बजेटको अपुगले योजनाहरु अन्योल छन् - Mangsebung News
  • बिहिबार, बैशाख ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बजेटको अपुगले योजनाहरु अन्योल छन्

माङसेबुङ गाउँपालिका वडा नम्बर ४ को समग्र विकास निर्माणको सम्भावना र चुनौती साथै नागरिकहरुको सेवा सुविधाको विषयमा वडा अध्यक्ष नविन लिम्बूसँग माङसेबुङ न्युजले गरेको कुराकानी :

तपाई जनप्रतिनिधिको रुपमा वडा अध्यक्ष निर्वाचित भएर आउनु भएको पनि दुई वर्ष पूरा भयो, यो दुई वर्ष पूरा भईरहँदा कस्तो महसुस गरिरहनुभएको छ ?

–महसुस गर्नु भन्दा पनि अहिले हामीले चाहे जस्तो कामहरु गर्न सकिरहेका छैनौ । सबै काम अप्ठ्यारो नै छ । र यो सबै हुनुमा अहिलेको देशको आर्थिक स्थिती एकदमै खस्किँदो अवस्था हुनु नै मुख्य कारण हो । देशको आर्थिक अवस्था खस्किनुले गर्दा हामीलाई काम गर्न समस्या भएको छ ।

यो दुई वर्षमा विकास निमार्णका गतिविधिका आधारमा विगत र अहिले तुलना गर्दा आफूलाई कहाँ पाउनु हुन्छ ?

–विगत र अहिलेको तुलना गर्ने भन्दा पनि, सबैले आ–आफ्नै तरिकाले काम गरेका छौं जस्तो लाग्छ । किनभने म भन्दा अघिल्लो वडा अध्यक्षज्यूले मैले पनि धेरै काम गरेर गएको छु भन्ने उहाँलाई पनि महसूस छ । र मेरो कार्यकाल अहिले दुई वर्ष वित्दै गर्दा आफ्नो वडालाई माथि लानलाई आफूले सकेको काम गर्ने मैले पनि कोसिस गरेको छु जस्तो लाग्छ ।

निर्वाचनको समयमा जनता सामू गर्नु भएका प्रतिबद्धताहरु कति पूरा गर्नु भएको छ ?

–मैले सुरुमा आफूले उम्मेदवारी दिइरहँदा मेरो प्रतिबद्धतामा जतिपनि सुरुवात भएका अधुरो कामहरुलाई पुर्णता दिन्छु भनेको थिए । माङसेबुङ ४, लाई हेर्ने हो भने, विद्युतमा धेरैपछि थियौं, अझै पनि पछि छौं । अब यसो भनिरहँदा यो भन्दा अघि पनि विद्युत कै कुरा निस्किएको थियो भन्ने सवाल उठ्न सक्छ । तर, पनि त्यसो नभएर विद्युतकै कुरा गर्नुपर्ने हुन्छ । हुन त हामी दमकदेखि एकदमै नजिक छौं । त्यसैगरी हाम्रै छिमेकी वडा ५, माङसेबुङ लारुम्बामा अहिले भन्दा लगभग ५, ७ वर्ष अगाडि विद्युत आइसकेको थियो । त्यहाँका जनताहरुले बत्ति बालिसकेका थिए । त्यति नजिक छिमेकमा बिजुली बत्ति बलिरहँदा हाम्रो वडामा भने एउटा बल्व समेत झुन्डाइएको थिएन । हामी त्यतिसम्म पछि थियौं । तर, जब म निर्वाचित भएर आए, मेरो कार्यकाल दुई वर्ष बित्दै गर्दा भौगोलिक विकटताका वावजुत अहिले हाम्रो वडामा विद्युतको काम ७० प्रतिशत पूरा भएको छ ।

यसैगरी सडक बाटोको कुरा गर्दा भौगोलिक हिसाबले हाम्रो वडाको माटो चुरे क्षेत्र भएको हुनाले सडक मर्मत गर्ने, स्तरोन्नति गरेपनि भत्किने क्रमछ । हामीले केहीँ बाटो सडकहरु बाह्रैमास चलाउने कोशिस गरेका छौं । जुन चाहिँ मार्चेवुडदेखि सिमलटारसम्म जाने सडक बनाएको छौं । हुन त पहिला पनि, बाटो नभएको त होइन तर, पनि अहिले ग्राबेल गरेर बाह्रैमास चल्ने बनाएका छौं ।

तपाईको वडाको शिक्षा, स्वास्थ्य र खानेपानीको अवस्था के, कस्तो छ ?

