- नवीन काजी राई
काठमाडौं । अभिनेत्री पूजा शर्माले ६ महिना अगाडि दिएको अन्तरवार्ताको एउटा क्लीप अहिले भाइरल छ, जसमा उनले ‘सामुदायिक एकता’ को विषयमा टिप्पणी गरेकी छन् । अभिनेता दयाहाङ राईलाई आफ्नो समुदायले टेवा दिएको तर आर्यन समुदायमा त्यस्तो ‘युनिटी’ नरहेको निष्कर्ष उनको छ ।
एक युट्युब पोडकास्टमा उनले भनेकी थिइन्, ‘हामीहरुको फिल्म विदेशमा बिक्न कति गाह्रो छ । तर, दया दाइहरुको फिल्महरु के हुँदो रहेछ भने कस्तो मज्जाले उनीहरुको युनिटी हुँदो रहेछ क्या । मंगोलियनहरु हरेक चिजहरु कति सपोर्ट गर्ने रैछ । हामी आर्यनहरुको कोही हुँदैन ।’
प्रश्नकर्ताले समेत ‘दयाहाङलाई हिट गराएकै समुदायले हो’ भनेर थप उक्साएका छन् । पूजाले ‘अर्को जन्ममा मंगोलियन हुन पाउँ’ भनेर कामनासमेत गरेकी छन् ।
पूजाको अभिव्यक्तिमा उनको कुण्ठाभन्दा पनि निर्दोषिता र कमजोर बौद्धिकता झल्किन्छ । जे होस्, त्यतातिर नजाऔं । ‘खाली’ हलहरुमा लागिरहेको ‘रावायण’ तिर पनि नजाऔं । मूल प्रश्नतिर जाऔं, के दयाहाङको फिल्म समुदायले नै चलाइदिएका हुन् त ?
२०७८ सालको जनगणना अनुसार राईहरुको जनसंख्या ६ लाख ४० हजार छ अर्थात् झण्डै तीन करोड जनसंख्याको दुई दशमलव दुई प्रतिशत मात्रै छ । यसमा पनि फिल्म हेर्न हलमा जानसक्ने अधिकांश जनसंख्या विदेशमा छन् ।
सबैभन्दा धेरै जनसंख्या क्षत्रीको ४७ लाख ९६ हजार बढी अर्थात् १६ दशमलव ४५ प्रतिशत छ । दोस्रोमा ब्रह्मणको ३२ लाख ९२ हजारभन्दा बढी अर्थात् ११ दशमलव २९ प्रतिशत छ । यसपछि क्रमशः अन्य जातजातिहरु छन् । दयाहाङको समुदाय दशौं नम्बरमा आउँछ । अब वृद्धवुद्धा, बालबालिका जोडेर चानचुन ६ लाख ४० हजार जनसंख्या रहेको राई समुदायको मात्रै हिरो हो त दयाहाङ ?
यद्यपि, क्षत्री, ब्राह्मणबाहेक बाँकी सबै आदिवासी, जनजाति, मधेसी, दलित, अल्पसंख्यक हुन् । तर, मंगोल र आर्यन भनेर समुदाय विभाजन गर्ने हो भने दलित, मुस्लिम, मधेसी सबै आर्यन समुदायभित्र पर्छन् । अब प्रश्न यो कि छ अब दयाहाङ सबै नेपालीको कलाकार हो कि मंगोलियनको ?
निर्माता रोहित अधिकारी प्रतिप्रश्न गर्छन्, ‘कसले भन्यो मंगोलियनको मात्रै ? दयाहाङ सिंगो नेपाली समाजको हिरो हो’, रोहित थप्छन्, ‘उहाँको कबड्डी फिल्मले २० करोडमाथि ग्रस कलेक्सन गरेको छ । यो ग्रस उहाँको समुदायले मात्रै हेरिदिएर सम्भव छैन । उहाँको ‘लुट’ फिल्म समुदायले हेरेर चलिदिएको होइन । योङस्टरहरुले हेरेर चलेको हो ।’
नाट्यकर्मी अनुप बरालको तर्क छ, ‘कुनै पनि कला र कलाकारको क्षमता कुनै विशेष समुदायले सदासयता राख्दैमा सर्वप्रिय हुन्छ भन्ने हुँदैन ।’ त्यो त कलाकारको रचनात्मकता र उसले बाँचेको कलाको मुल्यले निर्धारित गर्ने कुरा रहेको अनुपको मत छ ।
‘कलाकारसँग क्षमता छैन र उसले गरेको काममा गहिराई छैन भने जति टाउको फोडे पनि केही हुनेवाला छैन । कुनै कलाकारको फिल्म चल्दा उसको समुदायको फेवरले चलेको भन्नु कलाकारको क्षमतालाई अवमूल्यन गर्नु हो’, अनुप भन्छन्, ‘उसका धेरै फिल्म नचलेका पनि त होलान् । त्यो बेला फलानो समुदायले हेरेनन् त्यही भएर नचलेको भन्ने ? यो त साह्रै क्लोज्ड माइन्ड वाला कुरा हुन्छ ।’
नाट्यकर्मी आकांक्षा कार्की पनि दयाहाङलाई निश्चित समुदायको मात्रै कलाकारको ट्याग भिराउनु गलत रहेको तर्क गर्छिन् । दर्शकले केवल राम्रो फिल्म हेर्न चाहेको आकांक्षाको विश्लेषण छ । झुर र खराब फिल्म बनाएर दर्शक आउँछन् भन्ने सोच्नु नै भ्रम रहेको उनी बताउँछिन् ।
