माङसेबुङ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ का उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुको अनलाइन प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
यसअघि याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ का उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुको एक महिने मुन्धुमी प्रशिक्षण गत मंसिर ७ देखि पुस ७ गते सम्म सम्पन्न भएको थियो ।
उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुलाई एक महिने मुन्धुमी प्रशिक्षण अन्तरगत पहिलो चरणको एकहप्ते मुन्धुमी प्रशिक्षण काठमाडौंमा सम्पन्न भएको थियो । त्यसपछि दोस्रो चरणको मुन्धुमी प्रशिक्षण इलामको धार्मिक पर्यटकिय स्थल माङसेबुङमा सम्पन्न भएको थियो ।
यसैगरी तेस्रो चरणको मुन्धुमी प्रशिक्षण लिम्बूवानको दमकमा सम्पन्न भएको थियो । यसरी तीन चरणमा एक महिने प्रशिक्षण सम्पन्न भए पश्चात प्रतियोगी प्रतिभाहरुलाई बिदाई गरेको थियो ।
यसरी बिदाई गरेसँगै उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुलाई अनलाइन मार्फत संगीत बिज्ञ कोचहरु मार्फत अनलाईन प्रशिक्षण शुरु भएको हो ।
अनलाइन प्रशिक्षण समापन पछि याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनालेमा प्रतियोगिहरुलाई प्रतिस्पर्धा गराउने र विजेता घोषणा गर्ने आयोजक फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष पुर्णकुमार सेर्मा(यादन) बताए ।
आयोजकका पदाधिकारी र निर्णायकहरु याक्थुङ साम्लोका एक इतिहास भगत सुब्बा र मुन्धुमका एक नायक यासेली योङहाङ र बरिष्ठ गायिका मनु नेम्बाङसँग परिचयात्मक र साक्षतकार कार्यक्रमबाट सुरु भएको एक महिने प्रशिक्षणमा प्राज्ञ अमर तुम्याहाङ र साहित्यकार सागर केरुङ, मुन्धुमसाबा गोबिन्द आङबुङ, चलचित्र निर्देशक सागर सुब्बा, रैथाने संगीत अध्येता गायिका झुमा लिम्बु र किरात याक्थुङ चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोले प्रशिक्षण गरेका थिए ।
यसैगरि बरिष्ठ चलचित्र निर्देशक नविन सुव्वा, गायक इमाहाङ सेलिङ, मुन्धुमविद येहाङ लावती, सञ्चारकर्मी तथा साहित्यकार निशेस आङदेम्बे, मुन्धुमविद तथा जोतिष डा. चन्द्रकुमार सेर्मा, गायक दिपक लिम्बु, गायिका देशु सुहाङ, साहित्यकार भीमा खजुम मुसुम, किरात याक्थुङ चुम्लुङ संघीय प्रेम येक्तेन, भाषिक वडा सचिव सुनिल सेर्मा, कवि जितेन पन्धाक, पूर्व गुरु निजी सचिव नविन लिङदेन, गितकार तथा लेखक नन्द कुमार नेम्बाङ, लेखक तथा शिक्षक अबोध अविरल र गुरु निजी कानुनी सल्लाहकार एनएस फागो लगायतले प्रशिक्षण गरेका थिए ।
याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजना सञ्चालन भईरहेको याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३ को उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुमा बिजय फागो वनेम, गगन प्रकाश लावती, मनु योङ्हाङ, अशल तुम्रोक, दर्पण शेर्मा(याम्धान), सुनिता योङ्हाङ, अर्जुन नाल्बो, दिलिप माखिम, सन्जित्रा लिम्बु लाफुन र राजेन्द्र सेर्मा रहेका छन ।
रैथाने किरात याक्थुङ गित संगीतको सरक्षण सम्बद्र्धन र बिकास गरि मुन्धुमी संगीतको दुनियाँमा नयाँ आयाम थप्ने, नयाँ पुस्तालाई आकर्षण गरी जिम्मेवारी सुम्पने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष यादनले बताए ।
मञ्चले यसअघि फक्ताङलुङ आइडल सेकफुङ १ र सेकफुङ २ सफलतापुर्वक आयोजना गरेकोमा त्यस्कै निरन्तरता स्वरुप ‘याक्थुङ साम्लो साम्लोरिरो, साम्लोइ लोइ लाम्लोरिरो’ भन्ने मुल नाराका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३’ गायन प्रतियोगिता आयोजना गर्न लागेको र यस अघिनै आवश्यक तयारी समेत सुरु गरेको आयोजक मञ्चका केन्द्रीय अध्यक्ष सेर्माले बताए ।
पुरस्कारहरु
प्रथमपुरस्कार : नगद रु ५ लाख अडियो र भिडियो एल्बम, बिदेश साँगितिक भ्रमण बिजेताको ट्रफी र प्रमाणपत्र ।
दोस्रो पुरस्कार : नगद रु २ लाख पचास हजार, ४ वटा गित अडियो स्टुडियो ल लिप्सिङ भिडियो र एउटा भिडियो, प्रमाणपत्र र रनरअपको ट्रफी । साँगितिक बिदेश यात्रा दुई देशमा ।
तेस्रो पुरस्कार : नगद १ लाख २५ हजार, ३ वटा साम्लो स्टुडियो भिडियो रेकर्डिङ, एक देशमा बिदेश साँगितिक यात्रा साथै सेकेण्ड रनरअपको ट्रफी र प्रमाणपत्र ।
सान्त्वना पुरस्कार : नगद ६० हजार, २ वटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, ट्रफी र प्रमाणपत्र ।
उत्कृष्ट १० लाई : एउटा एउटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, सब टाइटल साथै आकर्षक गिफ्ट ह्याम्पर र प्रमाणपत्र ।