फोनिज प्रदेश १ को अध्यक्षमा विजयवोध लावती, १० बुँदे फेदेन, पान्थर घोषणा–पत्र जारी गर्दै महाधिवेशन सम्पन्न - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फोनिज प्रदेश १ को अध्यक्षमा विजयवोध लावती, १० बुँदे फेदेन, पान्थर घोषणा–पत्र जारी गर्दै महाधिवेशन सम्पन्न

फेदेन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा विजयवोध लावती निर्वाचित भएका छन् ।

पाँचथर सदरमुकाम फेदेनमा सोमबार सम्पन्न महाधिवेशनले विजयबोध लाओतीको अध्यक्षतामा १९ सदस्यीय नयाँ प्रदेश कार्य समिति निर्वाचित गरेको हो ।

नवनिर्वाचित प्रदेश कार्य समितिको उपाध्यक्षमा खनेन्द्रकुमार राई (अर्जुन), सुप्रिया राई, महासचिव लीलाबहादुर सुनुवार, सचिवमा रामचन्द्र तामाङ, दिलबहादुर राई र कोषाध्यक्षमा सन्दिप याम्फु निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा अरुणकुमार राई, अजय सन्तोषी राई, कृष्ण फुरुम्बो, मौसम सम्बाहाम्फे, रमिला दनुवार, मेनुका डुम्जन तामाङ, निशा राई, अमित तामाङ, जयराम पूर्वछाने मगर, श्रवण चौधरी, निश्चल राजभण्डारी र नेत्रकुमार सुनुवार निर्वाचित भएका छन् ।

लेखा समिति संयोजकमा प्रेम देवान, सदस्य अनिलदेव राई, अनुशासन समिति संयोजक ब्रहमलाल हजारी र सदस्य अशोक गुरुङ निर्वाचित भएका छन् ।

यस्तै फोनिज प्रदेश १ कोे तेस्रो प्रादेशिक महाधिवेशन १० बुँदे फेदेन, पान्थर घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ ।

महाधिवेशनले जारी गरेको १० बुँदे फेदेन, पान्थर घोषणा–पत्रको पूर्णपाठ जस्ताको तस्तै

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)
प्रदेश १ को तेस्रो ऐतिहासिक प्रदेश महाधिवेशन
२०८१ माघ ५, ६ र ७ गते
फेदेन, पान्थर घोषणा पत्र–०८१

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिको मिति २०८१ माघ ५, ६ र ७ गते पान्थर जिल्लाको फेदेन नगरपालिका ४ फेदेन बजारमा सम्पन्न तेस्रो ऐतिहासिक प्रदेश महाधिवेशनले समसामयिक विषय समावेश गरी १० बुँदे ‘पान्थर घोषणा पत्र–२०८१’ जारी गर्दछ ।

१. लिम्बुवानी भूमि ताप्लेजुङ्गमा अवस्थित मुक्कुम्लुङको सन्दर्भमा हाल देखिएको विषयप्रति फोनिजको गहिरो ध्यानाकर्षण भएको छ । यस सम्वन्धमा ऐतिहासिक तथ्य प्रमाण र दस्तावेजहरुको आधारमा यसको मौलिक पहिचानलाई कायम राख्न सम्वद्ध सबै पक्षहरुले अविलम्ब साझा धारणा बनाई यो विषय तत्काल समाधान गर्न यो महाधिवेशन माग गर्दछ ।

२. पाँचथरको धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्वि, पर्यटकीय, दाहसंस्कार स्थल, समाधिस्थल, पुरातात्विक स्थलहरुको प्रचारप्रसार, उजागर एवम् प्रर्वद्धन गर्न÷गराउन यो महाधिवेशन प्रण गर्दछ ।

३. सरकारले निर्धारण गरेको पत्रकारको न्यूनतम पारिश्रमिक प्रदेशका सबै सञ्चार गृहमा लागू गराउन माग गर्दै स्वरोजगार सञ्चार माध्यमलाई सरकारको तर्फबाट आर्थिक सहुलियतको व्यवस्था गर्न तिनै तहका सरकार समक्ष यो महाधिवेशन माग गर्दछ ।

