नागरिकहरुको भावनालाई आत्मसम्मानको अनुभूति गराउन प्रयत्नरत छु - Mangsebung News
  • बुधबार, कार्तिक २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नागरिकहरुको भावनालाई आत्मसम्मानको अनुभूति गराउन प्रयत्नरत छु

माङसेबुङ गाउँपालिका वडा नम्बर ५ को समग्र विकास निर्माणको सम्भावना र चुनौती साथै नागरिकहरुको सेवा सुविधाको विषयमा वडा अध्यक्ष नरेन्द्रकुमार राईसँग माङसेबुङ न्युजले गरेको कुराकानी स्

तपाई जनप्रतिनिधिको रुपमा वडा अध्यक्षमा पुनः निर्वाचित भएर आउनु भएको पनि दुई वर्ष पुरा भयो, यो दुई वर्ष पूरा भईरहँदा कस्तो महसुस गरिरहनु भएको छ ?

–जनप्रतिनिधि भएको अघिल्लो कार्यकाल सहित ७ वर्ष भयो । तर, दोस्रो कार्यकालको चाहिँ दुई पूरा भएको हो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि जनताले वा हामी देशका नागरिकहरुले जे अपेक्षा गरेका थियौ, जे आशा राखेका थियौं । त्यो आशा र भरोसालाई मुलुक हाँक्ने राजनीतिक दल, दलका नेताहरू र देशलाई नेतृत्व गर्ने मान्छेले अपेक्षाकृत काम गर्न नसकेको होकी ? जसरी संघीयतालाई समुदाय स्तरसम्म संस्थागत गर्ने अपेक्षा जनताको चाहना भावना थियो । त्यो गर्न नसकेको भन्ने आभास हामी स्थानीय सरकारमा रहनेहरुलालाई पनि अनुभूति भएको छ । र, जनताहरु संघीयताप्रति नै आशंका गर्ने अवस्थामा पुगेको हो की भन्ने महसुस भएको छ । त्यसो भएको हुँदा, हामीपनि सुन्तुष्ट छैनौ । जति गर्नुपर्छ भन्ने हिसावले हामी अगाडि सपना बाँडेर लाग्यौं, त्यति गर्न सकेका छैनौं भन्ने मलाई अनुभूति भइरहेको छ ।

यो दुई वर्षमा विकास निमार्णको गतिविधिका आधारमा विगत र अहिले तुलना गर्दा आफूलाई कहाँ पाउनु हुन्छ ?

–विगतमा संघीयताको स्थापनापछि, हामी पहिलो स्थानीय सरकारमा सामेल भएर काम गर्दै जाँदा, बजेटको भल्युम पनि सुरुवातीमा सामान्यतया राम्रै थियो । र त्यो अनुसारका हामीले सामाजिक विकासका कामहरु, शैक्षिक विकासका कामहरु, पूर्वाधार विकासका कामहरु गर्यौं । र, त्यहीँ रेसियोमा आगामी चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन हुन्छ भन्ने हाम्रो चाहना थियो । र अहिले पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा आर्थिक मन्दीको कारण कोरोना कहर आदि विभिन्न घटना र परिघटनालाई बहाना गर्दै, मूलुक नै आर्थिक मन्दिको ठूलो चोपेटामा परेको भन्ने हिसाबले संघीय सरकार र प्रदेश सरकारमा बनेका बजेटहरू स्थानीय सरकारमा नियमित आउनुपर्ने बजेट कटौती हुँदै आएकोले गर्दा, अपेक्षाकृत बजेटपनि छैन्। त्यसकारण हामीले अपेक्षा गरेको त्यस्तो राम्रो कामहरु गर्न सकेका छैनौं । यद्यपी सानातिना आएको योजनाहरू सबै क्षेत्रमा मिलाएर जनताको अति आवश्यकता र पहिलो प्राथमिकतामा राख्नुपर्ने, सामान्य जनतासँग प्रत्यक्ष रुपमा जोडिएको जनसरोकारको विषयहरुमा काम गर्दै आाएका छौं ।

निर्वाचनको समयमा जनता सामू गर्नु भएका प्रतिबद्धताहरु कति पूरा गर्नु भएको छ ?

