विश्वनै नरसंहार हुने संकेत छ : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वनै नरसंहार हुने संकेत छ : अङसीमाङ आत्मानन्द सेइङ

माङसेबुङ । मुलुकमा शान्ति चाहिने, शान्ति नभए केहीँ गर्न सम्भव नहुने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ ।

धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङमा आइतबार आयोजित सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोह आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।

‘विश्व ब्रमाण्ड माङको फूलबारी हो, यो ब्रमाण्ड अथाह छ’ अङसीमाङज्यूले भन्नु भयो ।’ आशीर्वचनमा वहाँले थप्नुभयो, ‘पञ्चतत्व मिलेर बनेको ग्रह त पृथ्वी मात्र हो, त्यसैले पृथ्वीको गति विगार्ने काम नगरौं । पृथ्वीको गति नविग्रोस् भनेर माङसँग सेवा गर्नुपर्छ ।’

‘भौतिक सुविधाको साधनहरु विकास निर्माण गर्ने वैज्ञानिकहरुले मानव संहार हुने प्रविधिहरु निर्माण नगर्नुहोस्’ अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘विश्वमा हुने युद्धहरुले विभिन्न रोगहरु फैलिन्छ’ वहाँले थप्नुभयो, ‘अब अर्को कोरोना आउँछ त्यसले संसारमा के के ध्वस्त बनाउँछ चिन्तनको विषय छ ।’

‘पृथ्वीमा मान्छे धेरै भएपछि मारामार हुन्छ, अनि मान्छे सकिन्छ । शक्तिशाली बम विस्फोट भए पृथ्वीनै तहसनहस हुन्छ ।’ अङसीमाङले भन्नुभयो ‘विश्वनै नरसंहार हुने संकेत छ । वैज्ञानिकहरुले विश्व मानवलाई नष्ट गर्ने होइन रक्षा गर्ने प्रविधिहरु निर्माण गर्नुपर्छ ।’ वहाँले थप भन्नुभयो, ‘भूकम्प आउने चेष्टा गरिरहेको छ, यसको विषयमा मैले थुप्रै पटक भविष्य वाणी गरेको छु त्यो पनि अध्ययन् गर्नुहोस् ।’

‘स्वस्थ्य वातावरणमा स्वास्थ्य जीवन जिउनुपर्छ।’ अङसीमाङले अगाडि भन्नुभयो ‘कसैले अहंकार, क्रोध र घमण्ड नगरौं, कूलतमा कसै नफसौं ।’ अङुसीमाङले सुनाउनुभयो, ‘हाम्रो शरीरलाई पवित्र राख्यौं भने विभिन्न रोगहरुबाट मुक्त हुन्छौं ।’ धर्म, भाषा, लिपि, साहित्य, संस्कार संस्कृतिको लागि समेत सबैले चिन्तन मनन गर्न आशीर्वचनको क्रममा अङसीमाङज्यूकोले आग्रह गर्नुभयो ।

माघ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोह अन्तर्गत विहिबार साक्मुरा वादेम्मा सेवा सम्पन्न गरिएको थियो । भने, शनिबार विश्व शान्ति तथा मानव एकताको निमित किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न गरिएको सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोहका अध्यक्ष केहेरसिं योङहाङले बताएका छन् । महासमारोहका अध्यक्ष योङहाङका अनुसार सो सेवामा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको समुपस्थिती रहेको थियो ।

समारोहको पहिलो दिन समुद्घाटन, अतिथिहरुबाट शुभकामना मन्तव्य, माङ आशीर्वचन हुनका साथै साँझ बृहत सांस्कृतिक सांगीतिक कार्यक्रम सञ्चालन समारोह सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको संयोजनमा सम्पन्न भएको थियो ।

सेवा समारोह अन्तर्गत आइतबार (माघ ६) गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूबाट विशेष माङ आशीर्वचन प्रदान भएको छ । भने, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण गर्ने साथै संस्थागत धन्यवाद–पत्र वितरण र पुस्तक पुस्तिका विमोचन कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति नेपालका पूर्व अध्यक्ष तथा लेखक चन्द्रप्रसाद योङयालाई किरात संस्कृति साहित्यिक पुरस्कार २०८१ द्वारा सम्मान गरिएको थियो । भने, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाको संयोजन तथा व्यवस्थापनमा तयार पारिएको किरात किबोर्ड मोवाइल एप समेत सार्वजनिक गरिएको छ ।

त्यसैगरी भक्तजनहरुबाट संकलन गरिएको माङवाहाङवा (बीउविजन)लाई सेवा गरी सबै भक्तजनहरुमा वितरण गरिएको थियो । भने साँझ बृहत सांस्कृतिक सांगीतिक कार्यक्रम सञ्चालन भएको थियो ।

प्रकृतिपूजक किरात समुदायले भूमिमा खनजोत गर्न अघि प्रकृति (पञ्चतत्व) को सेवा गरी माङवाहाङवा मागेर सबै भक्तजनहरुमा माङवाहाङवा वितरण गर्ने प्रचलन अनुसार मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ देव उपस्थितीमा हरेक वर्ष खिबेक्वा याक्वा सेवा (उभौली पर्व)को अवसरमा माङवाहाङवा )बीउविजन) वितरण हुने गरेको छ ।

सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोहको आयोजनामा सम्पन्न समारोह महा समारोह अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर