- आङबुहाङ अबोध अविरल
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जीवनीबाट एक प्रेरक प्रसङ्ग यहाँ उल्लेख गरिएको छ ।
संवत् १९९० को दसकमा पान्थरको घटना । एकजना मानिस मरेका गाई–गोरुको छालाको व्यापार गर्थे । गाउँघरबाट छाला भेला गरेर दार्जिलिङ, सिक्किम र भुटानसम्म बेच्न लैजान्थे । बाली छरपोक गर्ने बेलामा व्यापारबाट केही पैसा लिएर फर्कन्थे ।
त्यसबेला लिम्बुवान पहाडि भेगमा उत्पादित सुँगुरको गाई, गोरु, पाठा, कुखुरा, सुन्तला, छाला र सुँगुरको जगर मधेश वा सीमानापारी दार्जीलिङ बेच्न लैजाने गरिन्थ्यो । एक सालको कुरा हो । ती व्यापारी गाउँ घरबाट छाला जम्मा गरेर व्यापारका निम्ति दार्जिलिङतर्फ लागे । केही दिनमा हिड्दै दार्जिलिङ र सिक्किमतिर पुगे । उनी सोझा–साझा मानिस बसेका गाउँमा चाहर्थे । त्यहाँ उनले चल्तीको मूल्यभन्दा कम मूल्यामा छाला बेचेछन् । सस्तोमा छाला किन्न पाएपछि मानिसले किन्ने नै भए ।
ती व्यापारी निकै छट्टु थिए । छट्टु व्यापारीले आफूले बेचेको छाला किन्ने ग्राहकले कहाँ राख्छन् भनेर चिहाउँदा रहेछन् । त्यसबेला सर्वसाधारणको घर राम्ररी ताला–चाबी लाएको हुँदैन थिए । ती व्यापारीले दिउँसो बेचेको छाला राति चोर्दा रहेछन् । अर्कोदिन सोही छाला अर्कैलाई बेच्दा रहेछन् । यसरी एउटै छाला पटक–पटक धेरै जनालाई बेचेछन् ।
त्यो साल व्यापारीलाई राम्रो नाफा भयो । उनी घर फर्किए । गाउँमा बाली लगाउने बेला भएको रहेछ । त्यसैबेला अलि माथि लब्रेकुटी पान्थरमा महागुरु फाल्गुनन्द बस्नुहुन्थ्यो । उनलाई आफ्नो कमाइको केही भेटी गरुलाई चढाउन मन लाग्यो ।
अर्को दिन बिहान उनी लब्रेकुटी तर्फ उकालो लागे । साथमा एक माना चामल र एक रुपैयाँ लिए । त्यसबेला एक रुपैया निकै ठूलो महत्व थियो । केही समयको पैदल यात्रा पश्चात उनी लब्रेकुटी पुगे ।
लबे्रेमा पुगेपछि महागुरु फाल्गुनन्दलाई दर्शन गरे । गुरुलाई ढोग गरे । चामल र भेटी चढाए । त्यसपछि केही पाइला पछि फिर्दै थिए । व्यापारीले आफ्नो अगाडि फालिएको सिक्कको आवाज सुनें । उनी अचम्मित भए । आफूले चढाएको भेटी गुरुले किन लिनुभएन भनेर ।
व्यापारी : (हात जोडेर) प्रभु महाराज मैले चढाएको पैसा किन पो फ्याँकी दिनुभयो ?
महागुरु : तिम्ले छालालाई सात ठाउँ बेचेर ल्याएका पैसा लैजाउ ।
महागुरु फाल्गुनन्दले आफ्नो कुकृत्य थाहा पाएकोमा व्यापारी जिल्ल प¥यो । उनी आफ्ना कुकृत्य सम्झेर पश्चाताप गर्न थाले । गाउँलेले उनी ठग व्यापारी भएको थाहा पाए ।
गुरु आत्मदर्शी हुनुहुन्थ्यो । वहाँ ध्यान, योगका माध्यमबाट परम चेतनामा पुग्नुभएको थियो । महागुरु फाल्गुनन्दले घुस, भ्रष्टचार र ठगी गरेर कमाएको पैसाबाट दान नलिने गरेको थुप्रै घटनाहरु वहाँको जीवनीमा पढ्न पाइन्छ ।
(रमेश तुम्बापो/मनकुमार फेजोङद्वारा लिखित निस्सेहाङमा महागुरु फाल्गुनन्दको जीवनी, पृ २२२–२२३ मा आधारित)