माङसेबुङमा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमको चुनावी आमसभा हुदैं, मेयर हर्क साम्पाङले सम्बोधन गर्ने - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमको चुनावी आमसभा हुदैं, मेयर हर्क साम्पाङले सम्बोधन गर्ने

चैत १८, माङसेबुङ । इलामको माङसेबुङमा पहिचान पक्षधरकोे साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमको चुनावी आमसभा हुने भएको छ ।

आगमी चैत २१ गते बुधबार माङसेबुङ ५, भालुटारमा धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङको प्रमुख अतिथ्यतामा पहिचान पक्षधरकोे चुनावी आमसभा हुने भएको हो ।

चुनावी आमसभालाई प्रमुख बक्ताको रुपमा मेयर साम्पाङले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक चुनाव प्रचार प्रसार समिती माङसेबुङ इलामले जनाएको छ ।

यसैगरि कार्यक्रमलाई सभ्य अनि भव्य बनाउनको निमित्त राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरु मोडल तथा नायिका सिर्जना निङलेकु, गायिका सबिना योङहाङ, गायक सिदान्त खड्का, गायक कञ्चन थलङ, गायिका तिर्सना नेम्बाङ, गायिका दिपा सुहाङ र गायिका सुनिता थेगिमको बेजोड सांगितिक प्रस्तुति हुनेछ ।

आगमी बैशाक १५ गते हुने इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई बनाएको हो ।

संघर्ष समितिमा नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ सहितका विभिन्न पहिचानवादी राजनैतिक दलहरु सहित ४१ वटा घटक सहभागी छन् । साझा उम्मेदवार थेगिमसँग ३० बर्ष शिक्षण गरेको अनुभव छ ।

पहिचान पक्षधरहरुले ‘उपनिर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गर्ने गरी डकेन्द्र सिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रदेश १ को नाम कोशी राखेसँगै आन्दोलनरत संघर्ष समितिले पहिचानलाई नामेट पार्न कोसिस गरिएको भन्दै त्यसका विरुद्ध पहिचानको पक्षमा उम्मेदवारी दिएको हो ।

गत निर्वाचनमा निर्वाचित नेकपा एमालेका तर्फबाट चुनाव जितेका उम्मेदवार सुवाषचन्द्र नेम्वाङको निधन भएपछि रिक्त इलाम २ मा उपनिर्वाचन हुन लागेको हो ।

सम्बन्धित खवर