माङसेबुङ गाउँपालिकाको विकास, सञ्चालन, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनको स्थिति र माङसेबुङको समग्र सम्भावना र चुनौतिका विषयमा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईसँग माङसेबुङ न्युजले गरेको कुराकानी :
तपाईं अध्यक्षमा निर्वाचित भएपछि पालिकाको काम के कसरी भइरहेको छ ?
– माङसेबुङवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरु, आम मतदाता र शुभेच्छुकहरुको सहयोगले हामी निर्वाचित भयौँ । म भन्दा पनि माङसेबुङवासीको जनमत पाएर यस पालिकाको आफ्नै विशिष्ट पहिचानसहित विकासको गतिसँग जोड्ने गरी एउटा टीम निर्वाचित भयौँ । जनताका प्रतिनिधिका रूपमा निर्वाचित भइसकेपछि हाम्रो मुख्य जिम्मेवारी माङसेबुङका जनताको सेवक भएर काम गर्नु हो, किनकि हामी जनप्रतिनिधि हौँ । हामीले जनतालाई प्राप्त हुनुपर्ने आधारभूत सेवाका लागि सकेको प्रयास गरिरहेका छौँ । भौगोलिक बिकटता, दुरीलाई समेत ध्यानमा राखेर माङसेबुङका वडा नम्बर २, ३ र ६ मा वडा सेवा केन्द सञ्चालन गरी सेवा दिइरहेका छौँ । लिम्बू र राई समुदायको ठूलो बाहुल्यता रहेको पालिका भएकाले लिम्बू भाषा र किरात राई बान्तावा भाषालाई पालिकाको कामकाजी भाषाका रूपमा मान्यता दिने निर्णय भइसकेको छ । अब कर्मचारी नियुक्त गरेर त्यसलाई पालिकास्तरमा अभ्यास गर्ने तयारीमा छौँ ।
हाम्रो काम माङसेबुङ गाउँपालिकामा प्राप्त स्रोतसाधनको समुचित प्रयोग गरेर विकास निर्माणसँगै आत्मनिर्भरतातर्फ डोे¥याउने हो । यस कार्यका निम्ति हामीलाई समग्रमा यहाँका राजनीतिक दल, संघसंस्था, बुद्धिजीवी र आम माङसेबुङवासीको साथ र सहयोग चाहिन्छ ।
विकासका पूर्वाधारहरु निर्माण गर्ने काममा यो दुई वर्षमा जनताले महसुस गर्ने गरी कामहरु के के भए ?
– हामी निर्वाचित भएर आएको दुई वर्षको अवधिमा हामी आउनु भन्दा अगाडिको अवस्थामा जे जस्ता पूर्वाधारका कामहरु सुरु भएका थिए, ती मध्येका अधिकांश बाटाघाटा निर्माण र स्तरोन्नति भएका छन् । केहि बाटोहरुलाई अलवेदर बनाएकाछौं । पक्की सिँढी निर्माण, खानेपानीका ट्याङ्की निर्माण कार्य सम्पन्न गरेका छौँ । विद्युत विस्तार कार्यमा निकै फड्को मारेका छौ भन्ने लाग्छ, खानेपानीको पाइपलाइन विस्तार कार्यलाई सुचारु राखेका छौँ । उल्लेख नै गर्नुपर्दा धार्मिक तथा पर्यटकीयस्थल माङमालुङ प्रवेशद्वारसहितको भौतिक निर्माण, माङसेबुङ ५ को भालुटारमा प्रथम किरात राजा यलम्बरको पूर्ण कदको प्रतिमा पहिलेदेखि नै निर्माणाधीन थियो, लगातार दुई आर्थिक वर्षमा बजेट उपलब्ध गराएर पूर्णता दिने कार्य अन्तिम चरणमा पुगेको छ । माङसेबुङ ६ को हस्टेस्थित पारुहाङ साकेला पार्कमा स्थानीय सहयोगी दाताहरुको सहयोगमा वाबुकको प्रतिमा अनावरण भएकोमा पालिकाको समेत पहल र लगानीमा पार्क स्तरोन्नति कार्य गरिएको छ । माङसेबुङ १ को पञ्चकन्या मन्दिरको घेराबारा गरी देवस्थलको संरक्षण गरेका छौँ ।
विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षामाथिको लगानीलाई प्राथमिकतामा राख्दै आएका छौँ । प्राविधिक शिक्षासमेत पढाई भइरहेको माङसेबुङ ५ को सरस्वती माविमा बहुतले भवन निर्माण भई सञ्चालनमा आइसकेको छ । जहाँ कम्पुटर ल्याव, साइन्स ल्याव, बाली ल्याव र पुस्तकालय सञ्चालित छन् । विद्यालयहरुको आवश्यकता अनुसारको भौतिक संरचनाहरु पालिकाको स्रोतले भ्याएसम्म प्राथमिकतामा राखेर गरेकाछौ । मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदान, कम्प्युटर, प्रिन्टर र कम्प्युटरं प्रशिक्षक स्वयंसेवक अनुदान कार्यक्रमलाई निरन्तरता दिएका छौँ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक दरबन्दी प्राप्त नभएका माविहरुमा गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक अनुदान कार्यक्रममार्फत पठनपाठन गराइरहेका छौँ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न, बीचैमा विद्यालय छाड्ने विद्यार्थी दरलाई कम गर्न आधारभूत तहमा कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम सञ्चालित छ र यस कार्यलाई निरन्तरता दिनेछौँ । छात्राहरुलाई निःशुल्क उपलब्ध हुँदै आएको स्यानीटरी प्याड वितरण कार्यले निरन्तरता पाउने छ ।
सिँचाईतर्फ माङसेबुङ गाउँपालिका भरी हालसम्म ३५ वटा साना सिचाई आयोजना सम्पन्न भएका छन् । यस आर्थिक वर्षमा मात्र फेवा विकासे सिंचाई, ठाँटीकुलो सिंचाई, नीवाघारी सिंचाई, लाम्पाते सिंचाई, बाह्रमुरे सिंचाई, पाक्रुम्बा सिंचाई, आहाले दोभान सिंचाई र गैरी खोला सिंचाई आयोजना गरी ८ वटा गरी करिब ५ करोड बराबरको योजना सम्पन्न भएका छन् । सिंचाईतर्फ हालसम्म करिब २५ करोड बराबरको निर्माण कार्य सम्पन्न भइसहेको छ । साना सिंचाई अन्तर्गतका योजनाहरु सम्पनन हुर्दाँ किसानले आकासे पानिको भर परेर बस्नु परेको छैन ।
सडक, पुलपुलेसाको निर्माण र स्तारोन्नतिमा पालिकाको ध्यान गएको छ । माङसेबुङ देउमाई–फाक्फोक–दोभान–पाटिगाउँ–नावलुङ् बजार– देउराली हुँदै पाङ्तुवा हुलक सडकको स्तरोन्नति गरिएको छ । रात्माटे सात्बिसे सडक स्तरोन्नति, गुरुङ गाउँ सिङ्लाबु सडक स्तरोन्नति हामी निर्वाचित भएर आइसकेपछि भएका हुन् । माङसेबुङ ४ स्थित सिन्धुवा खोलामा बेलिबृज निर्माण सम्पन्न भई स्थानीयलाई आवत–जावतमा सहजता ल्याउने कार्य भएको छ । माङसेबुङ ६ मा कवडहल निर्माण कार्य सम्पन्न भएको छ भने डोलटार खेल मैदान, माङ्मालुङ खालमैदान लगायतको स्तरोन्नति गरी खेलकुदका गतिविधि सञ्चालन गरिएको छ । माङ्सुबुङ गाउपालिका वडा नम्बर ५ को प्रशासनिक भवन निर्माण भई सेवा दिने कार्य जारी रहेको छ । लिफ्टीङ सिस्टमबाट खानेपानी आयोजनाको कार्य अन्तिम चरणमा पु¥याएका छौँ । प्रदेश सरकारको लगानीमा माङसेबुङ तीर्थमार्ग, गुरू आश्रम, फुत्लुङ्गी र अन्य निर्माण कार्यको डिपिआर सकेका छौँ । मलाई लाग्छ यसै आर्थिक वर्षभित्र हामीले गरेका अधिकांश कामहरु ठोस रूपमा देखिने छन् । बहुवर्षे आयोजनाका काममा पनि तुलनात्मक रूपमा प्रगति हुने नै छ ।
स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत क्षेत्रलाई सुधार गर्ने के कस्तो नीति योजना बनाउनु भएको छ ?
