माङसेबुङ गाउँपालिका वडा नम्बर ६ को समग्र विकास निर्माणको सम्भावना र चुनौती साथै नागरिकहरुको सेवा सुविधाको विषयमा वडा अध्यक्ष प्रदिप साम्पाङ राईसँग माङसेबुङ न्युजले गरेको कुराकानी :
तपाई जनप्रतिनिधिको रुपमा वडा अध्यक्ष निर्वाचित भएर आउनु भएको पनि दुई वर्ष पूरा भयो, यो दुई वर्ष पूरा भईरहँदा कस्तो महसुस गरिरहनु भएको छ ?
–सामान्य सन्तोसजनकनै भन्नुपर्छ । जनताको आवश्यकतालाई आवश्यकता अनुसार काम गर्ने कोसिस गरिराखेका छौं ।
यो दुई वर्षमा विकास निमार्णका गतिविधिका आधारमा विगत र अहिले तुलना गर्दा आफूलाई कहाँ पाउनु हुन्छ ?
–केहीँ मात्रामा फरक छ । विगत ५ वर्षमा गर्न नसकेको कामहरुलाई अहिले दोस्रो कार्यकालमा निरन्तरता दिइराखेका छौं । अहिले माङसेबुङ वडा नं. ६, लाई पूर्ण विद्युतीकरण गर्न लागि परेका छौं । यो भन्दा अगाडि माङसेबुङ वडा नं. ६ मा राष्ट्रिय प्रसारण लाइनको विद्यूतीकरण जिरोनै थियो । तर अहिले हामीले त्यो कामलाई ९५ प्रतिशत सफल पारेका छौं । अब केहीँ बाँकी छ । यो एक–दुई महिनाभित्रमा हामी ६ नं. वडालाई पूर्ण विद्युतीकरणको घोषणा गर्ने तयारीमा लागिराखेका छौं ।
निर्वाचनको समयमा जनता सामू गर्नु भएका प्रतिबद्धताहरु कति पूरा गर्नु भएको छ ?
–हामीले केहीँहदसम्म गरेपनि स्थानीय सरकारको एउटा वडा अध्यक्षले गर्न सक्ने त्यस्ता ठूलठूलो प्रतिबद्धताहरु जाहेर गरेनौं । गरेका थिएनौं पनि, त्यस्तो ठूलो आशा देखाएका पनि थिएनौं । सानातिना वडाले गर्न सक्ने, स्थानीय सरकारले गर्न सक्ने कामहरुको हामीले केहीँ प्रतिबद्धताहरु जाहेर गरेका थियौं । त्यसमा बाटो, बिजुली र खानेपानी यी कामहरुलाई हामीले निरन्तरता दिइराखेका छौं । यो भन्दा अगाडि मैले भनिसकें, अब पूर्ण विद्युतीकरणको लागि हामी तयारी अवस्थामा छौं ।
तपाईको वडाको शिक्षा, स्वास्थ्य र खानेपानीको अवस्था के, कस्तो छ ?
–समग्रमा हेर्दा ठीकै छ । अहिलेसम्म त्यति साह्रो नाजुक स्थिती पनि छैन् । शिक्षा, स्वास्थ्य र खानेपानीको अवस्था ठीकै छ । भर्खरै मात्र वडाले पूर्ण खोपको घोषणा पनि गरिसकेको छ ।
विकासका पूर्वाधारहरु निर्माण गर्ने काममा यो २ बर्षमा जनताले महसुस गर्ने गरी कामहरु के के भए ?
–यो दुई वर्षको अवधिमा हामीले ६ नम्बर वडाको मुख्य भनेको वि.पि. मार्ग जो हाम्रो गुरु विद्याप्रसादको नाममा निर्माण भएको थियो । त्यो सडकलाई ९ किलोमिटर ग्राबेल गर्न सफल भएका छौं । र, बाँकी काम यसलाई चाहिँ दोभानसम्म छिराउने भन्ने लक्ष्य रहेको छ ।
तपाईको वडामा आउने बजेटको पर्याप्तता कस्तो छ ?
–बजेट त अब, सामान्य हो । सोचेको जस्तो बजेट स्थानीय सरकारले दिन सकेको छैन् । थोरै वडा सिलिङ बजेटमा धेरै काम गर्नुपर्छ ।
तपाईको वडामा कुनकुन धार्मिक पर्यटकीय गन्तव्यहरु छन ? तिनीहरुको विकास र प्रवद्र्धनमा के कस्ता कामहरु गर्नुभएको छ ?
–६ नम्बर वडामा धार्मिक पर्यटकीयस्थलहरु थुप्रै छन् । एउटा माङमालुङ भयो । जुन चाहिँ वडा न. २, ३ र ६ को दोसाँधमा पर्छ । अर्को विभिन्न मठमन्दिरहरु छन् । चर्चहरु छन् । विराट ज्योति माङहाङ मन्दिर, विष्णुलय मन्दिर छ । एउटा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द गुरुले उद्घाटन गर्नु भएको मन्दिर पनि छ । जुन चाहिँ हामी शिवालय मन्दिर भन्छौं, पञ्चमी बजारदेखि केहीँ पर छ । हाम्रो अहिलेको वर्तमान गुरु आत्मानन्द लिङदेनज्यूले पनि त्यहाँनेरी पाइला टेक्नू भएको भन्ने कुराहरु बुढापाकाले गर्नु हुन्छ । तीनथुम्की भ्युटावर, पाङ्बुहाङ दरबार (गुफा) लगायत धेरै छन् । तर, हामीले बजेटको कमीले गर्दा सोचे अनुसार यसलाई प्रवद्र्धन गर्न सकिराखेका छैनौं ।
विकासका पूर्वाधारहरु निर्माण गर्ने काममा यो २ वर्षमा जनताले महसुस गर्ने गरी कामहरु के के भए ?
–गर्वको साथ भन्नुपर्दा अहिले जनतासँगै हामीले रिलेटेड कामहरुलाईनै अगाडि प्राथमिकता दिएका छौं । अघिनै भनि सके वि. पी. मार्गलाई स्तरोन्नति गर्दै, ग्रावेल गर्ने कामहरु सम्पन्न गरेका छौं । अब यसलाई कालोपत्रेसम्म गर्नुपर्छ भन्ने हिसाबले म अगाडि बढी राखेको छु । संघीय सरकार र प्रदेश सरकारसँग माग पनि राखी राखेका छौं ।
अन्त्यमा तपाईको वडावासी जनतालाई के भन्न चाहनु हुन्छ ?
–सबैलाई धन्यवाद दिन चाहन्छु । दोस्रो कार्यकालको लागि पनि उहाँहरुले मलाई नै चुन्नुभयो र उहाँहरुले सोचे अनुरुप काम गर्न नसके पनि, मेरो आफ्नो बुद्धि विवेकले भ्याएसम्म ६ नं. को विकास र समृद्धिको लागि त्यहाँको जनताको आर्थिक अवस्था सुधार्नको लागि मैले गर्नु पर्ने ठाउँमा पहल गरिराखेकै छु । र, ६ न. वडाको विकासको लागि, कहाँ–कहाँ पुग्नुपर्छ, के के गर्नु पर्छ त्यो सबै मैले कोसिस गरिनै राखेको छु । विशेष गरेर ६ न. वडाको सम्पूर्ण आमनागरिकहरुप्रति धन्यवाद दिन चाहन्छु ।