धन्य सेमुक्तुगोक मुक्कुमलुङ ! - Mangsebung News
  • बुधबार, साउन ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धन्य सेमुक्तुगोक मुक्कुमलुङ !

  • कमन देवान

‘सेभ मुक्कुमलुङ’ आन्दोलनको रूपान्तरित स्वरूप ‘नो केबलकार’

‘नो केबलकार’ आन्दोलनसँग जोडिएका टाइम लाइन घटनाक्रमहरु हेरौँ ।

– २०८१ माघ २१ गते धरानमा आइतबारको आन्दोलनमा पक्राउ परेका छ जनालाई प्रहरीले सात दिनको म्याद थप गरेर ल्याएपछि आन्दोलनरत पक्षका १५८ जनाले स्वेच्छिक गिरफतारी दिएका छन् । उनीहरु इलाका प्रहरी कार्यालय धरानमा । अघिल्लो दिन उग्र बनेको दमक दोस्रो दिन तुलनात्मक रूपमा शान्त । इटहरीलगायत अन्य स्थानहरुमा पनि प्रदर्शन, कोणसभा आदि भएका ।

– २०८१ माघ २१ गते सरकारको तर्फबाट ‘नो केबलकार’ पक्षसँग वार्ता गर्न गठित गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोली र आन्दोलनकारीतर्फबाट वार्ता सहजीकरणका लागि प्राज्ञ अमर लुम्याहाङ संयोजक र लाहुर्निपका उपाध्यक्ष शंकर लिम्बू, संस्कृति र प्रकृति संरक्षणका अभियन्ता राम मादेन र सरस्वता सिङ्गक सदस्य रहेको टोलीबीच ललितपुरमा प्रारम्भिक चरणको छलफल । केबलकार निर्माण कार्य रोक्न र आन्दोलनका क्रममा पक्राउ परेकालाई तत्काल छाड्न राखिएको माग सरकारी पक्षबाट अस्वीकारपछि बिना निष्कर्ष वार्ता स्थगित ।

– २०८१ माघ २१ गते काठमाण्डौको माइतीघर मण्डलामा ‘नो केबलकार आन्दोलन’को समर्थनमा बृहत् प्रदर्शन र कोणसभा । केबलकार खारेजीका लागि पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वमन्त्री रकम चेम्जोङलगायतबाट सम्बोधन ।

– ‘नो केबलकार’ आन्दोलनको बाछिटा ताप्लेजुङको सेमुक्तु मुक्तुगोक मुक्कुमलुङ क्षेत्र हुँदै ताप्लेजुङ जिल्लाको यातायात अवरोध हुँदै अरुण पूर्वको नौ जिल्ला लिम्बुवानभर फैलिएको छ । यो लेख तयार गर्दासम्म आन्दोलनकारी पक्षबाट घोषित नौ जिल्ला चक्काजामको आन्दोलन जारी छ । आइतबारको बन्दका क्रममा झापाको दमकबाट आठ जना र सुनसरीको धरानबाट छ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको साथै आन्दोलनका क्रममा छिटफुट यातायातका साधन तोडफोड, सुरक्षाकर्मीबाट बल प्रयोगका घटना भएको विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आएका ।

– २०८१ माघ २० गते जारी ‘नो केलबकार’ आन्दोलनका पक्षधर १० वटा विभिन्न सामाजिक सङ्घ संस्था र ९ वटा विभिन्न राजनीतिक घटकको संयुक्त विज्ञप्ति जारी भएको छ । विज्ञप्तिमा केबलकार खारेज हुनुपर्ने, काफ्लेपाटीबाट सशस्त्र प्रहरी र जनपथ प्रहरी फिर्ता गर्नुपर्ने, आन्दोलनमा घाइते भएकाको आजीवन जीवन निर्वाहको व्यवस्था चन्द्र ढकालको केबलकार निर्माण कम्पनीले गर्नुपर्ने, पाथिभरा क्षेत्र विकास समिति खारेज गर्नुपर्नेलगायत विभिन्न सात बुँदै माग राख्दै घोषित आन्दोलनका कार्यक्रम यथावत रहेको उल्लेख ।

– २०८१ माघ २० गते गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर ‘नो केबलकार’ अर्थात आन्दोलनरत पक्षलाई वार्तामा बोलायो । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला, संस्कृति, पर्यटन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहने गरी गठित चार सदस्यीय सरकारी वार्ता टोली गठन भएको जनाउसहित वार्ताका लागि आह्वान भएको अवस्था ।

– २०८१ माघ १८ गते गृह मन्त्रालयले चलान नम्बर ११३५ राखेर गरेको एउटा पत्राचारमा केबलकार निर्माणमा अवरोध भएको विषयलाई आवश्यक समन्वय गर्नु भन्ने भाषा पारेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा समस्या समाधानका लागि पहल अगाडि बढाइदिन भनेको ।

– २०८० माघ १३ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आठ बुँदामा जारी गरेको गोली काण्ड बारेको विज्ञप्तिमा आन्दोलनकारीबाट प्रहरीमाथि आक्रमण भएको र प्रहरीले आत्मरक्षाको अन्तिम विकल्पका रूपमा हवाई फायर गरेको उल्लेख । विज्ञप्तिमा प्रहरीतर्फ २१ जना घाइते भएको र केबलकार निर्माण विरोधी समूहका ४ जना घाइते भएको जनाउसहित उनीहरुलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर हुँदै हेलिकोप्टरमार्फत थप उपचारका लागि त्रि.वि. शिषण अस्पताल, महाराजगञ्ज पठाइ उपचार हुँदैगरेको विवरण सम्प्रेषित ।

– २०८० माघ १२ गते साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ‘नो केबलकार’ आन्दोलनका आन्दोलनकारीले सेल्टर लिएको (बलुडाँडा)स्थानमै गएर धरपकड र कुटपिट गरेको, गोली चलाएको र गोली लागेर दुई जना र भाग दौडका क्रममा थप एक जना गम्भीर घाइते हुन पुगी उनीहरुको हाल राजधानी काठमाण्डौस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको । सोही गोली काण्डपछि घटनाले उग्र रूप लिएको अवस्था ।

मुन्धुमी पक्ष र प्रकृतिक महत्त्व

सेमुक्तिगोक, मुक्तुबुङ, मुक्तुफोमाङ, साङसिङमुक्तु, मुक्कुमलुङ क्षेत्रको प्राकृतिक चित्र (भूगोल, बनस्पति, हावापानी, जनावर, किटपतिङ्गर, माटो इत्यादि) सबका सब पर्यावरणीय दृष्टिले अति महत्त्वका चिज हुन् । केबलकार नामक विकासले यस्ता प्रकृतिका दुर्लभ चिजहरु मात्रै मास्दैन । पर्यटनको दिगो विकासलाई पर्यावरणीय योगदान दिने अवसरबाट समेत बिमुख गर्नेमा दुईमत छैन ।

प्राकृतिक महत्त्वसँगै सेमुक्तिगोक, मुक्तुबुङ, मुक्तुफोमाङ, साङसिङमुक्तु, मुक्कुमलुङ पहाड यस भूभागको रैथाने याक्थुङ जाति जसलाई अहिले लिम्बू जाति भन्ने गरिएको छ, यो पहाड याक्थुङ जातिको उत्पत्ति, अनुष्ठान, जीवन पद्धति, संस्कार, संस्कृति र सामाजीकीकरणसँग अनोन्याश्रृत सम्बन्ध रहने मुन्धुममा वर्णित सम्पदा हो ।