– महत्त्वपूर्ण प्रश्न गरिदिनुभयो, सर्वप्रथम यसको लागि धन्यवाद । आ.व. २०८१/८२ को नीति तथा कार्यक्रमबाट हामीले यी शीर्षकहरुमा केही ठोस योजनाहरुमार्फत परिणाममुखी काम गर्नेगरी तयारी गरेका छौँ । माङसेबुङ ३ को मनीपुरमा १५ शैय्याको अस्पताल आउँदो आ.व.बाट निर्माण गर्नेगरी कार्यक्रम बनाएका छौँ । बिगतका वर्षहरुमा जस्तै शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि विद्यालयहरुलाई दिइने अनुदान कार्यहरुलाई थप बढाएका छौँ । विद्यालयहरुमा अत्यावश्यक प्रविधि, मातृभाषा र अन्य विषयका शिक्षक अनुदान कार्यक्रमलाई थप प्रभावकारी बनाउन लागेका छौँ । स्वच्छ खानेपानीका लागि लिफ्टीङ प्रणालीका कार्यहरु बिगत वर्षबाटै गर्न सुरु गरिएकोमा अब थप यस कार्यलाई निरन्तरता दिन लागेका हौँ । माङसेबुङका सबै वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत बाल्ने लक्ष्यका साथ हामीले संघ र प्रदेश सरकारहरुसँगको सहकार्यमा काम गरिरहेकै छौँ । यसका अतिरिक्त वैकल्पिक र सौर्य उर्जा, नदी, खोलाहरुबाट लघु जलविद्युतको सम्भाव्यता अध्ययन र त्यसतर्फ लागनी गर्ने हाम्रो तयारी छ ।
चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको कार्यान्वयनको स्थिति कस्तो छ ? के कति सम्पन्न हुँदै छ ?
– हामीले गाउँसभाको गाउँ अधिवेशनबाट बनाउने बजेट र हाम्रा नीति तथा कार्यक्रम संविधानको र ऐनको परिधिभित्र रहेर मात्रै गर्न मिल्छ र पाइन्छ भन्ने कुरा विदितै छ । तसर्थ, हामी सबै माङसेबुङवासीका आवश्यकता अनेक भए पनि हाम्रा कानुनी सीमितताहरु छन् । आर्थिक स्रोतको अभाव उत्तिकै छ । संघ सरकारबाट प्राप्त हुनुपर्ने विभिन्न किसिमका आय र अनुदानसमेत बेलाबेला रोक्किने जस्ता समस्याहरु सामना गरिरहेका छौँ । यस्तो अवस्थामा गर्नुपर्ने धेरै भएर पनि त्यति गर्न सकेका छैनौँ ।
हाम्रो पालिका ग्रामीण भू–भाग भएको र हामी कृषि, पशुपालनसँग सम्बन्धित आयआर्जनको बाटो समातेर मात्रै माथि उक्लन सक्छौँ भन्ने निचोडमा पुगेर विभिन्न कृषिजन्य उत्पादन जस्तै स्कुस, दाल, अम्लिसो, बाँस, गाईपालन, दुग्ध उत्पादन, बाख्रा पालनमा अनुदान र साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । कृषकहरुलाई गोठ सुधार, उन्नत घाँस र बिऊ वितरण जस्ता कार्यले निरन्तरता पाएका छन् । सामाजिक सुरक्षा भत्ता वडा–वडाबाट वितरण गर्ने कार्यले निरन्तरता पाएको छ । भूमिहीन दलित, भूमिहीन र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको निस्सा वितरण गर्ने कार्य सम्पन्न गरेका छौँ । भूमिको वर्गीकरणमा यसले निक्कै महत्त्व राख्ने छ भन्ने हाम्रो बुझाई छ । पूर्वाधारतर्फ होस् वा कृषि, सिँचाई, सञ्चार, लक्षित समूह र क्षमता वृद्धिका अन्य सबै योजनाहरुको अन्तिम फरफाराक चलिरहेको अवस्था छ । बिगतको वर्षमा भन्दा यो वर्ष बढी नै काम गर्यौं भन्ने लाग्छ ।
माङसेबुङ गाउँपालिका भित्रका सम्भावना र यसको विकास र विस्तारका लागि पालिकाले के–कस्तो नीति योजना बनाएको छ ?
