यो थलो याक्थुङ हाङहरुको हो : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यो थलो याक्थुङ हाङहरुको हो : अङसीमाङ आत्मानन्द सेइङ

चैत २३, ताप्लेजुङ । याक्थुङ लाजे हेर्दै आउँदा कति ठाउँहरुमा बिरक्त लागेको र कति ठाउँहरमा रमाईलो अनुभुति भएको मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले बताउनु भएको छ ।

बिहिबार ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा अनावरण तथा नवनिर्मित किरात मुजोत्लुङ युमा माङहिमको उद्धघाटन पछि आशीर्वचन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङले सो कुरा बताउनु भएको हो ।

‘यो थलो याक्थुङ हाङहरुको हो’ अङसीमाङले भन्नु भयो, ‘याक्थुङ हाङहरुको थलोमा याक्थुङ हाङहरु साम्योमाधर्ममा एकतृत भएर बस्नु पर्छ । एकतृत भएर बस्नु नै सुन्दरता हो ।’ वहाँले आशीर्वचनमा थप्नुभयो, ‘याक्थुङ हाङहरुले आफ्नो धर्म संस्कृति र भाषा साहित्यलाई चिन्नु पर्छ ।’

‘हामीले नवनिर्मित माङहिममा माङलाई लिन गरेका छौं ।’ वहाँले आशीर्वचनमा भन्नुभयो, ‘हामीले स्थापना गरेको माङले हामीलाई रक्षा गर्छ । तर यहाँ बहुजाती बहुभाषी मान्छेहरु बसेका छौं । त्यसैले सामाजिक सद्भाव कायम गरेर बस्नु पर्छ ।’

देश विदेशमा ठुला ठुला महामारी नआवस, आपत्तकालिन अवस्था नहोस भनेर माङसँग प्रार्थना गरिरहेको सुनाउँनु हुँदै अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘विश्व शान्ति होस्, माङले रक्षा गरोस, जहाँ बसेपनि माङको कृपाले बसेका छौं । मान्छेमा सत्यता हुनुपर्छ, सत्यको बाटोमा हिड्नुपर्छ, सत्य वचनलाई श्रवण गनुपर्छ ।’

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको देवसमुपस्थितिमा किरात मुजोत्लुङ युमा माङहिम निर्माण समितिका अध्यक्ष रुपा साँबा चोङबाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वगत मन्तव्य सचिव कृष्ण गोपाल थाङदेन र सञ्चालन सरोज कङलिबाले गरेका थिए ।

सम्बन्धित खवर