–हामीले जनता कहाँ त्यत्रो ठूलो सपना पनि बाँडेनौं । अब, सामान्यतय स्थानीय सरकारले गर्ने कामहरु स्थानीय सरकारले सञ्चालन गर्ने कानुन भनेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ हो । त्यसको परिधिभित्र रहेर गर्ने जिम्मेवारी बहन गर्छौ भनेर हामी हिजो चुनावी उम्मेद्वारमा हिँडिरहँदा जनतासामू गएका थियौं । त्यो नैतिक कर्तव्यलाईनै नागेर कुनै काम गरेका छैनौं । र, गर्न पनि हँुदैन भन्ने मेरो मान्यता हो । त्यसो हुँदा जति हामीसँग बजेट स्थानीय सरकारमा आएको छ । त्यो वडास्तरसम्म आएको बजेटलाई जनताको घरदैलोसम्म, हरेक टोल बस्तीसम्म लाने काममा कुनै आग्रह पूर्वाग्रह नगरीकन लगेका छौं र गरेका छौं । अहिलेको सचेत नागरिकले बुझेको छ भन्ने मलाई लाग्छ । त्यसो हुँदा त्यस्तो धेरै अनपेक्षित कामहरु जनतासामू गरेका छैनौ भन्ने मलाई विश्वास छ ।

तपाईको वडाको शिक्षा, स्वास्थ्य र खानेपानीको अवस्था के, कस्तो छ ?

–यो वडामा शिक्षाको हिसावले हामीसँग एउटा मा.वि. अनि एउटा प्रा.वि. सामुदायिक र बोर्डिङ र मन्टेश्वरी स्कूल छ । त्यसमा पनि हाम्रो मा.वि. चाहिँ पालिकाको उत्कृष्ट विद्यालयमा परेको र नतिजाको हिसाबले पनि उत्कृष्ट भएको हुनाले प्रदेशको पालिका छनौटमा नमूना विद्यालयमा परेको छ । त्यसो हुँदा भौतिक र अहिलेको प्रविधिको हिसाबले प्रदेश सरकारबाट वार्षिक रुपमा राम्रै बजेट आइराखेको छ । त्यहीँ अनुसार विद्यालय व्यावस्थापन समिति र विद्यालय परिवारले काम गरिरहेको छ । म पनि वडा अध्यक्षको हैसियतले विद्यालयको पदेन सदस्यको हैसियतले त्यहाँ प्रत्यक्ष सहभागी छु । पहिला जति हामी गुज्रिएर बसेका थियौं । समुदायका नागरिकहरु, अभिभावकहरु हामी यथास्थितीमा र सामुदायिक विद्यालयप्रति जति उदासिन थियौं । त्यो चाहिँ अलि बदलिंदो र सामुदायिक विद्यालय, सरकारी विद्यालयहरुमा भरोसा छ है भन्ने किसिमको मोडमा पुगेका छौं । त्यसमा पनि अहिले सरस्वती मा.बि भालुटारले चाहिँ १ देखि ५ कक्षासम्म नै अङग्रेजी मिडियम बनाएर गएकोले अलिकति त्यहाँ पनि जनआस्था बढेको छ । त्यसलाई अझै नतिजा र शैक्षिक सुधारको हिसाबले लाग्नुपर्छ भनेर मैले भनेको छु । त्यहीँँ अनुसार विद्यालय परिवार लागेको छ भन्ने मलाई विश्वास छ ।

खानेपानीको कुरा गर्दा चाहिँ अब हाम्रो प्रयत्नको हिसाबले त पर्याप्त प्रयत्नहरु बढेका छन् । पूराना योजनाहरुलाई सकेसम्म सुधारेर लाने भन्ने कुराहरू छन् । अब नयाँ आयोजनाको प्रोजेक्टको हिसाबले संघीय सरकारको संघीय खानेपानी डिभिजनबाट यहाँ २८ करोडको माङसेबुङ लिफ्टीङ कार्यक्रम सञ्चालन भइरहेको छ । त्यो अन्तिम चरणमा पुगेको छ । तर, ठेकेदारले अपेक्षाकृत कामको प्रगति नगरेकोले गर्दा अहिले नै सञ्चालनमा आइसकेको अवस्था छैन् । त्यो योजना सञ्चालन भएपछि सामान्यतय हामीलाई जति अहिले खानेपानीमा दुःख भोग्नु परेको छ त्यो चाहिँ हुँदैन भन्ने आशा छ । हाम्रो मुहानहरु चाहिँ अहिलेको यो विकासको नाममा बाटो खन्ने र जंगल फडानीको कारणले यहाँ आउने मुहानहरु जिर्ण र जोखिम अवस्थामा छन् । र वर्षेनी रुपमा वर्षातको याममा यहाँका नागरिकहरु दूषित खानेपानी प्रयोग गर्न बाध्य छन् । अब त्यसलाई कसरी सुधार गरेर लाने भन्ने यहाँका सामाजिक व्यक्तित्वहरुको चिन्ता रहेको छ । यसलाई पनि सुधार गर्नुपर्छ भन्ने हाम्रो पनि मान्यता छ ।

