माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा आज साविक विजेता तिजोक यूवा क्लब, पाँचथर र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लव, दार्जिलिङ, भारत आमुने सामुने हुदैंछ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बुधबार हुने पहिलो चरणको अन्तिम खेलमा तिजोक पाँचथर र मानेभञ्ज्याङ दार्जिलिङविच प्रतिस्पर्धा हुने भएको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ ।
यसअघि हिजो मंगलबार भएको खेलमा चुलाचुली स्पोर्टिङ क्लब, झापालाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै दुधे झापा सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको निधारित समयमा दुबै टिमले एक एक गोलको बरावरी खेलेपछि नतिजा टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा दुधे झापाले बाजी मार्यो ।
टाईब्रेकरमा दुधेको जितमा बिशाल तामाङ, प्रदिप बुढाथोकी, तकेन मगर र सन्जोग मगरले गोल गरे । चुलाचुलीका लागि भने सञ्जय लिम्बू र पुजन चौधरीले मात्र गोल गरे । समिर तामाङ र सुजन चौधरीको प्रहार दुधेका गोलरक्षक सन्दीप लिम्बूले बचाएका थिए ।
खेलको मेन अफ दी म्याच दुधेका गोलरक्षक सन्दीप लिम्बू घोषित भए । उनले ट्रफी र नगद ५ हजार ७१ रुपैयाँ हात पारे । उनी झापा ११ का गोलरक्षक समेत हुन् ।
यसअघि खेलको २२औं मिनेटमा प्रदिप बुढाथोकीले गोल गर्दै दुधेलाई अग्रता दिलाएका थिए । तर, खेलको ३६ औ मिनेटमा पेनल्टाीमार्फत गोल गर्दै चुलाचुलीलाई बरारीमा फर्काए ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।