भदौ २६, ताप्लेजुङ । मुन्धुमी स्थल मुक्कुम्लुङको संरक्षणमा लागेका आन्दोलनकारी पक्षले मुक्कुम्लुङ क्षेत्रमा बनाउन लागिएको केबलकार खारेजीको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई भेटी ध्यानाकर्षण गराएका छन् ।
आन्दोलनकारी पक्षले प्रतिनिधि मुलक ७ वटा संस्थाका प्रतिनिधिहरु हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र गृहमन्त्री लेखकलाई बुझाउँदै केबलकार खारेजीको लागि ध्यानाकर्षण गराएका हुन् ।
आन्दोलनकारी पक्षले ध्यानाकर्षण पत्रमार्फत गृहमन्त्री लेखकसमक्ष मुक्कुमलुङलाई हिन्दूकरण गरेर ‘पाथीभरा’ बनाईएको र अहिले जर्बजस्ती केबलकार निर्माण गर्न खोजिएको अवगत गराउँदै प्राकृतिक वातावरणमा प्रतिकुल असर पर्ने र मुक्कुमलुङको आदिमकालदेखिको मुल्य मान्यता र अस्तित्वलाई समेत संरक्षण नगर्ने भएकाले केबलकार निर्माण तुरुन्त बन्द गर्न माग गरेका हुन् ।
गृहमन्त्री लेखकले त्यस क्षेत्रमा केबलकार निर्माण गर्दा राम्रै हुदैन र भन्ने जिज्ञासा राखेपछि आफूहरुले मुक्कुमलुङप्रतिको आस्था, मुन्धुमी मान्यता र इतिहासबारे जानकारी गराउदै केबलकार बनाउन नहुने प्रष्ट विचार राखेको प्रतिनिधिमण्डलमा सहभागी अभियन्ता राम मादेनले जानकारी दिए ।
यसैबीच मुक्कुमलुङमा पटक पटक भएका सहमतिहरुलाई लत्याउदै जर्वजस्ती केबलकार बनाउन खोजेको आरोप लगाउदै आन्दोलनकारी पक्षले निर्णायक ‘मुक्कुमलुङ छोड’ आन्दोलन सुरु गरेका छन् ।
सो क्षेत्रमा केबुलकार निर्माण गर्न इजाजत प्राप्त गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनुभएका प्रतिष्ठित व्यापारी चन्द्र ढकालको चन्दागिरी हिल्स लिमिटेड, काठमाडौंलाई ७ दिन भित्र मुक्कुमलुङ छोड्न दिएको अल्टीमेटम पुरा भएपछि आन्दोलनकारी पक्षले गत भाद्र २४ गतेदेखि ताप्लेजुङको फुङलिङ बजारदेखि मुक्कुमलुङ जाने तल्लो फेदीसम्म अनिश्चितकालीन यातायात बन्द गरेका छन् ।