भदौ ९, इलाम । इलामको माई नगरपालिका–९ मालबाँसेमा ९० मिटर बाटोको भाग नै पहिरोले भत्काएपछि यातायात आवागमन अबरुद्ध हुनुका साथै पहिरोको जोखिमले तीन घर परिवार विस्थापित भएका छन् ।
इलाम सदरमुकामलाई झापासँग सबै भन्दा नजिकको दुरीमा जोड्ने पुरानो सुखानी–दानबारी–राजदुवाली सडक निर्माण सम्पन्न नहुँदै पहिरोको चपेटामा परेको छ । भदौ ३ गते बिहान ४ बजे पहिरोले सडकको ९० मिटर खण्ड र सडकको सुरक्षामा प्रयोग गरिएको तारजालीसमेत बगाएको थियो ।
पहिरो खसेर स्थानीय प्रकाश खापुङ लिम्ब, उनका भाइ सुरज खापुङ लिम्बू र उनीहरुको चेलीको समेत गरी तीन घर परिवारका १८ जना विस्थापित भएका छन् । सुरजकी एक महिनाको सुत्केरी श्रीमतीसहित अहिले उनीहरु छिमेकीको जमिनमा अस्थायी टहरा बनाएर बसेका छन् ।
शुक्रबार पहिरोले लगेको सडक अनुगमन गर्न र विस्थापित खापुङ परिवारलाई भेट्न प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य समशेर राई, इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी कलपना श्रेष्ठ जिल्लाका सुरक्षा प्रमुखहरु र पूर्वाधार विकास कार्यालय झापाका प्रमुख डिभिजन इन्जिनिरयर जितेन्द्र कुमार कर्णसहितको टोली मलबाँसे पहिरोस्थलमा पुगेको थियो ।
तर, बिर्तामोडबाट गएको प्रदेश सभा सदस्य राईसहित पूर्वाधार कार्यालयको टोली र इलामबाट आएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठ नेतृत्वको सुरक्षाकर्मीको टोली सडक अवरोधका कारण वारीपारी नै हेराहेर गरेर फर्किएका थिए ।
भदौ ३ गते बिहानको पहिरो सम्झिँदै प्रकाश भन्छन् –‘घर माथिसम्म पहिरो आएको छ । अब फर्किएर घरमा बस्न सकिने अवस्था छैन । अन्त घर बनाउनलाई जमिन पनि छैन ।’
प्रकाशका भाइ सुरजलाई भने ज्यान बचेकोमा खुशी लागे पनि १८ जनाको परिवार धान्ने अम्लिसो बारी नै पहिरोले पुरिदिएकोमा बढी चिन्ता छ । ‘दुई कुइन्टल कुचो आउने अम्लिसो बारी नै एकै पटक सखाप भयो । अब के को आम्दानीले खाने होला ?’, उनले दुखेसो पोखे ।
पहिरो खसेलगत्तै स्थानीय चिसापानी बजारमा रहेको प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मीले मानिस र चौपायलाई सुरक्षित स्थानमा ल्याएन मद्दत गरेका थिए । स्थानीय तहले आपतकालीन राहत पनि उपलब्ध गरायो ।
पहिरो पीडितसँग कुरा गर्दै प्रदेशसभा सदस्य समशेर राईले भने –‘पीडतहरूलाई पुनस्र्थापनाका लागि गर्न सकेसम्म पहल गर्छु । विस्थापित परिवारलाई पुनर्वासको व्यवस्था गर्नेमा मेरो ध्यान जान्छ ।’ तीनै तहको सरकारले यस कार्यमा गम्भीर भएर लाग्नुपर्ने उनको जिकिर थियो ।
अवरुद्ध सडक छिट्टै खोल्ने पूर्वाधार कार्यालयको दावी
यो सडक झापा र इलाम सदरमुकाम जोड्ने सबैभन्दा पुरानो र छोटो दुरीको सडक हो । मेची राजमार्गको रेखाङ्कन हुनु भन्दा पनि पहिलेबाट यो सडक प्रयोगमा आएको बताइन्छ ।
प्रदेश सरकारले निर्माण गरिरहेको यो सडक प्रयोग गरेर इलाम सदरमुकाम पुग्न मेची राजमार्गको तुलनामा करिब ३४ किलोमिटर कम पर्छ । तर, गत ३ भदौ रातिको पहिरोले सडक पूर्ण क्षति भएपछि यातायात आवगमन बन्द भएको छ ।
‘यस वर्ष सडकमा पानी जमेको थियो । हामीले नगरपालिकालाई धेरैपटक भन्यौँ । तर, कसैले वास्ता गरेन । अहिले पहिरो गयो’, स्थानीय जितबहादुर लावतीले गुनासो गरे ।
पहिरो गैपछि सडकमा ठूलो क्षति पुगेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख जीतेन्द्र कुमार कर्णको भनाइ छ । ‘सडकको क्षति अनुगमन गरेका छौँ । अब क्षति मूल्यांकन गरेर पुनः निर्माणको लागि लागत स्टिमेट तयार गरेर प्रदेश सरकार र सङ्घ सरकारमा पठाउँछौँ ।’ तत्कालै यातायात आवगमन खुलाउन आफूहरुले बैकल्पिक सडक निर्माणको काम गरिरहेको उनले दावी गरे ।