– विशेष गरेर किरात धर्मावलम्बीहरुको आस्थाको धरोहर पवित्र भुमि भनेर विश्वभर माङसेबुङलाई बुझिन्छ । विश्वभर माङसेबुङको पहिचान धार्मिक कारणले स्थापित छ । यसै पालिकाको वडा नम्बर ५ स्थित गुरू निजीआश्रममा किरात धर्मका वर्तमान गुरू सेइङ आत्मानन्द लिङ्देनज्यू, गुरूआमा साम्बा पवित्राहाङ्मा लिङ्देनज्यू स–परिवार बसोबास गर्नुहुन्छ । दैनिक सयौँ भक्तजनले गुरूगुरूआमाको दर्शन गर्न आउनु हुन्छ । त्यस्तै, माङसेबुङ १ मा अवस्थित पवित्र गजुरमुखीधामको आफ्नै धार्मिक महत्त्व रहेको छ । माङसेबुङ २, ३ र ६ को संगमस्थल माङमालुङ अर्को धार्मिक र जैविक महत्त्व बोकेको प्रशिद्ध तीर्थस्थल हो । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मस्थल चुक्चिनम्बा, विराटज्योति माङहिम, अन्धाराजा अन्धारानी, दरबारेक्षेत्र, पाङबुहाङ गुफा, ढ्याङगुरे डाँडा, खराने थुम्का, घोर्लेभीर, तारेभीर, फुलुंगी, खत्रप्पा जस्ता पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार सहितको विभिन्न पर्यटकीय सर्किट तथा सञ्जालहरुको विकास गर्न गुरुयोजना निर्माण तथा विस्तृत आयोजना प्रतिवेदन तयार गरी प्रदेश सरकार, सङ्घीय सरकार, निजी क्षेत्र र बाह्य लगानीलाई प्रोत्साहन गर्ने हाम्रो तयारी छ । यी धार्मिक महत्वका प्रशिद्ध स्थलहरुको विकास र प्रचार प्रसारमार्फत माङसेबुङले आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई खोजी गर्न सक्नुपर्छ भन्ने लाग्छ । त्यस्तै यो पालिकाले जैविक विविधताको रक्षा गर्ने र पर्यावरणको संरक्षणमा पनि भूमिका खेल्ने र यसबाट समुचित लाभ लिनेतर्फ अध्ययन अनुसन्धान गर्नुपर्छ भन्ने लाग्छ ।
स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत क्षेत्रलाई सुधार गर्ने के कस्तो नीति योजना बनाउनु भएको छ ?
– महत्त्वपूर्ण प्रश्न गरिदिनुभयो, सर्वप्रथम यसको लागि धन्यवाद । आ.व. २०८१/८२ को नीति तथा कार्यक्रमबाट हामीले यी शीर्षकहरुमा केही ठोस योजनाहरुमार्फत परिणाममुखी काम गर्नेगरी तयारी गरेका छौँ । माङसेबुङ ३ को मनीपुरमा १५ शैय्याको अस्पताल आउँदो आ.व.बाट निर्माण गर्नेगरी कार्यक्रम बनाएका छौँ । हाल सञ्चालनमा रहेका स्वास्थ्य चौकीहरु र स्वास्थ्य इकाईहरुलाई सुव्यवस्थित गर्ने, बर्थिङ सेन्टरहरुको अवस्था सुधार गर्ने, औषधिको नियमित आपूर्तिमा ध्यान दिनेछौँ । शिक्षाको गुणस्तर वृद्धिका बारेमा अघि नै धेरै भनिसकियो ।
स्वच्छ खानेपानीका लागि लिफ्टीङ प्रणालीका कार्यहरु बिगत वर्षबाटै गर्न सुरु गरिएकोमा अब थप यस कार्यलाई निरन्तरता दिन लागेका हौँ । माङसेबुङका सबै वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत बाल्ने लक्ष्यका साथ हामीले संघ र प्रदेश सरकारहरुसँगको सहकार्यमा काम गरिरहेकै छौँ । यसका अतिरिक्त वैकल्पिक र सौर्य उर्जा, नदी, खोलाहरुबाट लघु जलविद्युतको सम्भाव्यता अध्ययन र त्यसतर्फ लागनी गर्ने हाम्रो तयारी छ ।
माङसेबुङमा रहेका धार्मिक पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनको काम के भइरहेको छ ?