बागी विचारमा ‘नो केलबकार’ आन्दोलनमाथिको बुझाइ

यो प्रष्ट छ कि अहिले केबलकार निर्माणको हवला दिएर गरिँदैगरेको अतिक्रमणको जग पुरानै हो । जस्तो कि हिजो पथिभरा करार गरेर अतिक्रमण गरियो । राज्य आफैले यस क्षेत्रको याक्थुङ मुन्धुमी निम्न नामहरु– सेमुक्तिगोक, मुक्तुबुङ, मुक्तुफोमाङ, साङसिङमुक्तु, मुक्कुमलुङ नाममाथि अतिक्रमण गरेकै हो । राज्य आफै गद्दार हो । खासगरी हिन्दु धर्मावलम्बीले पनि ‘पाथिभरा देवी’ उत्पत्ति भएको विश्वासमा यस क्षेत्रलाई तीर्थाटनका रूपमा भ्रमण गर्दछन् । त्यसको आफ्नै पाटो छ । स्पष्ट के मा हुनु पर्दछ भने पाथिभरा देवी मानेर यो पवित्रस्थललाई तीर्थ गर्नेहरु पनि आफूलाई अलिकति कष्ट दिएरै यो देवस्थलसम्म आउन जान चाहन्छन् । त्यो मतले पनि केबलकार निर्माणको विषय अनावश्यक, अप्रसाङ्गिक भएको बुझिन्छ । यसर्थ, केबलकारको औचित्य निराधार विषय हो ।

वास्तवमा एमलेका योगेश भट्टराई, डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनको भूमिका व्यापारी चन्द्र ढकालको मतियारी गर्नु भन्दा माथि होइन । जब कि ढकाल आफै दलाल पुँजीवादको बिचौलिया भन्दा माथि होइनन् । विकास र समृद्धिकै कोणबाट तर्क गर्दा पनि ढकालको केबलकार परियोजना यो देशको राष्ट्रीय अर्थतन्त्रमा टेवा पु¥याउने परियोजना होइन । यो परियोजना ढकालको निजी लाभको परियोजना हो । तर, यसबाट ताप्लेजुङका रैथानै लिम्बू समुदायको मुन्धुमी मूल्य, मान्यता, त्यहाँ सामान्य व्यवसाय गर्नेको व्यापारदेखि दैनिक तीर्थालुलाई मानव ट्याक्सीको सुविधा दिएर जिविकोपार्जन गरिरहेका मानिसहरुको गाँस, बास, कपाससहित सर्वस्व सिद्धिन्छ ।

यतिबेला पनि राज्यकै पहरा पाएर सेमुक्तु मुक्तिगोकलाई अतिक्रमण गर्नेहरुको मनोबल उच्च पारिएको छ । गोली चलाउने जस्ता राज्य आतङ्क भइरहेका छन् । दुर्भाग्य ! ‘ताप्लेजुङका जनताको अभिमत नै हामी हौँ’ भन्ने योगेश भट्टराई, डम्बरध्वज तुम्बाहाम्फे र अमिर मादेनहरु आम जनता र मुक्कुमलुङको आस्थावान सिङ्गो समुदायको आवाज थुनेर चन्द्र ढकालको निजि ढुकुटी भर्न मोहरा बनाएर अगाडि सारिएका छन् । उनीहरु टेप रेकर्ड शैलीमा ‘ताप्लेजुङको विकास र समृद्धि’ भट्टाएर थाक्ने कुरा पनि भएन । भलै, मुक्कुमलुङ उक्लने पदमार्गमा गरिएको लगानी र स्तरोन्नतिले आज यो क्षेत्र पैदल मार्गकै लागि सुविधा सम्पन्न बनेको छ । अतिरिक्त सुविधा थप्न केबलकारै चाहिने स्थिति बिलकुलै होइन ।

राज्यको जनतामारा भूमिका

यो लेखको शीर्षस्थानमै केही हरफहरु खर्च गरिएको छ । जसमा राज्यको मुन्धुमी मान्यता अनुसार याक्थुङ लिम्बू जातिका लागि यो एक पवित्र, शक्तिको मुहान वा मूल हो । अर्थात, याक्थुङ जातिको आध्यात्मिक शक्ति केन्द्र हो । र, याक्थुङ जाति नेपालका प्राचिन आदिवासीमध्येका पूर्वी नेपालको एक रैथाने जाति हो । याक्थुङ जातिको पवित्र मुन्धुमी आस्था केन्द्रमा चन्द्र ढकालहरुको ब्यापारिक दोकान राज्यको संरक्षणमा चलाउन अत्यधिक जोडबल गर्नुबाट मुख्यगरि दुई वटा सवाल जन्मिएको छ –

