संयुक्त संघर्ष समितिले भोलि विराटनगरमा कोशी नामविरुद्ध विरोध प्रदर्शन गर्ने - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संयुक्त संघर्ष समितिले भोलि विराटनगरमा कोशी नामविरुद्ध विरोध प्रदर्शन गर्ने

मंसिर १, माङसेबुङ । प्रदेशको नाम कोशी विरुद्धमा आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले भोलि आइतबार (मंसिर २) ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध विरोध प्रदर्शन’ गर्ने भएको छ ।

२०७९ फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएपछि समुदायिक संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल आदिबासी जनजाति महासंघ नेपाल, नेपाल शेर्पा संघ, पहिचान सहितको प्रदेश नं. १ पुन नामकरण अभियान समिति लगायतबाट कोशी नामको विरोध घोषणा भएकै दिनबाट सुरु भएको थियो ।

आन्दोलनरत जनता समाजवादी पार्टी (जसपा) नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनमुक्ति पार्टी, माओवादी केन्द्र सम्बद्ध किरात र लिम्बुवान मोर्चाका नेता कार्यकर्ताहरुले आन्दोलन थालेका थिए । नागरिक उन्मुक्ति पार्टी, पहिचानवादी मोर्चा, राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ लगायतको संगठनले निरन्तर आन्दोलन गर्दै आएको छ ।

आन्दोलनको क्रममा ४२ बर्षिय युवा पदम लिम्बू (लाजेहाङ)ले सहादत (सरकारबाट सहिद घोषणां) प्राप्त गरेका छन भने प्रहरीको गोली लागेर गजेन्द्र फागोको खुट्टा जीवनभर काम नलाग्ने गरी घाइते छन् । आन्दोलनमा दिक्षा क्षेत्री, सञ्जय राई लगायत २ सय ५० बढी घाइते भएका छन् ।

आन्दोलनकै क्रममा इलाम माङ्सेबुङको आशिष लिम्बू १९ महिनादेखि जेलमा रहेका छन् । प्रदेश सरकार र आन्दोलनरत पक्षको ३ चरणमा वार्ता भएपनि पुन नामकरणको प्रकृया अघि बढेको छैन् । आइतबार विराटनगरमा विरोध प्रदर्शनसँगै नयाँ चरणको आन्दोलन घोषणा कार्यक्रमको आयोजना राखेको छ ।

ककस्ले सम्बोधन गर्दैछ ?

सभालाई माओवादी केन्द्रकी उपाध्यक्ष पूर्वमन्त्री पम्फा भुसाल, पहिचानवादी मोर्चाका सदस्य सचिव पूर्ब मन्त्री गोपाल किराती, जसपा नेपाल सहअध्यक्ष पूर्ब मन्त्री रकम चेम्जोङ, कार्यकारिणी सदस्य, पूर्ब प्रदेशमन्त्री जयराम यादव, पूर्व मुख्यमन्त्री राजेन्द्र राई, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष पूर्वमन्त्री राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विस्वभक्त दुलाल (आहुती), जसपाका नेता रमेश राई लगायतले सम्बोधन गर्ने संघर्ष समितिका संयोजक प्रेम एक्तेनले बताए ।

पहिचान आन्दोलनको संयोजक किरात याक्थुङ चुम्लुङको अध्यक्ष प्रेम एक्तेनको नेतृत्वमा हुने कार्यक्रममा नयाँ चरणको आन्दोलन घोषणा हुने आयोजकले जनाएको छ ।

 

सम्बन्धित खवर