामना मन्तव्य, नुमाङगेन्ना सेवामा ६८ जना माङसेवासाबा, माङसेवासामाबाट साम्जीक मुन्धुम वाचन साथै साँझ सावायेहाङ नुमाङगेन्ना सेवासँगै बृहत सांस्कृतिक कार्यक्रममा फलामसिं नामक नाटक समेत प्रस्तुत गरिएको थियो ।

जन्मोत्सव समारोह अन्तर्गत सावायेहाङका लागि साक्मुरा वादेम्मा, येत् नाम्धुङ लाधुङ सेमी सेवा, पवित्रहाङमा कप, अङसीमाङको आशीर्वचन, नुमाङगेन्ना सेवासँगै यस वर्षदेखि सावायेहाङ नुमाङगेन्ना कार्यक्रम पनि जोडिएको नुमाङगेन्ना महान सेवा समारोह अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ ।

समारोहका अध्यक्ष योङहाङका अनुसार यस वर्षदेखि अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम समेत आयोजना गरिएको थियो । यसका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गरेको आयोजकले जनाएको छ । नुमाङगेन्ना सेवाको अवसरमा प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि व्यवस्था गरिएको थियो ।

जन्मोत्सव कार्यक्रम अन्तर्गत फागुन ४ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनबाट विशेष माडआशीर्वचन, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण गरिएको थियो ।

नुमाङगेन्ना समारोहसँगै जोडिएको २ दिने विशेष धार्मिक प्रशिक्षण भने विशेष कारणवस केही दिनको लागि स्थगन भएको समारोह अध्यक्ष तथा माङगेन्ना समिति अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिनु भएको छ ।

कार्यक्रम महान सेवा समारोह अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना समिति अध्यक्ष केहेरसिं योङहाङकोअध्यक्षतामा सम्पन्न कार्यक्रममा माङगेन्ना उपाध्यक्ष होम लिङदेनले स्वागत मन्तव्य राख्नु भएको थियो भने सह अध्यक्ष तथा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले औचित्य मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित खवर