चुलाचुली १ मा चुरे दिवसको अवसरमा रोपिए रैथाने जातका एक हजार बिरुवा - Mangsebung News
  • बुधबार, भदौ २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चुलाचुली १ मा चुरे दिवसको अवसरमा रोपिए रैथाने जातका एक हजार बिरुवा

असार ३, चुलाचुली । चुरे दिवसको अवसरमा चुरे उत्थानशील आयोजना र कमल सामुदायिक वनले इलामको कमल सामुदायिक वनमा वृक्षरोपण गरेका छन् ।

असार २ गत चुलाचुली–१ स्थित कमल खोलो किनारको बाँझो जमीनमा चुरे पहाडको फेदमा बाँस, अम्बा, अमला, जामुन, लगायतका रैथाने प्रजातिका एक हजार बिरुवा रोपिएका हुन् ।

सबडिभिजन वन कार्यालय चुलाचुली, सबडिभिजन वन कार्यालय बेलबारी, र डिभिजन वन कार्यालय त्रिवेणी, उदयपुरले सहयोग गरेको कार्यक्रममा चुरे उत्थानशील आयोजनाले बिरूवा उपलब्ध गराएको हो ।

‘तराईमा नेपालका आधा जनसंख्या बस्छन्, जसले सारा नेपालका लागि अन्न उत्पादन गर्छन् । तराई जोगिएन भने यी सबै मानिसको जीवन तथा जीविका जोखिममा पर्छ । त्यसैले चुरे क्षेत्र जोगाउने हाम्रो प्रतिबद्धता छ’, कार्यक्रमका प्रमुख अतिथि एवम् चुरे उत्थानशील आयोजनाका राष्ट्रिय निर्देशक नबराज पुडासैनीले भने ।

पछिल्लो समयमा वन विनाश, नदीजन्य पदार्थको उत्खनन्, लगायतका मानवीय गतिविधिका कारणले चुरेको क्षेत्रको वातावरण खस्किरहेको र बाढी, पहिरो आउने, पानीका मूल सुक्ने, नदी कटानले घर भत्काउने र खेतलाई बञ्जर बनाउने लगायतका समस्या बढ्दैगएको स्थानीयवासीको गुनासो छ ।

‘पहिले चुरे क्षेत्रमा पानी थियो । अहिले सय फिट भन्दा गहिरो बोरिङ गर्दा पनि पानी भेटिँदैन । अब हामीले वृक्षरोपण गरेर यो क्षेत्रलाई पहिलेको जस्तो बनाउने कोसिस गर्नुपर्छ । आयातित प्रजातिका रुखले स्थानीय माटोको उर्वराशक्ति घटाउने हुँदा रूख रोप्दा स्थानीय प्रजातिकै छान्नुपर्छ’, चुलाचुली वडा नम्बर १ का कार्यवाहक वडाध्यक्ष लालबहादुर चाम्लिङले भने ।

वृक्षरोपण गरेर वनक्षेत्र बढाउँदै लाने योजना रहेको कमल सामुदायिक वनकी अध्यक्ष सङ्गीता थलङको भनाई छ ।

चुरे क्षेत्रको संरक्षण पछिल्लो समयमा नेपाल सरकारको प्राथमिकतामा पर्दै आएको छ । १० वर्ष अगाडि असार २ गतेलाई चुरे दिवस घोषणा गरियो। तत्कालीन राष्ट्रपति राम वरण यादवले राष्ट्रपति चुरिया तराई मधेस संरक्षण तथा विकास समिति अन्तर्गत संरक्षणका विभिन्न काम भइरहेका छन् ।

वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा चुरे उत्थानशील आयोजनाको निरन्तर कार्य अन्तर्गत वृक्षरोपण गरिएको हो ।

चुरे उत्थानशील आयोजनाले आफ्नो कार्यक्षेत्रमा नर्सरी स्थापना तथा वृक्षरोपण गर्दै आएको छ । हाल प्रदेश १ मा आयोजनाका ७ वटा नर्सरीमा चार लाख भन्दा बढी रैथाने प्रजातिका बिरुवा रहेका बताइएको छ । बिरुवा रोप्न चाहने मानिसलाई यी बिरुवा निःशुल्क वितरण गरिनेछन् ।

सम्बन्धित खवर