मण्डला थिएटरमा माघ ४ देखि २७ सम्म नाटक ‘मुक्कुम्लुङ’ मञ्चन हुने - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मण्डला थिएटरमा माघ ४ देखि २७ सम्म नाटक ‘मुक्कुम्लुङ’ मञ्चन हुने


माङसेबुङ । अनिल सुव्वाको निर्देशन रहेको नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मण्डला थिएटरमा आगमी माघ ४ देखि २७ गतेसम्म मञ्चन हुने भएको छ

एक थिएटर नेपालको सहकार्यमा चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटक ‘मुक्कुम्लुङ’ मञ्चनको लागि तयारी अन्तिम चरणमा पुगेको निर्देशक सुव्वा बताउँछन् ।

मण्डला थिएटर नेपाल, चुलाचुली रंगमञ्च र एक थिएटर नेपालले नाटक ‘मुक्कुम्लुङ’ मञ्चनको आधिकारिक घोषणा एकसाथ गरेका छन् ।

मुन्धुमअनुसार पृथ्वीकै पहिलो नारी मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेर निर्माण गरिएको नाटकमा पछिल्लो समय मुक्कुम्लुङ संरक्षण आन्दोलनसम्मको घटना क्रमहरुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

पछिल्लो समय ताप्लेजुङको मुक्कुम्लुङमा ‘मक्कुम्लुङ संरक्षण’ अर्थात् ‘नो केवलकार’ आन्दोलन चलिरहेको छ । मुक्कुम्लुङ याक्थुङ (लिम्बू)हरूको पवित्रस्थल रहेको, यहाँ केवलकार स्थापना गरिँदा मुक्कुम्लुङ र लिम्बूहरूको सम्बन्ध विस्थापन हुने र त्यहाँ प्रकृतिको दोहन हुने भएकाले स्थानीयसहित सरोकार भएकाले ‘नो केवलकार’ आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै मुक्कुम्लुङको महत्व बुझाउन नाटक निर्माण गरिएको एक थिएटरका अध्यक्ष विष्णु मोक्तानले बताए ।

‘यो नाटक, नाटक मात्रै होइन, आन्दोलन पनि हो ।’ निर्देशक सुब्बाले भने, ‘कला र संस्कृति युग परिवर्तनको संवाहक शक्ति हो । हामी उच्च शिर भएको, शिर ठाडो भएको मानिस हौं । तर, त्यही हाम्रो शिर अर्थात् हाम्रो चोत्लुङलाई अरूले कुल्चिने दुस्प्रयास भइरहेको छ । यस्तो बेला कला आफैंमा प्रतिरोधी शक्ति भएर उभिन्छ । हरेक उत्पीडन र अन्यायका विरुद्ध कला आफैंले प्रतिरोध गर्छ । त्यही प्रतिरोधको एउटा स्वरूप हो नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ ।’

नाटकका लेखक गीलु रातोसका अनुसार मुक्कुम्लुङलाई याक्थुङ समुदायले आफ्नो शिर मान्ने गर्छन् । अहिले त्यही शिर माथि भएको दमनविरुद्ध सर्जकहरूको आन्दोलनका रूपमा यस नाटकलाई लिन सकिने उनले बताए ।

अनिल सुब्बा, गीलु रातोस र विष्णु मोक्तानको संयुक्त लेखन रहेको नाटकमा विष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बू, सौजन सेनेहाङ, मणि के राई, भूमिका थारूलगायत कलाकारको अभिनय रहने छ ।

सम्बन्धित खवर