बैशाक ३, दमक । एसीसी प्रिमियर कपमा साविक विजेता नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा भएको खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै समूह ‘बी’ मा रहेको नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
हङकङले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै ११७ रन बनायो ।
नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ४० रन बनाउदा कुशल भुर्तेलले ३२ रन, कप्तान रोहितकुमार पौडेलले २५ रन र सन्दीप जोरा १९ रनमा अविजित रहे ।
हङकङका इशान खान र यासिम मुर्तजाले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।
हङकङका अन्श्या रथले सर्वाधिक ३४ रन बनाउदा जिशान अलीले १४ रन, निजाकत खानले १२ रन, एहसान खानले ११ रन र आयुष शुक्ला ६ रनमा अविजित रहे ।
नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिँदा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट र करण केसीले १ विकेट लिए ।