इलाम २ उपनिर्वाचनका लागि २० जनाको उम्मेदवारी दर्ता - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम २ उपनिर्वाचनका लागि २० जनाको उम्मेदवारी दर्ता


चैत २४, इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी २० जनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन ।

प्रदेश १ पुनः नामाङकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरु र जसपा र नेसपाको समेत समर्थन पाएका पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले दर्ता गराएका छन् ।

यसैगरि नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनीबहादुर लिम्बूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिए ।

यस्तै राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगर र स्वतन्त्र उम्मेदवार उम्मेदवार डाकप्रसाद गौतम र अन्य स्वतन्त्र उम्मेदवारहरूको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

आज उम्मेदवारी दर्ता गरेका उम्मेदवार विरुद्ध भोली बिहान १० बजेदेखि ३ बजेसम्म विरुद्ध उजुरी दिने, दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको छ ।

चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ भने वैशाख १५ गते मतदान गर्ने कार्यसूची रहेको छ ।

 

सम्बन्धित खवर