इमानको आयोजनामा कर्मा र कुटुम्बले आदिवासी रंगशाला तत्ताउने - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इमानको आयोजनामा कर्मा र कुटुम्बले आदिवासी रंगशाला तत्ताउने

दमक । लोक र रक संगीतको सफल मिश्रण गरेर ख्याती कमाएको सांगितिक नाम हो कर्मा ब्याण्ड । त्यसैगरी नेपाली लोक बाजाको संरक्षणमा जुटिरहेको अर्को सांगितिक समूह हो, कुटुम्ब ब्याण्ड । आउँदो फागुन १४ गते शिवरात्रीका दिन झापाको कमल ५ स्थित आदिवासी रंगशालामा यी दुई ब्याण्ड एकैसाथ प्रस्तुत हुने भएका छन् । जाडोको प्रकोपले झापालाई छाड्दै गर्दा कर्मा र कुटुम्बले भने पूर्वको महोल तताउन लागेका हुन् ।

झापाका दर्शक स्रोतालाई नचाउन यी दुई ब्याण्डको संयुक्त प्रस्तुति हुने बारे सोमबार कन्सर्ट आयोजनास्थल आदिवासी रंगशालामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

‘एकै स्वरमा कीर्तिपुरमा’ नारासहित यी दुई चर्चित ब्याण्डले गत मंसिर २२ गते कीर्तिपुरस्थित लेब्रोटरी स्कूलको प्राङ्गणमा प्रस्तुति दिएका थिए । ‘कर्मा लाइभ इन कन्सर्ट सँगसँगै कुटुम्ब’ नाम दिइएको कन्सर्टको आयोजना इभेन्ट मेनेजमेन्ट एसोशिएसन अफ नेपाल (इमान)को प्रदेशस्तरीय समितिले गर्न लागेको हो ।

‘लोकप्रिय ब्याण्डहरु कर्मा र कुटुम्बलाई लिएर विशेष सांगीतिक कन्सर्ट गर्न लागेका छौँ’,इभेन्ट मेनेजमेन्ट एसोशिएसन अफ नेपाल (इमान) का प्रदेश अध्यक्ष मोनित महर्जनले भने ।

आयोजकको योजना र कार्यक्रमबारे सुन्दा नै खुशी लागेको भन्दै आदिवासी रंगशालालाई कार्यक्रमका लागि चुनिदिने काम गरेको भन्दै कमल ५ का वडा अध्यक्ष लालबहादुर विष्टले खुशी व्यक्ति गरे । ‘आदिवासी रंगशालालाई सबै माझ चिनाउन, सांगितिक क्षेत्रमा रुची राख्ने पुस्तालाई प्रोत्साहित गर्न र विपन्न र अपाङशगता भएका विद्यार्थी बालबालिकाको शिक्षामा सहयोगका लागि समेत यो कार्यक्रमको बहुआयामिक महत्त्व छ’, वडा अध्यक्ष विष्टले भने ।

सांगितिक मनोरञ्जन र रमाइलोसँगै कन्सर्टको उद्देश्य कमल गाउँपालिकाभित्रका आर्थिक स्थिति कमजोर भएका २० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने र कमल ५ स्थित मंगलमय माविमा अध्ययनरत ३० जना बहिरा विद्यार्थीका लागि आवश्यक न्यायो कपडा र शैक्षिक सामग्री सहयोग गर्ने रहेको आयोजकको भनाइ छ । त्यस्तै, भैपरी आउँदा इमानका सदस्यहरुलाई सहयोग गर्नेगरी कोष खडा गरिने बताइएको छ ।

डिजिटल वालेट खल्ती एपबाटसमेट टिकट बिक्री सुरु गरेको कन्सर्ट आयोजकले कर्मा र कुटुम्बको प्रस्तुति हेर्न युवा पुस्ता, विद्यार्थीसहित १० हजार बढी सहभागी हुने बताएको छ । फ्यान पिट (अगाडिको भाग) र नर्मल (पछाडिको भाग) का लागि क्रमशः ७७७ र ५५५ रूपैयाँ टिकट शुल्क निर्धारण गरिएको आयोजकको भनाइ छ । साथै, विद्यार्थीका लागि फ्यान पिट (अगाडिको भाग) र नर्मल (पछाडिको भाग) का लागि क्रमशः ४०० र ३०० टिकट सहुलियतमा उपलब्ध गराइने बताइएको हो ।

टिकटका लागि झापाको सूरुङ्गा, विर्तामोड, भद्रपुर, काँकडभिट्टा, दमकसहित मुख्य सहरहरुमा मंगलबारदेखि नै कलेजलक्षित अभियान सुरु गर्ने आयोजकको भनाइ छ । टिकटका लागि आउटलेटहरु सञ्चालन गर्ने इमानका सदस्य सुमन खत्रीले बताए ।

कन्सर्टको टिकट बिक्री, अन्य दाताहरुको समेत सहयोग लिइने कन्सर्टबाट अनुमानित १० लाख आम्दानी हुने आयोजकले अपेक्षा रहेको कार्यक्रमका सहयोग अभियानका संयोजक अर्जुन थापाको भनाइ छ । ५० लाख अनुमानित आम्दानी हुने कन्सर्टमा करिब ४० लाख खर्च हुने आयोजकको भनाइ छ ।

इमानले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चार संयोजक धीरज श्रेष्ठ, मंगलमय माविका प्रतिनिधिलगायत सहभागी थिए ।

सम्बन्धित खवर