स्वास्थ्यको अवस्था भन्नु पर्दा, हाम्रो वडा नं. ५ कै छिमेकमा रहेको आत्मानन्द स्वास्थ्य इकाइ संस्थामा गाउँपालिका कै. १५ शैयाको अस्पताल बनाउने भनेर स्थानीय सरकारले निर्णय गरेको छ । जुन वडा नं. ३ मनिपुरमा रहेको अस्पताल बर्थिङ सेन्टरको रुपमा सञ्चालन गर्ने भनेर निर्णय पालिकाले गरेको छ । छिमेकीको हिसाबले हाम्रो पनि सेवा प्रदायक संस्था भनेको त्यहीँ नै हो । तर, त्यसलाई पनि बर्थिङ सेन्टरको रुपमा स्थानीय सरकारले पूर्ण रुपले बनाउन नसकेको अवस्था छ । त्यसो हुँदा हामी अहिलेसम्म परनिर्भर नै छौं । इमरजेन्सी समस्या आइपर्यो भने हामी दमकमै जानु पर्ने बाध्यता छ । वडाको एउटा लारुम्बा स्वास्थ्य इकाइ छ । त्यहाँबाट सामान्य औषधिहरु सरकारले निशुल्क प्रदान गर्दै आइरहेको छ ।

वडाको छुट्टै योजना भन्न त मिलेन । तर, यहाँका संघ संस्थाहरुको परिकल्पनाहरु आएको छ । त्यो प्रोसेस अगाडि बडेको छ होला । सम्भव भयो भने यहाँ परमपुजनीय गुरुदेवको पनि आश्रम भएकोले गुरुज्यूको आग्रहले उहाँको भावना चाहना अनुसार एउटा आत्मापवित्र अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने हो की ? भन्ने कुराहरु पनि छन् । त्यसको लागि केहीँ कागजात तयारीहरु, जग्गा प्राप्तिका कुराहरु अगाडि बढेको भन्ने मलाई जानकार छ । अब, त्यो प्रकृया अगाडि बढी सकेपछि त्यो पनि सम्भावना छ ।

तपाईको वडामा कुनकुन महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यहरु छन ? तिनीहरुको विकास र प्रवद्र्धनमा के कस्ता कामहरु गर्नुभएको छ ?

–माङसेबुङ ५, भनेको विश्व किरातीहरुको धार्मिकस्थल पनि भएकोले सबैले आस्था राखेको चोत्लुङको रुपमा रहेको स्थल पनि हो । अर्को चाहिँ विश्वका किरात धर्मावलम्बीहरुको आस्थामा विराजमान किरात धर्मगुरु गुरुआमाज्यूहरुको पनि आश्रमस्थल पनि भएको पुण्य भूमि हो । यसरी संसारले यस ठाउँलाई आस्था गरेर हेरेर बसेको हुन्छ । त्यसैले ती चिजहरुलाई प्रवद्र्धन गर्न स्थानीय सरकारले पनि कन्जुस्याई गर्नु हुँदैन भनेर मैले सधै भन्ने गरेको छु । सामान्यतय एउटा स्थानीय सरकारको पनि कान्छो तह वडा सरकारको हिसाबले मैले सम्भव भएसम्म आश्रमको स्तरोन्नतीका कुरा र यहाँ धार्मिकस्थल माङसेबुङ जहाँ किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति र किरात हाङसाम मुजोत्लुङ माङहिम छ । तिनीहरुलाई सामान्यतय हरेक आर्थिक वर्ष मैले केहीँ योजनाहरु छुट्याउने गरेको छु । काम भइराखेको पनि छ ।

