इलाम २ उपनिर्वाचनमा पहिचानवादीको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम २ उपनिर्वाचनमा पहिचानवादीको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम

चैत २, दमक । आसन्न इलाम २ को उपनिर्वाचनका लागि ‘कोशी’ नाम खारेजीमा आन्दोलनरत पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थेगिमलाई साझा उम्मेदवार घोषणा गरेको हो ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई लगायत जातीय संस्थाका प्रतिनिधि तथा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन, सन्जुहाङ पालुङ्वा लगायत पहिचान पक्षधर साना दलका नेता उपस्थित थिए ।

थेगिम संघर्ष समितिका संयोजक समेत रहेका छन् । संघर्ष समितिमा किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा, नेपाल आदिवासी जनजाति महासंघ, पहिचान सहितको प्रदेश १ पुनः नामाङकन अभियान समिति सहित ४१ वटा घटक सहभागी छन् ।

‘इलाम २ बाट निर्वाचित भए कोशी प्रदेश नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र सभ्यताको आधारमा प्रदेशको नाम राख्न पहल गर्ने छु’ उम्मेदवार डकेन्द्र सिंह थेगिमले भने, ‘मलाई विश्वास छ सबैको साझा स्वतन्त्र उम्मेदवार भएको हैसियतले सबैबाट मत प्राप्त गर्दै संघीय प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएर देश र जनताको लागि राम्रो काम गर्ने अवसर पाउनेछु ।’

यसैगरि उपनिर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गर्ने गरी डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने निर्णय गरिएको संघर्ष समितिको विज्ञप्तिमा भनिएको छ ।

गत निर्वाचनमा निर्वाचित नेकपा एमालेका तर्फबाट चुनाव जितेका उम्मेदवार सुवाषचन्द्र नेम्वाङको निधन भएपछि रिक्त इलाम २ मा उपनिर्वाचन हुन लागेको हो ।

सम्बन्धित खवर