–अब समग्रमा हेर्ने हो भने, शिक्षामा राज्यको ठूलो लगानी छ । त्यो सँगसँगै हामीले हाम्रो वडाले पनि, शिक्षालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने एकदम ठूलो चासोको विषय बनाएका छौं । मानवलाई चाहिने शिक्षा, स्वास्थ्य र खानेपानी अति आवश्यक भएको हुनाले, हामीले यसलाई एकदमै पहिलो प्राथमिकतामा राखेका छौं । हाम्रो वडामा एउटा स्वास्थ्य चौकी छ । त्यसैगरी खानेपानी समस्या समाधान गर्ने कोशिसमा छौं ।

तपाईको वडामा आउने बजेटको पर्याप्तता कस्तो छ ?

–बजेट वडाको लागि पर्याप्त छैन् । स्थानीय सरकारले दिन सकेकै छैन् ।

तपाईको वडामा कुन कुन महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यहरु छन ? तिनीहरुको विकास र प्रवद्र्धनमा के कस्ता कामहरु गर्नुभएको छ ?

–हाम्रो ४ नम्बर वडामा पनि महत्वपुर्ण धार्मिक पर्यटकीय गन्तव्यहरु छन् । जसमा अन्धा राजा अन्धा रानी दरबार छ । अँधेरी झरना, चमेरे गुफा छ । किरात साकेला साहुन माङखिम छ । सेमिचोङ भवन र चर्चहरु छन् । बजेटको अपुगले गर्दा यी सबैको प्रवद्र्धन गर्न भने नसकिरहेको अवस्था छ ।

तपाईको वडालाई समृद्ध बनाउन तपाई कै कार्यकालमा गर्नैपर्ने तपाईका योजनाहरु के के छन् ?

–मेरो कार्यकालमा गर्नैपर्ने हामीसँग त्यस्ता योजनाहरु कैयौं छन् ।. अहिले यहाँ भनेर साध्यनै छैन् । अहिले बोल्दा झुटो बोले जस्तो हुन्छ । तर, पनि हामीले हाम्रा योजनाहरु माथिल्लो निकायसम्म मागेका छौं । हामीले हामी भन्दा माथिल्लो निकायमा स्वास्थ्य, स्कूल अनि खानेपानी र सडकको लागि एकदम कोसिस गरेका छौं ।

हाम्रो वडामा खानेपानीको अवस्था राम्रो भएपनि सबैतिर राम्रो छैन् । कुनै ठाउँमा मुहान छैन् । मुहान नभएको ठाउँहरुमा पनि हामीले लिफ्टीङ सिस्टमले खानेपानी पुर्याउने कोशिसमा छौं । २, ३ ठाउँको लागि हामीले योजना पनि तयार गरेका छौं । तर, यो हाम्रो योजना अनुरुप काम गर्नलाई सबै भन्दा पहिले बजेट चाहिँन्छ । हामी अड्किने ठाउँ भनेकै बजेटमा हुन्छ । हामीले चाहे जस्तो बजेट हुने भने, हाम्रो वडा समृद्ध बनाउँछौं ।

अन्त्यमा तपाईको वडावासी जनतालाई के भन्न चाहनु हुन्छ ?

–म ४ नम्बर वडाबासी जनतालाई के भन्न चाहन्छु भने, मेरो काम गर्ने तरिका, शैली फरक छ । त्यसैलै त्यो वहाँहरुका कतिलाई मन पर्छ, कतिलाई मन पर्दैन । तर, साथ सहयोग दिनुहोस् भन्न चाहन्छु । मैले चाहेको जस्तो र तपाईँहरुले चाहनु भएको जस्तो बनाउन सक्ने हिसाबले काम गर्ने कोशिस गर्छु । त्यसैले मिलेर काम गरौं, मलाई सहयोग गर्नु हुन अनुरोध गर्दछु ।

सम्बन्धित खवर