– हामीले माथि नै माङसेबुङका मुख्य तीन वटा धार्मिकस्थलहरुका बारेमा चर्चा गरिसक्यौँ । यिनै कुरालाई मध्येनजर गरेर हामीले गजुरमुखी र माङमालुङका लागि गुरूयोजनासहित आउँदो आ.व.बाट प्रदेश सरकार र संघ सरकारको समेत सहयोगमा कामहरु गर्नेछौँ । माङमालुङ धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रचार गर्न ऐन निर्माण गरी गाउँपालिकास्तरीय ‘माङमालुङ धार्मिक पर्यटन विकास समिति’ गठन गरेर काम गर्ने लक्ष्य बनाएका छौँ ।
१६ औँ राष्ट्रिय विभूति, समाजसुधारक महागुरू फाल्गुनन्दज्यूको नाममा बृहत् साँस्कृतिक फाल्गुनन्द पार्कको लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढिसकेको छ । अबको वर्ष पार्क निर्माण कार्यलाई तीब्रता दिनेछौँ । हरेक वर्षको कार्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाइँदै आइएकोमा अब अहिंसा दिवसको रूपमा समेत मनाइने छ ।
भाषा, संस्कार, संस्कृति, साहित्य र कलाको विकास गर्नका लागि गाउँपालिकास्तरीय ‘माङसेबुङ प्रज्ञा प्रतिष्ठान’ गठन गर्ने र प्रतिष्ठानको आयोजनामा बहुभाषिक साहित्यिक गोष्ठी तथा सम्मान कार्यक्रमरु सञ्चालन गर्ने गरी बजेट विनियोजन हुनेछ ।
माङसेबुङ आफैमा धार्मिक विविधतासहित एकता रहेको पालिका हो । यहाँ जसमनी पन्थ, हेवेन्लीपाथ, इसाई धर्मावलम्बीहरुको पनि बसोबास रहेको छ । हामी एउटौ पालिकाभित्र यति धेरै धर्म र सम्प्रदायका मानिसहरु मिलेर बस्न सक्नु नै हाम्रो शान्ति, भातृत्व र आपसी एकता बलियो भएको प्रमाण हो ।
यस पालिकालाई समृद्ध बनाउन तपाईँकै कार्यकालमा गर्नैपर्ने कामहरु के के हुन् ? तपाईँका योजनाहरु के के छन् ?