४. प्रदेश नम्बर १ मा मातृ (राष्ट्र भाषा) भाषामा प्रकाशन÷प्रशारण हुने सञ्चार माध्यमको प्रवद्र्धन तथा आर्थिक सशक्तिकरण र निरन्तरताका निम्ति सबै तहको सरकारबाट आवश्यक सहयोगको माग गर्दै प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणमा विशेष व्यवस्था गरियोस् भन्ने यो प्रदेस महाधिवेशन माग गर्दछ ।

५. राज्यबाट वितरण गरिने विज्ञापन समानुपातिक आधारमा साना तथा ठूला सञ्चार माध्यमलाई उपलब्ध गराउने कानूनी व्यवस्था गर्नका लागि यो महाधिवेशन जोडदार माग गर्दछ ।

६. आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी समुदायबाट पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न तीनै तहका सरकारसँग यो महाधिवेशन माग गर्दछ ।

७. मातृभाषाबाट नामाकरण गरिएका विभिन्न ठाउँहरुको अपभ्रशं भएकोलाई पुनर्उत्थान र पुनःलेखन गर्न÷गराउन यो तेश्रो प्रदेश महाधिवेशन प्रण गर्दछ ।

८. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको ऐतिहासिक तथ्य र प्रमाणले पुष्टि भएको हुँदा इतिहास र योगदानको सम्मान गर्दै महासंघको संस्थापक अध्यक्ष श्रेष्ठलाई नै घोषणा गर्न यो प्रदेस महाधिवेशन नेपाल पत्रकार महासंघसँग विशेष माग गर्दछ ।

९. समानुपातिक समावेशी प्रतिनिधित्व व्यवस्था अनुरुप सञ्चार ऐन, नीति, नियमावली आदि सबैमा सोही अनुसारको प्रतिनिधित्वको सुनिश्चितता गरी समावेशी सञ्चार नीति व्यवहारिक रुपमा संचारमा पहिचान स्थापित हुने गरी कार्यान्वयन गरी समाचार कक्ष समावेशी बनाउनका लागि यो महाधिवेशन माग गर्दछ ।

१०. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेश्रो ऐतिहासिक महाधिवेशनमा आमन्त्रित प्रमुख अतिथि प्रदेश १ का पूर्व भौतिक पुर्वाधार योजना मन्त्री माननिय कमल प्रसाद जवेगु, विशिष्ठ अतिथि फोनिज संघीय अध्यक्ष गजुरधन राई,संघीय प्रतिनिधि विश्वराज तामाङ, अग्रज पत्रकार एवं फोनिजका पुर्व संघीय सल्लाहकार संजय सन्तोषी राई, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यद्धय लवदेव ढुङ्गगाना, माला पालुङ्गा, प्रदेस १ का अध्यक्ष भरत खड्का, महासचिव हिमा चेम्जोङ, जिल्ला समन्वय समिति पान्थरका उपप्रमुख यामकुमार आङबो, फिदिम नगरपालिकाका उप–प्रमुख राधाकृष्ण न्यौपाने, फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्वाङ्ग, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पान्थरका अध्यक्ष सागर केरुङ, नेपाल पत्रकार महासंघ पान्थरका अध्यक्ष भीमकुमार बास्कोटा, लगायत केन्द्रीय पदाधिकारी÷सल्लाहकार÷सदस्य,पाँचथर जिल्लाका स्थानीय तहका प्रमुख, उप–प्रमुख, विभिन्न जिल्लाका फोनिज अध्यक्ष तथा प्रतिनिधि, पर्यवेक्षक, निर्वाचन मण्डल, स्थानीय व्यवस्थापन तथा समन्वय गर्ने फोनिज शाखाका सिङ्गो टिम, साथै महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने अन्य सबैमा यो तेश्रो प्रदेस महाधिवेशन विशेष धन्यवाद व्यक्त गर्दछ ।

सम्बन्धित खवर