इलाम २ उपनिर्वाचनमा रास्वपाका मिलन लिम्बूसहित १६ को जमानत जफत - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम २ उपनिर्वाचनमा रास्वपाका मिलन लिम्बूसहित १६ को जमानत जफत

बैशाक १८, इलाम । इलाम क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूसहित १६ जनाको जमानत जफत भएको छ ।

कुल सदर मतको १० प्रतिशत ल्याउन नसक्दा उनीहरूको धरौटी गुमेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४ मा कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत १० दल र छ स्वतन्त्र उम्मेदवारले १० प्रतिशत मत ल्याउन सकेनन् ।

इलाम २ मा कुल सदर मत ६९ हजार ३ सय ७४ छ । यसको १० प्रतिशत ल्याउन छ हजार तीन सय हाराहारी चाहिन्छ । तर, रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत मात्र ल्याए ।

राप्रपा उम्मेदवार लक्ष्मी गुरुङले ४ सय ४, जनमत पार्टीका प्रेम थाम्सुुहाङले १ सय १८, नेकपा (एस)का जितबहादुर राईले ४ सय ८, नेपाल मजुदर किसान पार्टीका श्यामबहादुर दर्जीले ३३, मंगोल नेसनल अर्गनाइजेसनका मणि लिम्बूले ८ सय १६ मतमात्र ल्याएर धरौटी गुमाए ।

यस्तै राप्रपा नेपालका गणेशबहादुर चौहानले ४३, नेपाल जनता दलका रेशबहादुर सुनुवारले २ सय ६, नेसनल रिपब्लिकन नेपालका धन रानामगरले ३६ र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्तविक्रम साहले ४३ मत ल्याए । उनीहरूले पनि धरौटी बचाउन सकेन ।

स्वतन्त्र उम्मेदवारहरू अर्जुनविक्रम शाहीको ५५, डाकप्रसाद गौतमको १४, दीपेश बोहोराको २१, मनोज निरौलाको १२, योगेन्द्र गुरुङको ४ र राज बस्यालको ३८ मत आएको छ । उनीहरू सबैले धरौटी गुमाएका छन् ।

१२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेकामा नेकपा (एमाले), नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलेमात्र जमानत जोगाएका छन् ।

सम्बन्धित खवर