असोज ११, माङसेबुङ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीलाई पान्थर जिल्ला प्रवेश नगर्न प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले चेतावनी दिएको छ ।
समितिले असोज १३ गते पान्थर आउन लागेको भन्दै विज्ञप्तिमार्फत मुख्यमन्त्री कार्कीलाई पान्थर प्रवेश नगर्न चेतावनी दिएको हो । विज्ञप्तिमार्फत असोज १३ गतेको कार्यक्रम रद्द गर्न मुख्यमन्त्री कार्कीसँग आग्रह गरिएको हो ।
‘संघर्ष समितिको यो अनुरोधलाई अटेर गरेर जबरजस्ती गरिएमा घोषित आन्दोलनको कार्यक्रम अनुरुप सशक्त जनप्रतिरोध हुने सम्बन्धित सबैमा सचेत गराउँदछौं । यो परिस्थितिबाट हुने सबैखाले क्षतिको जिम्मा कार्की र कार्की नेतृत्वको सरकार स्वयं हुनेछ ।’ विज्ञप्तिमा भनिएको छ ।
संघर्ष समितिले कोशी नाममा मतदान गर्ने एमाले, कांग्रेस र माओवादीका ८२ जना प्रदेश सांसद र पहिचानको आन्दोलनलाई होच्याउने एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, र एमाले नेता योगेश भट्टराई र महेश बस्नेतलाई प्रदेश १ का जिल्लाहरुमा प्रवेश रोक लगाएको थियो ।
कोशी नाम खारेज गरी पहिचानको आधारमा नामकरण नगरेसम्म ती नेताहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने, सार्वजनिक कार्यक्रममा अतिथि नबनाउने र जबरजस्ती गरिए प्रतिरोध गर्ने समितिले पटक पटक उल्लेख गर्दै आएको छ ।