असोज २२, दमक । दमकको लाइफलाइन अस्पताल प्रा. लि. ले विशेषज्ञ चिकित्सा सेवालाई विस्तार गर्ने भएको छ ।
आइतबार अस्पतालको तर्फबाट आयोजित बडा दशैं, शुभ दिपावली र छैठ पर्वको शुभकामना आदान-प्रदान कार्यक्रममा सो जानकारी दिइएको हो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले विशेषज्ञ चिकित्सा सेवालाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने योजना रहेको बताएका हुन् ।
‘नेपाल सरकारको नीति अनुसार आधारभूत स्वास्थ्य उपचार सेवामा राज्यले नै कार्य अघि बढाएको हुनाले अब हामीले आधारभूत स्वास्थ्य उपचारमा बढी ध्यान दिनु नपर्ने भयो । हामी विशेषज्ञ स्वास्थ्य उपचार सेवामा अघि बढेका छौँ’, अध्यक्ष डा. भट्टराईले भने ।
मृगौला प्रत्यारोपण बाहेक मृगौला रोगको अन्य सम्पूणर् विशेषज्ञ सेवा (मेडिकल र सर्जिकल) लाइफलाइनमा उपलब्ध रहेको जानकारी दिँदै भट्टराईले अब अस्पतालले प्रजनन स्वास्थ्य सेवा (निसन्तान दम्पतीहरुका लागि) युनिट स्थापना गरिने जानकारी दिए ।
अस्पतालमा हाल आइसियु, एनआइसियु सुविधासहित मेडिकल, सर्जरी, गाइनो, अर्थोपेडिकतर्फ विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएकोमा अब हाड तथा नशा सम्बन्धी रोगको उपचारमा सुई लगाउने पद्धतिको विकल्पमा ओजोन थेरापी सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
आमा सुरक्षा कार्यक्रम बन्द भएको र स्वास्थ्य बिमाका कारण अस्पतालमा प्रसुती सेवा लिन सेवाग्राहीलाई समस्या भएको भन्ने गुनासो आएको भन्दै अध्यक्ष भट्टराईले अब अस्पतालले नर्मल डेलिभरी सेवा निःशुल्क उपलब्ध गराउने गरी निणर्य भएको बताए ।
सिटिभिटीसँग सम्बन्धमा रहेर स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, हेल्थ ल्याब र रेडियोग्राफीको पठनपाठन गराइरहेको लाइफलाइनले यसै शैक्षिकसत्रबाट थप दुई कार्यक्रम नेत्र चिकित्सा र फामेर्सीतर्फ सर्टिफिकेट तहको पनि पठनपाटन सुरु गर्न लागेको डा. भट्टराईले बताए । उनको अनुसार अस्पतालले आउँदो वर्ष फिजियोथेरापी र बायोमेडिकल इन्जिनियरिङको पठनपाठनको लागि तयारी गरिरहेको छ ।
कार्यक्रममा अस्पताल सञ्चालक समितिका सदस्य भानुभक्त एक्तेन, चिकित्सकहरुको तर्फबाट मृगौला रोग विशेषज्ञ डा. सिपी न्यौपाने, पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवानले शुभकामना दिएका थिए भने कार्यक्रमका सहभागीलाई सञ्चालक सदस्य महेश कार्कीले स्वागत गरेका थिए ।
२०५५ सालमा २५ शैय्याको अस्पतालबाट सुरु गरेर २५ वर्षको अन्तरालमा विशेषज्ञ सेवासहित अस्पताल एक सय शैय्यामा पुर्याइएको अस्पतालले जनाएको हो ।