– माङसेबुङ गाउँपालिकाको मुख्य लक्ष्य ‘दिगो विकास समृद्धिको आधार स्थायित्व र पर्याप्त पूर्वाधार’ हो । त्यस्तै, धार्मिक पर्यटकीय दृष्टिले प्राकृतिक सम्पदाका दृष्टिले र विकासका दृष्टिले ‘आहा माङसेबुङ’ बनाउने हाम्रो हुटहुटी हो । यो लक्ष्य, नारा र अभियानबाट हामी बिमुख रहने कुरै हुँदैन । यद्यपि, हामीसँग आन्तरिक आय न्यून छ । हाम्रो पालिकाको क्षमता, दक्षता, आवश्कता र अपरिहार्यका आधारमा हामीलाई संविधानप्रदत्त अधिकार प्रयोग गरेर कार्यहरु गर्नुपर्दछ भन्ने लाग्छ । तर, विकास र पूर्वाधारका कार्यमा समग्रमा हामी माङसेबुङवासी सदा एक छौँ । सामूहिक प्रयासबाट मात्रै उपलब्धि हात पार्न सकिन्छ र त्यो दिगो पनि हुन्छ भन्नेमा हामी दत्तचित्त छौँ । सबै भन्दा महत्त्वपूर्ण कुरा हामीलाई तराई र शिक्षा, स्वास्थ्य, बजार, विकास इत्यादिसँग जोड्ने सडकको आवश्यकता छ । त्यसैले ठूला बजेटका दमक–चिसोपानी (फाल्गुनन्द मार्ग) सडक, भेडेटार–रवि–राँके सडकको निर्माण कार्य चाँडै भए हुन्थ्यो भन्ने लाग्छ । तर, यो योजना सम्पन्न गर्न न त हाम्रो बजेटको सामथ्र्यले भ्याउँछ, न त हामीलाई प्राप्त अधिकार सूचीमै यो पर्छ । त्यसका अतिरिक्त एक पालिकाबाट अर्को पालिका जोड्ने सडक, एक वडाबाट अर्को वडा जोड्न सडक, हाम्रो पालिकाभित्रका कृषि सडकहरु, ट्र्याक खोलिएका तर स्तरोन्नति गर्न बाँकी रहेका बाटाघाटालाई प्रथमिकीकरणमा राख्नु पर्दछ भन्ने लाग्छ । समग्रमा आधारभूत कुराहरुको परिपूर्तिसँगै अगाडि जानुपर्दछ ।
पालिकाको विकास गर्दै जनताको मुहार परिवर्तन गर्न यहाँका सरोकारवाला र प्रतिपक्षी दलहरुसँग कतिको छलफल र सहकार्य गर्नु भएको छ ?
– पक्कै पनि । माङसेबुङको विकास यहाँका हामी सबै राजनीतिक दल, नागरिक समाज, संघसंस्था, बौद्धिक व्यक्तित्वहरु, सञ्चारकर्मी, कलाकर्मी, व्यवसायी, किसान र आम नागरिकको साझा चाहना र प्रविद्धता हो । हामीले हाम्रा आवश्यकताहरुको परिपूर्ति गर्दै जानका लागि सबै सरोकारवालाहरुसँग विभिन्न समयहरुमा आवश्यक छलफल, अन्तरक्रिया गर्दै आएका पनि छौँ । मलाई लाग्छ, स्थानीय तहमा दलीय प्रतिस्पर्धाका माध्यमबाट हामी निर्वाचित भएर आए पनि माङसेबुङको विकासमा हामी दल भन्दा माथि उठेर काम गरिहेका छौँ । अर्को कुरा, कुनै न कुनै किसिमले यस पालिकाका सबै दलहरुको प्रतिनिधित्व सुनिश्चित भएकै पनि छ । कसैको बढी कसैको कम भयो होला । तर, माङसेबुङको विकास र माङसेबुङवासीको समृद्धि र हामीले तय गरेको नारा ‘आहा माङसेबुङ’ बनाउनका निम्ति सबैसँग सहयोग र समन्वयसहित विकासको भावनाले हातेमालो रहँदै आएको छ । ‘आहा माङसेबुङ’ बनाउने हामी सबैको साझा भावना र अभियान हुनुपर्दछ । हामीले महत्त्वपूण निर्णयहरु गर्नुपर्दा सर्वदलीय बैठक र निर्णयबाटै गर्दै आएका छौँ । यो हाम्रो पालिकामा विकास भएको अत्यन्तै सुन्दर अभ्यास हो जस्तो लाग्छ ।
निर्वाचनको समयमा जनता सामू गर्नु भएका प्रतिबद्धताहरु कति पूरा भए ?