पहिलो, कि त यो राज्यसत्ता पुँजीवादका बिचौलिया र नोकरहरुबाट निर्देशित छ । दोस्रो, कि यो राज्य सत्तालगायत डम्बरध्वज तुम्बाहाम्फे र अमिर मादेनहरु चन्द्र ढकाल जस्ता निजी नाफाखोर बिचौलिया ब्यापारीबाट किनिएका छन् ।

यद्यपि, कोही किनिँदैमा सेमुक्तुगोकको महत्त्व, याक्थुङ जातिको मुन्धुमी मूल्य र उनीहरुको आस्थामाथि नाङ्गो नाच नाचेर घिर्लिङको दोकान थाप्ने छुट ढकाल वा अन्य कुनै बिचौलीयालाई हुने कुरै भएन ।

केबलकार विकास होइन, व्यापार हो

चन्द्र ढकालको ग्लोबल आईएमई ग्रुपको ‘पाथीभरा मुक्कुमलुङ केबलकार दर्शन प्रा.लि.’ले थालेको कथित विकास मिथ्या विकास हो । रैथाने मानव समुदाय, उसको प्रकृति, आस्था, संस्कृति, मूल्यको रक्षा नहुने विकासलाई विकास मान्न सकिन्न । यो परियोजनाले रैथाने याक्थुङ लिम्बू जाति र त्यहाँका स्थानीय जनता र उनीहरुको जीवनस्रतमा कुनै सकारात्मक प्रभाव नपार्ने तर एउटा धनाडिया व्यापारीलाई भने रातौँरात थप धनी बनाउने बाहेकको उपलब्धि केबलकार सञ्चालनबाट देखिँदैन । यसर्थ, केबलकार मात्र एउटा व्यवसाय हो । एउटा व्यापारीको दोकान चलाउन हजारौँ वर्षदेखि एउटा समुदायले मानिल्याएको, पुजिल्याएको मुन्धुमी आस्थाको केन्द्रलाई तहसनहस पर्ने कार्य कदापि विकास होइन । सेमुक्तिगोक, मुक्तुबुङ, मुक्तुफोमाङ, साङसिङमुक्तु, मुक्कुमलुङ जस्तो प्राकृतिक सम्पदा, पर्यावरणीय महत्त्वको भूगोल र वातावरण सदाका लागि नष्ट गरेर घिर्लिङ झुण्ड्याउने मूर्खताले विकास दिँदैन । हजारौँ लालिगुराँसका रुख काटेर, यहाँस्थित सयौँ वनस्पति र पर्यावरण सिध्याएर केबलकारले वातावरण विनाशको अकल्पनीय सुरुवात भने पक्कै गरेको छ । मानव जीवन र सिङ्गो पृथ्वी केबाकार नहुँदा बाँचेको थियो र बाँच्छ तर, वातावरण विनाश हुँदा बाँच्न सक्दैन ।