अब, माङसेबुङ भइहाल्यो । रिङरोड भइहाल्यो । गुरु आश्रमको सबलीकरणको कुराहरु छन् । अनि गुरुज्यूले स्थापना गर्नुभएको हेलिप्येडका कुराहरु छन् । अनि त्यो बाहेक फुलुङगी तीर्थमार्गका कुराहरु छन् । अनि किरात धर्मगुरु आत्मानन्द लिङदेन लगायत राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दले तपस्या गरेको पुण्यभूमि वडा नं. ३ मा परे पनि, हाम्रै काखमा रहेकोले त्यसलाई सबलीकरण र श्रृङ्गारका कुराहरु छन् । त्यसको अलवा वडाभित्रै रहेका परम्परागत रुपमा मानीपूजी ल्याएका विभिन्न देवीदेउराली मन्दिरहरु छन् । ती कुराहरुलाई पनि सबलीकरण गर्न आवश्यक छ । यस्तै मझुवामा अलौकिक देवीको रुपमा अठासीधामको रुपमा एउटा मन्दिर छ । त्यसलाई पनि सोचिराखेको छु ।

विकासका पूर्वाधारहरु निर्माण गर्ने काममा यो २ वर्षमा जनताले महसुस गर्ने गरी कामहरु के के भए ?

–हामीले अब त्यस्तो महत्वपूर्ण ठ्याक्कै ठूलै कुरा गर्यो भन्ने त मलाई लाग्दैन । यद्यपी यहाँको जनताको चाहना, भावना र इच्छालाई बुझेर काम गर्ने हामीले प्रयाससम्म गर्यौं । त्यसमा ठ्याक्कै के गर्नु भयो भन्ने प्रश्नकै आसयले प्रश्न गर्नु भएकोमा भौतिक हिसाबले हामीले धेरै काम त गर्यो तर ठ्याक्कै यहीँ चाहिँ महत्वपूर्ण हो भनेर भन्न सक्दैनौ । तर, विद्यालय भवनका कुराहरु भयो । स्वदेश विदेशबाट भक्तजनहरू आएर गुरु दर्शन गर्ने आश्रम भित्रका दर्शनशाला भयो । जुन चाहिँ हामीले वडाबाट थालनी गरेर पालिकाको समेत सहयोगमा अहिले करिब १ तला प्रयोग गरेर दोस्रो तलाको पनि आधाकाम सम्पन्न भएको छ । अनि टोल टोलमा जाने बाटोका कामहरु गरेका छौं ।

र, अर्को महत्वपूर्ण चाहिँ हामीले बहुसंख्यामा रहेको नागरिकहरुको एउटा भावनालाई आत्मसम्मानको अनुभूति गराउनको लागि अपन्नत्व गराउनको लागि वडा नं. ५ मा करिब ६० प्रतिशत नागरिकहरुले बोल्ने किरात लिम्बूू भाषालाई सरकारी कामकाजको भाषाको रुपमा २०७५ सालमा घोषणा गरेर सरकारी कार्यालयमै प्रयोगमा ल्याएका छौं । जो एउरा साझा नेपाली देवनागरी लिपीलाई राज्यले एकतर्फी रुपमा सञ्चालन गरेको थियो त्योसँग बराबरी साझेदारीको रुपमा हामीले किरात लिम्बू भाषालाई प्रयोग गर्ने प्रयास गरेका छौं । वडाबाट सेवा प्रवाह गरिने सबै किसिमका सिफारिस लगायत घटना दर्ता, जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्तासम्ममा हामीले किरात लिपीलाई पनि प्रयोग गरेर दिने गरेको छौं । र, यहाँबाट सिफारिस भएको पत्र सिडिओ कार्यालयदेखि प्रदेश, संघ, प्रधानमन्त्रीको कार्यालय र राष्ट्रपतिको कार्यालयसम्म पनि हामीले लेटरप्याड लगायत जति सरकारी निशानहरुसमेत किरात लिपीलाई प्रयोग गरेर दिने गरेका छौं । यो चाहिँ एउटा राष्ट्रको लागि नमूनाको रुपमा लिने गरिएको छ ।

अन्त्यमा तपाईको वडावासी जनतालाई के भन्न चाहनु हुन्छ ?

–सम्पूर्ण ५ नम्बर वडाबासी जनताहरुलाई मेरो तर्फबाट शुभकामना छ । सबैले सकारात्मक विचारको विकास गरौं र सबै सामाजिक काममा, शैक्षिक काममा, समाजको भलाईको काममा हामी एकता हुन सकौं, एकता भएर हामी अगाडि बढ्न सकौं भन्ने म सन्देश दिन चाहन्छु ।

सम्बन्धित खवर