भदौ १६, इटहरी । जनता समाजवादी पार्टी नेपालले मंगलबार प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा अगुवा कार्यकर्ता भेलासहित चार महिने सङ्गठन निर्माण अभियान सुरु गर्ने भएको छ ।
आधारभूत सङ्गठन निर्माण अभियानको लागि जसपा नेपालले प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको हो । जसपा नेपाल प्रदेश १ को आयोजना रहने कार्यक्रममा मोरङ जिल्ला समितिको व्यवस्थापन रहने बताइएको छ ।
पार्टीको केन्द्रीय पदाधिकारी, कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरु, केन्द्रीय निकायका प्रमुख र सदस्यहरु, प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिका पदाधिकारी र सदस्यहरु, जिल्ला समितिका पदाधिकारी र सदस्यहरु, पालिका तहका पदाधिकारी र जनप्रतिनिधिलाई कार्यक्रममा अनिवार्य सहभागिताका लागि निर्देशन गरिएको जसपा नेपाल प्रदेश १ अध्यक्ष दिपक याक्खाले जानकारी दिए ।
बिराटनगरस्थित अतिथि सदनमा हुने सो कार्यक्रममा झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट पार्टीका अगुवा कार्यकर्ताको प्रतिनिधिमूलक सहभागिता रहने छ । ‘पार्टी महाधिवेशनपछिको उर्जा र सन्देशलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सात सय बढी अगुवा कार्यकर्ता कार्यक्रममा सहभागी हुँदैहुनुहुन्छ’, याक्खाले भने ।
पार्टी अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष रकम चेम्जोङसहित केन्द्रीय पदाधिकारी, कार्यकारिणी सदस्यलगायतले कार्यक्रममा सम्बोधन गर्ने बताइएको छ ।
जसपा नेपालको एकताको प्रथम महाधिवेशनपछि गठित केन्द्रीय समितिको पहिलो बैठक साउन २७ देखि ३० गतेसम्म काठमाण्डौमा सम्पन्न भएको थियो । सो बैठकले भदौ महिनाबाट सुरु भएर मंसिरमा समापन हुनेगरी चार महिने ‘जनतासँग जसपा नेपाल : आधारभूत सङ्गठन निर्माण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अभियानको औपचारिक उद्घाटन गदौ ९ गते काठमाण्डौमा जसपा नेपालका अध्यक्ष यादवले गरिसकेका छन् । त्यस्तै भदौ १५ गते मधेश प्रदेशको राजधानी जनकपुरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।
जसपा केन्द्रीय समिति स्रोतका अनुपार भदौ १६ गते मधेश प्रदेशको विरगञ्जमा, २३ र २४ गते क्रमशः लुम्बिनी प्रदेशको भैरहवा र नेपालगञ्जमा अभिमुखीकरण कार्यक्रम हुने बताइएको छ । त्यस्तै, भदौ २५ गते एकै दिन गण्डकी प्रदेशको पोखरा र सदुरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम तय भएको छ ।
प्रदेश १ को ओखलढुङ्गा र फिदिममा थप अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने बताइएको छ । जसपा नेपाल प्रदेश १ को सोमबार बस्ने विस्तारित बैठकले यी दुई ठाउँको कार्यक्रमका लागि मिति तोक्ने र आवश्यक तयारी गर्ने मुख्य सचिव घनश्याम कटुवालले बताए ।