भदौ ५, इलाम । इलामको चियाबारीमा अवस्थित मनिबहादुर स्मृति समाधिस्थलमा अतिक्रमण भएको भन्दै समाधिस्थल सरोकार समितिले इलाम नगरपालिका प्रमुखको ध्यानाकर्षण गराएको छ ।
परापूर्व कालदेखि किराती समुदाय र किरात धर्मावलम्बीहरुले मानव शव दफन गर्दै आएको समाधिस्थलमा पछिल्लो समय अज्ञात समुहले सो क्षेत्रको ढुङ्गागिटी निकालेको पाइएको उल्लेख सरोकार समितिले एक विज्ञप्ती सहित नगरप्रमुखलाई अतिक्रमण बारे अनुरोध पत्र बुझाएको छ ।
विज्ञप्तीमा चियाबारी बीचमा पर्ने जनभवन देखि पश्चिम बालन गाउँ सम्मको क्षेत्रमा डोजर लगाएर ढुङ्गागिटी निकालिएको जस्का कारण समाधिस्थल पहिरोको चपेटामा परेको उल्लेख गरिएको छ ।
सो समाधिस्थलमा किरात समुदायको मात्र नभइ इलाम अस्पतालमा वेवारिशे बनेका शवहरुलाई पनि दफन गर्ने गरिएकाले यो क्षेत्रलाई गम्भीर ढंगले लिन नगरपालिका सँग आग्रह गरिएको समाधिस्थल सरोकार समिति इलामका अध्यक्ष राजु राईले बताए ।
‘सरोकारवाला समुदाय र विविध धर्मावलम्बीहरुको पहिचान माथिनै आक्रमण भएको हामीले महशुस गरेका छौं’ अध्यक्ष राईले भने, ‘यो कार्यलाई तत्काल रोक्न आग्रह गरेका छौं ।’
समाधिस्थल अतिक्रमणको विरोधमा समाधिस्थल व्यवस्थापन तथा पहिचान समिति, नेपाल आदिबासी जनजाति महासंघ इलाम, किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ इलाम, किरात सुनुवार सेवा समाज इलाम र किरात याक्खा छुम्मा इलामले ऐक्यबद्धता जनाएका छन् ।