यामु निरौला फलोअप दोषी उम्किन नपाओस् : सर्वदलीय बैठक - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यामु निरौला फलोअप दोषी उम्किन नपाओस् : सर्वदलीय बैठक

कातिक १०, दमक । यामु निरौला हत्या प्रकरणमा दोषी उपर हदैसम्म कानुनी कारबाहीका लागि दमकका राजनीतिक दलहरुको सर्वदलीय बैठकले माग गरेको छ ।

शुक्रबार बसेको सर्वदलीय बैठकले कुनै दवाव र प्रभावमा नपरि घटनाको निष्पक्ष छानबिन, अनुसन्धान र दोषीहरुमाथि हदैसम्म कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकलाई गुहारेको हो ।

दमक ९ का ३८ वर्षीय निरौलाको गत मंगलबार दिउँसो दमक ३ मावा पुल नजिकैको विवादित जग्गामा जेसीभी लगाउँदै गर्दा दुई पक्षबीच विवाद हुने क्रममा कुटपिट गरी हत्या भएको थियो ।

सवैदलीय बैठकपछि इलाका प्रहरी कार्यालय अगाडि घेराउ गर्न पुगेका मृतकका आफन्त र पीडित पक्षका मानिसहरुलाई सम्बोधन गर्दै दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले मृतकका परिवारलाई आश्वस्थ पार्दै भने –‘संस्कास्पद अथवा जाहेरमा भएका मानिसहरु या जाहेरमा नभएका पनि अन्य घटनाक्रमले दोषी देखिएका मानिसहरुलाई कुनै पनि दवावमा नपरिकन, कुनै पनि कमिकमजोरी नगरिकन कानुनी प्रक्रिया अगाडि बढाउने र अपराधमा संलग्न भएका जो कोही हुन् उनीहरुलाई कानुनले निर्धारण गरेको हदैसम्मको कारबाही गर्ने कुरामा अनुरोध गर्यौ’, थापाले थपे –‘उहाँले पनि कमी नराख्ने वचन दिनुभो । हामी सबैले एकै मुखले एकै निर्णयले त्यो कुरा भन्यौँ ।’

नगर प्रमुख थापाले मृतकका परिवार र पीडित पक्षलाई केही समय धैर्यधारण गरेर प्रहरी अनुन्धानलाई सहयोग गर्नसमेत अनुरोध गरे ।

शुक्रबारको बैठकमा दमकका अस्तित्वमा रहेका राजनीतिक दलका प्रमुख र प्रतिनिधि सहभागी थिए ।

निरौला हत्या प्रकरणमा एमाले नेता एवम् प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ बुद्धिमान थापासहित नमकुमार चेम्जोङ, सेरबहादुर नेम्बाङ, गणेश दर्जी, प्रकाश कार्की, ध्रुव गौतम र डेबिड घलेविरुद्ध किटानी जाहेरी दर्ता भइसकेको छ । तर, प्रहरीले कार्की र गौतमलाई नियन्त्रणमा लिए पनि अन्य फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धान भइरहेको बताए पनि थप आरोपित पक्राउ नपरेको भन्दै मृतककी श्रीमती कृष्णमाया निरौलासहित पीडित पक्षले दैनिकजसो इलाका प्रहरी कार्यलय दमक घेराउ गर्दै आएका छन् ।

सम्बन्धित खवर