‘गाउँ आएको बाटो’को प्रिमियर शो सम्पन्न, शुक्रबारबाट प्रदर्शनमा - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘गाउँ आएको बाटो’को प्रिमियर शो सम्पन्न, शुक्रबारबाट प्रदर्शनमा

जेठ २४, काठमाडौं । बरिष्ठ चलचित्र निर्देशक नविन सुब्बाको निर्देशन रहेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’को प्रिमियर शो गरिएको छ ।

भोली शुक्रबार(जेठ २५)बाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को बुधबार काठमाडौंस्थित बिजी मलमा प्रिमियर शो गरिएको हो ।

प्रिमियर शोमा फिल्मकर्मी, राजनीतिकर्मी र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको बाकुलो उपस्थिति रहेको थियो ।

महेश राईको कथामा निर्माण गरिएको ‘गाउँ आएको बाटो’मा अहिलेका व्यस्त कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य भूमिका रहेको छ ।

किरात राई जातीको पुर्खौली थलोमा उनीहरूको सहअस्तित्व पहिचानका साथै सामाजिक, सांस्कृतिक सम्बन्ध भावनामा आयातित संस्कृतिले पारेको प्रभावलाई चलचित्रमा देखाउन खोजिएको छ ।

चलचित्रमा गाउँमा बाटो आएसँगै गाडी आएपछिका परिवर्तनहरुका साथै बाबु र छोराको सम्बन्धलाई समेत अत्यन्तै सुन्दरढंगले प्रस्तुत गर्न खोजएको छ । राई जातीहरुको परम्परागत ज्ञान, सिप र क्षमताहरूलाई बाटो आएसँगै कसरी क्रमिक रूपमा सांस्कृतिक अतिक्रमण भयो त भन्ने विषय चलचित्रको मुख्य केन्द्र रहेको निर्देशक सुब्बाले बताए ।

चलचित्रको अधिकांश छायाङ्कन पूर्वी पहाडी जिल्ला किरात राई जातीहरुको सघन बसोबास रहेको भोजपुरको दक्षिणी क्षेत्रमा गरिएको छ ।

 

सम्बन्धित खवर