चन्द्र ढकालको ब्यापारिक समूहले वास्तवमै ताप्लेजुङको विकास र समृद्धिका लागि लागनी गथ्र्यो भने उसले त ताप्लेजुङका प्राकृतिक, पूरातात्विक, ऐतिहासिक, धार्मिक सम्पदाहरुको संरक्षणमा लगानी गथ्र्यो । यहाँका नागरिकको शिक्षा र स्वास्थ्यमा लगानी गथ्र्यो । बाटोघाटो, पुलपुलेसामा लगानी गथ्र्यो । यहाँको नगदे बाली अलैँचीलाई विश्व बाजारमा प्रतिस्पर्धा गराउन सक्ने प्रविधि भित्राएर अलैँची कृषकलाई प्रोत्साहन गर्न सक्थ्यो । फक्ताङलुङ र सेन्छेलुङ हिमालतर्फ जाने पर्यटकका लागि यातायात पूर्वाधारमा लगानी गथ्र्यो । होटल र रिसोर्टहरुमा लगानी गथ्र्यो । रैथाने ज्ञान र सीपको संरक्षण, प्रवद्र्धन र बजारीकरणमा लागनी गथ्र्यो । जडिबुटीको खानी ताप्लेजुङका कुनाकन्दराहरुमा जडिबुटी प्रशोधन केन्द्रमात्रै खोल्ने थिएनन्, औषधि कारखाना लगाइसकेका हुन्थे । र, यी विभिन्न क्षेत्रमा ताप्लेजुङ जिल्लाका करिब आधा जनसङ्ख्या प्रत्यक्ष र परोक्ष रोजगारीमा संलग्न हुन्थे । यसले बल्ल वास्तवमा जिल्लाको समृद्धि सम्भव हुने थियो ।

पुँजीवाद र रैथाने ज्ञान सत्ताबीचको लडाँइ

हामीले पुस्तकहरुमा पढेका छौँ, पुँजीवादको साम्राज्य पृथ्वीभर थियो । तर, जब रैथाने ज्ञान, मौलिक चेतना र अस्तित्व र पहिचानको हुटहुटीले मानव जातिलाई तरङ्गित ग¥यो, तब–तब ठूला–ठूला राष्ट्रिय मुक्तिका क्रान्ति र आन्दोलनहरु भए । बहुराष्ट्रिय कम्पनीका नाउँमा साम्राज्यवादको खोल ओढेको पुँजीवाद क्रमशः परास्त हुँदै गयो । पूर्वी नेपालको सन्दर्भमा वा लिम्बुवान भूमिको सन्दर्भमा याक्थुङ जातिको मुन्धुमी धरोहर सेमुक्तु मुक्तिगोक वा मुक्कुमलुङ वा सेमुक्तु मुक्तिबुङ जे भनौँ, यस पवित्र माटोमा अहिले केबलकार नामको विकास परियोजना कथित र देखावटी विकास मात्रै हो । यो स्थलमा केवलकार नबन्दा पनि समग्र सेमुक्तु क्षेत्रप्रतिको आम मानिसको आस्था, श्रद्धा र मूल्य मान्यता हटेको र थिएन र आगामी दिनमा थप उच्च भएर जाने छ ।

यसर्थ, यो त पुँजीवादले आफ्ना बिचौलिया र भरियाहरुमार्फत यक्थुङ जातिको प्राचिन र मौलिक मुन्धुमी आस्थामाथि प्रहार केन्दृत गर्ने, याक्थुङहरुलाई यस स्थलबाट मात्रै नभई कालान्तरमा ग्लोबबाटै विस्थापित गर्ने रणनीतिको सुरुवाती कदम हो । नेपालको राज्य विस्तारदेखि सेमुक्तुगोक मुक्कुमलुङमाथिको केबलकारे विकासको रणनीतिलाई अहिले बुझ्न नसक्ने हो र यसलाई प्रतिवाद नगर्ने हो भने कालान्तरमा यसले समग्र नेपाली माटोको मौलिकता र त्यससँग आश्रित, निश्रित ज्ञानसत्तालाई नै सदाका लागि मारिदिन्छ र नेपाल र नेपालीलाई पहिचान विहिन बनाइदिन्छ । यसतर्फ सबै पक्ष गम्भीर हुन आवश्यक छ । किनकि यो प्रविधिको खरिद, यसको मर्मत सम्भार, पार्टपुर्जा खरिद सबै कायमा विदेशी कम्पनीले नै लाभ लिने हो । मुनाफा ढकालको पोल्टामा पर्ने हो । त्यसले ताप्लेजुङलाई घिर्लिङ झुण्डिएको दृश्य बाहेक अरु समृद्धि दिँदैन ।