– मेरो विचारमा यो प्रश्न मलाई भन्दा पनि माङसेबुङवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुलाई सोध्नु पर्छ । युवाहरु र बालबालिकाहरुलाई सोध्नु पर्छ । किनकि हामीले गरिरहेको कामको मूल्याङ्कन गर्ने र हामीलाई ताली र गाली दुवै दिने उहाँहरु नै हो । हामी जनप्रतिनिधि त सेवक भएर उहाँहरुकै सेवा गर्न आएका हौँ । निश्चय पनि चुनावी प्रतिस्पर्धाबाट आउने क्रममा हामीले विभिन्न बाचा र प्रतिबद्धता राखेरै आएका हौँ । दुईवर्षको समयमा सके जति प्रतिबद्धता पूरा ग¥यौँ नै भन्ने लाग्छ । यद्यपि, हाम्रा सामु दमकसँग वा विर्तामोडसँग जोड्ने, अथवा भेडेटार र राँकेसँग जोड्ने सडक निर्माणमा जे जस्ता ढिलासुस्ती भइरहेका छन् यिनले गर्दा पनि हाम्रो विकासको गतिमा तिव्रता आउन नसकेको भूल्नु हुँदैन भन्ने लाग्छ ।
तपाईंले चाहेर पनि गर्न नसकेका काम केही छन् ?
– माङसेबुङ र माङसेबुङवासीको हितमा हुने कुनै पनि काम हामी जो कसैले पनि चाहेका हुन्छौँ, चाहनु पर्दछ र हामीसँग भएको सामथ्र्य र जुक्तिलाई प्रयोग गरेर त्यस्ता कार्य पूरा गर्नुपर्दछ भन्ने लाग्छ । बजेटको हिसाबले ठूला परियोजना हुन सक्छन्, तर संघ र प्रदेश सरकारलाई गुहारेरै भए पनि सबैको सामूहिक प्रयासबाट विकासमा टेवा पु¥याऔँ भन्ने नै लाग्छ । बरु, जस्तोसुकै अवस्थामा पनि माङसेबुङ र माङसेबुङवासीको शिर झुक्ने काम गर्ने छैनौँ, जनप्रतिनिधिहरुको तर्फबाट यो हाम्रो सामूहिक प्रतिवद्धता हो ।
सञ्चार क्षेत्रसँग कसरी समन्वय गर्दै हुनुहुन्छ ?
– हाम्रो गाउँपालिका वास्तवमै सञ्चारमैत्री गाउँपालिकाका रूपमा परिचित छ भन्ने लाग्छ । किनकि स्थानीय सञ्चार माध्यम र राष्ट्रियस्तरका सञ्चार माध्यमहरुसँग हाम्रो सम्बन्ध मित्रवत छ नै । हामीले नेपाल सरकारको मापदण्ड पूरा गरेका सञ्चार माध्यमहरुलाई गाउँपालिकाले गरेका गतिविधिहरूबारे सूचित गर्न गराउन लोककल्याकारी सूचना उपलब्ध गराउने गरेका छौँ । आउँदो आ.व. बाट माङसेबुङ गाउँपालिकाले प्रकाशन गर्दै आएको माङसेबुङ बुलेटिन प्रकाशन कार्यलाई निरन्तरता दिँदैछौँ । माङसेबुङ गाउँपालिकाको विकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याउने नेपालका विभिन्न सञ्चार माध्यमहरूमा काम गरिरहेका पत्रकारहरूमध्ये एक जना पत्रकारलाई वर्षेनी सम्मान गर्ने कार्यक्रम समावेश गरेका छौँ । स्थानीय रेडियोको प्रसारण क्षमता वृद्धिमा ध्यान दिने गरी नीति कार्यक्रममा उल्लेख गरेका छौँ । समग्रमा सञ्चार क्षेत्रसँगको सम्बन्ध राम्रो छ ।
स्थानीय प्राकृतिक स्रोतसाधनको उत्खनन् र उपयोग कत्तिको व्यवस्थित गर्नुभएको छ ?
– यस कुरामा हामी अत्यन्त सचेत छौँ । किनकि हाम्रो सबै भन्दा धेरै भूभाग चुरे क्षेत्रमा पर्दछ । विज्ञहरुको भनाईमा चुरे क्षेत्र संवेदनशील भू–बनोट भएको क्षेत्र हो । यसर्थ, वातावरणीय अध्ययनका आधारमा मात्रै हामीले यहाँको प्राकृतिक स्रोतसाधनका रूपमा रहेको नदीजन्य सामग्री उत्खनन गर्ने गरेका छौँ । वन सम्पदाको संरक्षण र रूखजन्य वस्तुको बिक्री वितरणमा सतर्कताका साथ काम गरेका छौँ । वायो इन्जिनियरिङमा जोड दिएर सम्भावित भूक्षय र नदी नियन्त्रणमा गम्भीरताका साथ चासो दिएर लागि परेका छौँ ।
आर्थिक पारदर्शिता कसरी गर्ने गर्नुभएको छ ?
