कातिक ८, दमक । झापाको दमक ३ स्थित मावा खोला नजिकैको एउटा जग्गा विवादलाई लिएर मंगलबार दिउँसो एक जना युवामाथि कुटपिट भयो । कुटपिटबाट उनको मृत्यु भयो । नजिकैको आम्दा अस्पतालमा पुर्याउँदा चिकित्सकले उनको पहिले नै मृत्यु भइसकेको भनेका थिए ।
मदन भण्डारी राजमार्गसँगै जोडिएको विवादित जग्गामा जेसिभी लगाउने र रोक्ने समूहका बीच विवाद हुँदा कुटिएका र मारिएका व्यक्ति थिए, दमक ९ का ३८ वर्षीय यामु निरौला ।
आक्रमणकारीहरुले जग्गा विवाद बारे छलफल गर्न भनी घटनास्थलमा बोलाएको र निरौलामाथि मंगलबार दिउँसो ४ः२३ बजेको समयमा योजनाबाद्ध हत्या गरेको भनी मृतककी श्रीमती कृष्णमाया निरौलाले इलाका प्रहरी कार्यालय दमकका दिएको किटानी जाहेरीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार निरौलाको हत्यामा संलग्न भनी विभिन्न ६ जनाविरुद्ध जाहेरी परेको हो । पीडित पक्षले दिएको जाहेरीमा दमक ८ का बुद्धिमान थापा, दमक ३ का सेरबहादुर नेम्बाङ, त्यस्तै संखुवासभाको मादी स्थायी घर भइ दमक ३ बस्ने गणेश दर्जी, मोरङ उर्लाबारी ६ का प्रकाश कार्की, उर्लाबारी ७ का ध्रुव गौतम र इटहरी बस्ने डेभिड घलेको नाम उल्लेख छ ।
आरोपित मध्ये दुई जना प्रहरी नियन्त्रणमा छन् भने अन्य ४ जना फरार छन् ।
थापा एमाले कार्यकर्ता एवम् झापा प्रदेश सभा निर्वाचन क्षेत्र ५ (२) का प्रदेश सभा सदस्य होमबहादुर थापाका सहोदर भाइ हुन् भने नेम्बाङ एमाले कार्यकर्ता हुन् ।
बुधबार पीडित पक्षले इलाका प्रहरी कार्यालय दमकका किटानी जाहेरी दिन जाँदा सुरुमा प्रहरीले जाहरी दर्ता गर्न मानेन । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकट सम्बन्धका कारण बुद्धिमान थापाको नाम जाहेरीबाट हटाउन प्रहरीले मृतकका आफन्तलाई दवाव दिएको मृतकका काका सुजन निरौलाको भनाइ छ । तर, पीडित पक्षले इलाका प्रहरी कार्यालयभित्रै नाराबाजी गर्दै दिनभर जसो दवाव दिएपछि साँझ ५ बजेपछि बल्ल प्रहरी जाहेरी दर्ता गर्न वाध्य भएको थियो ।
प्रहरीले भने मृतकका परिवारले दिएको जाहेरी दर्ता भएको र आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जाहेरी दर्ता भएको पुष्टि गरेका हुन् ।
प्रहरीले जाहेरी लिन नमान्दा बुधबार मृतकको शव पोष्टमार्टम हुन सकेन । शवलाई दमक अस्पतालमा राखिएको छ । आज बिहीबार पोष्टमार्टम हुने बताइएको छ ।
निरौलाको हत्या नै हुनेगरी गिजोलिएको जग्गा विवाद पुरानो रहेको स्थानीयको भनाइ छ । प्राप्त जानकारी अनुसार जग्गा बुद्धिमान थापासहित अर्का एमाले कार्यकर्ता एवम् प्रधानमन्त्री ओलीका सहयोगी नम चेम्जोङलगायतको संरक्षणमा रहेको छ । त्यहाँ आसपासका स्थानीयले बटो बनाउन खोज्दासमेत उनीहरुले रोक्ने गरेका थिए । मंगलबारको घटनामा चेम्जोङको नाम जाहेरीमा छैन । तर, सिसी टिभी फुटेजको हवला दिँदै घटनास्थलमा उनी थिए भनिएको छ ।
यो जग्गाको नालेबेली बिगतमा गुण्डा नाइके भनेर चिनिएका दिनेश अधिकारी (चरी) सँग पनि जोडिएको छ । अधिकारी प्रहरी इन्काउन्टरमा मारिएसँगै यस जग्गामा क्रसर राख्ने योजना तुहिएको र जग्गा खाली रहँदै आएको बताइन्छ ।