टुङ्ग्याउनी

आज मुन्धुम, संस्कृति, प्रकृति र पर्यावरणमाथिको अतिक्रमणविरुद्ध आन्दोलन र अभियान गरिरहेकाहरु जीवन नै हत्केलामा राखेर भिडिरहेका छन् । यसर्थ, मुक्कुमलुङ बचाउका नाममा सेमुक्तु मुक्तिगोकमाथिको अतिक्रमण निस्तेज गर्न जे जस्ता प्रयासहरु गरिएका र भैरहेका छन् । सह–अस्तित्वमा विश्वास गर्ने, मौलिकतामा विश्वास गर्ने, प्रकृतिमा विश्वास गर्ने, पर्यावरणमा विश्वास गर्ने याक्थुङ, गैरयाक्थुङ, आदिवासी, गैरआदिवासी जो कसैले सेमुक्क्तु मुक्तिगोक मुक्कुमलुङको मुन्धुमी महत्त्व, प्राकृतिक र मौलिक पक्ष संरक्षणमा भौतिक, नैतिक र आवश्यक अन्य सबै किसिमको सहयोग गर्न र आवाज उठाउन, बिचौलियाहरुको प्रतिवाद गर्न धुर लाग्नु पर्ने अवस्था छ । अन्यथा, यहाँ पनि अनेक बहानामा विभाजनको रेखा कोरेर दलाल र बिचौलियाका मतियारहरुले सदाका निम्ति मुक्कुमलुङको मौलिक अस्तित्व निमिट्यान्न पार्ने छन् । उस्तै अनुहारका दुई चार जना लठैत जमात उफारेर केबलकारे विकासको रटान लागनु र लगाउनुका पछाडिको खेल सबैले बुझेकै छन् । ‘अरुको लाख र आमाको काख कदापि मिल्दैन’ भन्ने लोकउक्ति भूल्नु हुँदैन । पैसाका लागि आफ्नो मौलिक आस्थामाथि नै खेलबाड गर्नु कुनै पनि याक्थुङ लिम्बू र स्थानीय ताप्लेजुङेका लागि सुहाउनु कुरा होइन । किनकि उनीहरुले आएको अन्न, पिएको पानी र फेरेको स्वास पनि त्यहि पवित्र मुक्कुमलुङ क्षेत्रको प्रकृतिकै हो ।

यसै पनि बिचौलीया पुँजीवादले मौलिक र रैथाने ज्ञान, दर्शन, मूल्य, मान्यता, आस्थाका धरोहर र ज्ञानको उत्पत्तिमाथि प्रहार गर्ने, रैथाने ज्ञान र दर्शनका संरक्षणकर्ताबीच अनेक प्रपञ्च रचेर विग्रह उत्पन्न गराउने, आपसमा भिडाउने र मराउने, एकता र शक्ति कमजोर पारेर अन्ततः चिज आफ्नो पोल्टामा पारेर कुत्सित चाहना पूरा गर्ने र स्वार्थ अनुकूल त्यसमाथि हाँसीहाँसी नाचीनाची ब्यापार गर्ने गरेकै हुन् । अहिले मुक्कुमलुङ क्षेत्रलाई ढकालमार्फत दलाल विचौलियाहरुले यहि प्रपञ्चमा पारेका हुन् । यो षड्यन्त्रको जालो तोडिन आवश्यक छ । यतिबेला जुन अपार आत्मबल र सहासका साथ चन्द्र ढकालको बिचौलिया टोलीलाई टक्कर दिने, प्रतिरोध गर्ने, चेतावनी दिने र मुन्धुमी आस्थामाथिको प्रहारलाई निस्तेज पार्ने संघर्ष जारी छ, यो अभूतपूर्व छ । अस्तित्वको निम्ति विश्वभर रगत बगेका थुप्रै घटना हामीले इतिहासको पानामा पढेका छौँ । सेमुक्तु मुक्तिगोक मुक्कुमलुङ संरक्षणका लागि वर्तमानमा भैरहेको प्रतिरोधले पनि आफूलाई अस्तित्व रक्षाको सुन्दर इतिहासमा दर्ज गर्नेमा दुईमत छैन ।

सम्बन्धित खवर