– आर्थिक मात्रै नभएर पारदर्शिता सबै कुरामा आवश्यक छ । जस्तो, सेवा प्रदान गर्ने कार्यमा भन्नुहोस् वा योजना छनौटमा भन्नुहोस् । अनुगमन कार्यमा भन्नुहोस् । हामी पारदर्शी छौँ । आर्थिक मामिलामा, सुशासनको मामिलामा हामी उत्कृष्ट हुने प्रयासमा छोँ । माङसेबुङ गाउँपालिकाका सबै सरकारी कार्यालयहरुमा, विद्यालयहरुमा गुनासो सुन्ने अधिकारी, सूचना अधिकारी तोकेका छौँ । प्रत्येक परियोजनाहरु सञ्चालन गर्दा परियोजनास्थलमा अनिवार्य त्यस बारे जानकारी दिनेगरी बोर्ड राखिन्छ । बजार अनुगमन र अन्य नियमन गर्नुपर्ने कामका सन्दर्भमा हामीले पारदर्शी ढङ्गले नै काम गरेका छौँ । सार्वजनिक खरिद ऐन अनुसार १० लाख भन्दा माथिको आयोजना अनिवार्य टेण्डर प्रक्रियामा लगेका छौँ । पालिका वा वडामा आवश्यक कुनै पनि जिन्सी, सवारी साधन खरिदमा ऐन अनुसार गरेका छोँ । पालिका र मातहतका सबै कार्यालयहरुमा आर्थिक मितव्ययिता अपनाएका छौँ । आवश्यक सेवा र सूचना दिने कार्यलाई प्रभावकारी बनाएका छौँ । सबै वडाहरुमा र पालिकामा समेत नियमित सर्वाजनिक सुनुवाई कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
स्थानीय तहको सवालमा संघ र प्रदेश सरकारको व्यवहार कस्तो पाउनुभएको छ ?
– नेपालको संविधानले हाम्रो मुलुकलाई सङ्घीय शासन प्रणालीमा लगेको छ । सङ्घयितालाई कार्यान्वयन गर्ने चरणमा हामीले तीन तहको सरकारको अभ्यास गरिरहेका छौँ । यी सरकारका बीचमा अधिकारको विकेन्द्रीकरण नभएर सङ्घीयतामा अधिकारको विभाजन वा विन्यास हुने गर्दछ । अधिकारका सन्दर्भमा संविधानको अनुसूचीमा नै तीनै तहका सरकारहरुको साझा सूची र अलग अलग सूची त्यस कारण पनि उल्लेख भएको होला । तर, कतिपय अवस्थामा सङ्घीय सरकारले बनाउने पर्ने कानुनहरु नबनेको अवस्था विद्यमान छन् । प्रदेश सरकारहरुले पनि ऐन निर्माण गर्न सकिरहेका छैनन, त्यसको प्रत्यक्ष असर स्थानीय तहमा परेको छ । किनकि आम नागरिकले पहिलो पटक भेट्ने र अनुभूत गर्ने सरकार नै स्थानीय तह हो । जनताको दैनिक जनजीवनका सवाल, जन्म, विवाह, मृत्यु, नागरिकतालगायत विभिन्न सिफारिस इत्यादि अर्थात सेवा प्रदान गर्ने पहिलो सरकार नै स्थानीय तहहरु हुन् । त्यसैले संघ र प्रदेश सरकारले स्थानीय तहहरुको यो जिम्मेवारीलाई बुझेर सहज किसिमले सेवा दिन सक्ने गरीको वातावरण निर्माण गर्नुपर्दछ भन्ने लाग्छ । समग्रमा व्यवहारिक रूपले साथ सहयोग राम्रै छ ।
अन्त्यमा थप केही भन्न चाहानुहुन्छ ?
–यति धेरै कुरा भनिसकियो । काम भन्दा पनि कुरै मात्र बढी गर्दोरहेछ भन्ने नहोस् । थप केही नभनौँ ।