निरौला हत्या प्रकरण फलोअप, शव अस्पतालमा : न्याय माग्दै मृतकका परिवार निरन्तर आन्दोलनमा - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निरौला हत्या प्रकरण फलोअप, शव अस्पतालमा : न्याय माग्दै मृतकका परिवार निरन्तर आन्दोलनमा

कातिक ११, दमक । जग्गा विवादमा कुटपिट गरी हत्या गरिएका दमक ९ का यामु निरौलाको शव पाँच दिनदेखि दमक अस्पतालको मुर्दाघरमा छ । मृतकका परिवारले हत्या संलग्नहरुलाई पक्राउ नगरेसम्म शव नबुझ्ने अडान राखेका कारण शव परीक्षण गर्ने र सदगद गर्ने कार्य हुन नसकेको हो ।

३८ वर्षीय निरौलामाथि दमक ३ स्थित मावा खोला नजिकैको एउटा विवादित जग्गामा जेसीभी लगाउने र रोक्ने दुई पक्षबीचको झगडामा ज्यान जानेगरी कुटपिट भएको थियो ।

बुधबारदेखि मृतककी श्रीमती कृष्णमाया निरौलासहित परिवारका अन्य सदस्य र पीडित पक्षका मानिसहरुले दैनिकजसो इलाका प्रहरी कार्यालय दमक घेराउ गर्दै कहिले हत्यामा संलग्नहरु बारे किटानी जाहेरी दर्ता गराउन दवाव दिइरहेका देखिन्छन् भने कहिले संलग्नहरुलाई पक्राउ गर्न दवाव दिन भन्दै नाराबाजी गरिरहेका छन् ।

तर, प्रहरीले किटानी जाहेरी परेका मोरङ उर्लाबारीका प्रकाश कार्की र ध्रुव गौतम बाहेक अन्य पाँच जना आरोपितलाई पक्राउ गर्न सकेको छैन ।

आरोपित मध्ये दमक ८ का बुद्धिमान थापा बहालवाला प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ भएको र बुद्धिमानको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध रहेको, त्यस्तै नमकुमार चेम्जोङ पनि ओलीलाई चुनावमा सहयोग गर्ने गरेका र उनीहरुलाई उच्च राजनीतिक संरक्षण प्राप्त भएकै कारण पक्राउ नपरेको पीडित पक्षले आरोप लगाएको छ ।

मृतकका दाजु नवराज निरौलाले एमाले कार्यकर्ता बुद्धिमान थापा र नमकुमार चेम्जोङको नाम किटानी जाहेरीमा परेका कारण राजनीतिक दवावमा प्रहरी आरोपित पक्राउ गर्नबाट पछि हटेको दावी गरे ।

शनिबार पनि मृतकका परिवार, आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय अगाडि दिनभर टायर बालेर प्रदर्शन गरे । हत्यारालाई राजनीतिक संरक्षण गरेको भन्दै त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भयो ।

शनिबार नै दमकका जनप्रतिनिधि, राजनीतिक दल र मृतकको परिवारका सदस्यबीच इ. प्र. का. दमकमै छलफल भयो । सो छलफलले प्रहरीलाई आरोपित पक्राउ गर्न सोमबार मध्यान्ह १२ बजेसम्मको समय उपलब्ध गराउने निर्णय भएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिएका छन् ।

सोमबार १२ बजेभित्र आरोपितहरु पक्राउ नगरिए हजारौंको संख्यामा इलाका प्रहरी कार्यालय अगाडि जम्मा भएर आन्दोलित हुने नगर प्रमुख थापाले प्रदर्शनकारीलाई सम्बोधन गर्र्दै बताए ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताउने गरेको छ । तर, निरौलाको हत्या भएको दिन घटनास्थालमा देखिएका दुई वटा चार पाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिई इ. प्र. का. मा राखिएको बाहेक प्रहरीसँग घटनाको विषयलाई लिएर सुनाउन लायक पछिल्लो उपलव्धि छैन ।

यद्यपि जिल्ला प्रहरी कार्यालय झापाले भने हाल प्रदेश प्रहरी कार्यालय कोशीको अनुसन्धान टीम, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको टीमले संयुक्त रूपमा अराोपितहरुको खोजी गरिरहेको जनाएको छ ।

जाहेरी परेका थापा, चेम्जोङसहित दमक ३ का सेरबहादुर नेम्बाङ, गणेश दर्जी र इटहरीका डेबिड घले हाल फरार छन् ।

सम्बन्धित खवर