मंसिर ९ देखि इलामको नयाँबजारमा बालाचतुर्दशी मेला - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मंसिर ९ देखि इलामको नयाँबजारमा बालाचतुर्दशी मेला

इलाम । इलामको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा परम्परागत रूपमा लाग्दै आएको बालाचर्तुदशी मेला यो वर्ष पनि लाग्ने भएको छ ।

मंसिर ९ देखि १८ सम्म गाउँपालिकाको आयोजना र मेला व्यवस्थापन समितिको व्यवस्थापनमा लगाइने बालाचर्तुदशी मेला यो वर्ष पनि लाग्ने आयोजक समितिले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

बालाचतुर्दशीका दिन नयाँबजारको शिवालय धाम, २०११ सालमा नयाँबजार बसाउन महत्त्वपूर्ण योगदान दिने सन्त बालागुरुको प्रतिमा दर्शन, उत्तरेपोखरी दर्शन मेलाका कार्यक्रम छन् । मेलामा स्थानीय शिवालयमा आफ्ना पितृको सम्झनामा सद्बिउ–पलबिउँ छर्ने साथै भाकल पूरा गर्ने दर्शनार्थीको बिहानैदेखि भिड लाग्ने गरेको छ ।

गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले जानकारी दिए ।

गाउँपालिकाभित्र पर्यटकीय सम्भावना बोकेका स्थानको प्रचार गर्न मेला आयोजना गरिएको उपाध्यक्ष प्रविना राईले जानकारी दिइन् ।

मेला व्यवस्थापन समिति संयोजक मदन भण्डारीका अनुसार मेला अवधिभर रमाइलो मिनी मेला, विभिन्न जातजातिका झाँकी, सांस्कृतिक वेशभूषा प्रदर्शन गरिनेछ । रैथाने खानेकुरा प्रदर्शनमा समेत राखिनेछ ।

गाउँपालिकाको थुम्के डाँडाबाट सूर्योदय, सूर्यास्त दृश्यावलोकन गर्न सकिने, उत्तरेपोखरी, मलुपोखरी, साततले झरना, शिवालय धाम, साङ्छ्योलिङ बौद्ध गुम्बा, महादेव थान मन्दिर, देवी मन्दिर माइबेनी शिवालय धाम दर्शन गर्न सकिनेछ ।

किरातका प्रथम राजा यलम्बर, नेपालकै अग्लो गणेशको प्रतिमा, विश्वबाट लोपोन्मुख जनावर हाब्रे (रेड पान्डा) साथै रेडपान्डाको प्रतिमालगायत पर्यटकका लागि आकर्षण रहेको अध्यक्ष थेबेले बताए ।

 

सम्बन्धित खवर