‘उहाँ (दयाहाङ) लाई निश्चित समुदाय र दर्शकले आफू जस्तै मान्छे देख्छ । साथै फिल्म चल्नुमा दयाहाङको मेहनत र प्रतिभा पनि हो । सायद उहाँको लक पनि हो । उहाँले जस्तै अवसर अर्को मान्छेले नपाएको हुनसक्छ । तर, उहाँ सबैको मिश्रण हो, नेपाली कलाकार हो ।’
निर्माता अधिकारी त दयाहाङलाई अहिलेका चल्तीका कलाकार अनमोल, प्रदीपभन्दा एक तह माथि राख्छन् । दयाहाङको मार्केट पनि राम्रो भएको रोहितको बुझाइ छ ।
‘उहाँ (दयाहाङ)सँग काम गर्दा हलबाट एक रुपैयाँ पैसा नउठाए पनि ५० प्रतिशत लगानी सुरक्षित हुन्छ । विदेशमा ८० लाखदेखि माथिमा बिक्री हुन्छ । डिजिटल राइटस् दयाहाङ भएपछि सजिलै बिक्री हुन्छ’, उनी भन्छन् । अधिकारी दयाहाङसँग सहकार्य गर्ने तयारीमा पनि छन् ।
आकांक्षाको भनाइमा कोही कलाकारको क्रेजको हिसाबले पहिलो फिल्मलाई दर्शकले हेरिदिन सक्छन् । त्यसपछि भने विषय, प्रस्तुति र अभिनय क्षमता नै चाहिने उनको मत छ । युट्युबतिर गफै गरेको भरमा दर्शक फिल्म हेर्न चाहिँ नआउने बताउँछिन् ।
उनी भन्छिन्, ‘सम्भवतः दयाहाङ वा मंगोलियनहरुले बनाएको फिल्म चलेको देखेर पूजाले त्यो समुदायमा एकता महसुस गरेको हुनुपर्छ । यदि त्यस्तै हुन्थ्यो भने दयाहाङका सबै फिल्महरु ब्लकबस्टर हुनुपर्थ्यो । दयाहाङका धेरै फिल्महरु फ्लप पनि भएका छन् ।’
दयाहाङ ०६२/६३ पछिको पहिलो स्टार हो : मनोज पण्डित
दयाहाङ २०६२/६३ को जनआन्दोलनपछिको पहिलो स्टार नायक हो । जनजातिरआदिवासीको कुरा उठ्न थालेपछिको नायक हो । लोकतान्त्रिक गणतन्त्र नेपालको परिवर्तित राजनीतिक चेतको उत्पादन हो ।
दयाहाङको उत्पादनमा पछिल्लो समयका स्रष्टाहरुको ठूलो हात छ । हामीले विद्रोह गर्यौं । हाम्रो विद्रोहको प्रतिनिधि पात्र हो ऊ । त्यसैले दयाहाङको उत्पादन कुनै समुदायले गरेको होइन, सिंगो नेपालले गरेको हो ।
२०४६ सालको जनआन्दोलनले स्रष्टाहरुको चेतनामा ठूलो मात्रामा परिवर्तन ल्याएन । माओवादी विद्रोहपछि आममानिसको चेतनामा परिवर्तन भयो । साहित्य र कलामा नयाँ चेतना ल्याइदियो कि अबको देश भनेको चाहिँ समावेशी देश हो । एउटा समुदायको प्रभुत्वमा बाँच्ने देश होइन ।
दयाहाङ यो देशभित्र सबैं छौं भन्ने उच्च चेत राख्ने युवाहरुको प्रतिनिधि पात्र हो । उसलाई निश्चित समुदायमा सीमित गर्न मिल्दैन । दयाहाङहरु अभिनयको प्राविधिकता, कलात्मकता, यसको सांस्कृतिक र सामाजिक पक्षलाई अध्ययन गरेर आएका हुन् । अनुहार र वलिष्ठ शरीरको भरमा आएका होइनन् । दयाहाङहरु स्थापित हुनुमा उनीहरुको ज्ञान र सीपको भूमिका छ ।
अर्को चाहिँ सामाजिक रुपमा स्थापित भइसकेको कलाकार जनतासँग भइरहनुपर्छ । समाजमा पहिचानको, अधिकारको कुरा उठिरहेको हुन्छ । अब पहिचानको मुद्दा उठ्दा आफ्नो समुदायको कलाकारलाई पहिचानको आधारमा प्राथमिकता दिने काम संसारभर भइरहने कुरा हो ।
फिल्म समाजको राजनीतिभन्दा पर छैन । अधिकारको लडाइँभन्दा पर छैन । कहिलेकाहीँ कुनै समुदायले अफ्नो प्रतिनिधित्व गर्ने कलाकारलाई पहिचानको हतियार बनाउनु समाजले गर्ने काम हो । यो काम समाजको राजनीतिक प्रक्रिया हो । यसलाई इग्नोर गर्न मिल्दैन ।
दयाहाङलाई सामुदायिक लाभ प्राप्त छ । त्यो लाभ प्राप्त हुनुमा कलाकारको हात हुँदैन । हिजो राजेश हमाललाई पनि लाभ प्राप्त थियो त । राजेशलाई सुगठित शरीर र अनुहारले फाइदा दिएकै थियो ।
हिजोको समयमा मंगोलियनहरुलाई फिल्म क्षेत्रले रिजेक्सन गरेकै थियो । हिजो नायक हुनु भनेको आवरणलाई मात्रै प्रश्रय दिएको अवस्था थियो । हिजो त्यसो गर्दा चाहिँ सही हुने, आज अर्को आवरणका कलाकारले अलिकति माया पाउँदा के चाहिँ फरक भयो त ?
नेपालप्रेसबाट