सरकारी टोलीसँगको वार्ता निष्कर्षविहीन : मुक्कुमलुङ संघर्ष समिति आन्दोलनको तयारीमा - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारी टोलीसँगको वार्ता निष्कर्षविहीन : मुक्कुमलुङ संघर्ष समिति आन्दोलनको तयारीमा

माङसेबुङ । मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितीको वार्ता सहजीकरण समिति र सरकारी टोलीविचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।

आइतबार दिउँसो काठमाडौं सिंहदरबारस्थित होटल बसेरामा बसेको वार्तामा मागको विषयमा सहमति कायम हुन नसक्दा वार्ता निचोडमा पुग्न नसकेको हो ।

सरकारी टोलीसँग वार्तामा सहमति हुन नसकेपछि ताप्लेजुङस्थित मुक्लुमलुङ (पाथीभरा) मा केबलकार निर्माणको विरोधमा आन्दोलनरत ‘नो केबलकार समूह’ ले थप आन्दोलन गर्ने तयारी गरेको छ ।

‘नो केबलकार आन्दोलनको तर्फबाट सहजीकरण वार्ता टोलीमा मुक्कुमलुङ फा?सिङ ताङसेपबाट सरु सिङ्गक, कियाचुबाट यासेली योङ्हाङ, किरात धर्म तथा साहित्य उत्थान संघबाट सूर्य विक्रम चेम्जोङ, राष्ट्रिय मुक्ति पार्टीबाट सन्तोष मेहेता, पहिचानवादी मोर्चाबाट खगेन्द्र माखिम, नागरिक उन्मुक्ति पार्टीबाट दिलकुमार लाओती, जसपाबाट आङकाजी शेर्पा, नेपाल जनमुक्ति पार्टीबाट राजकुमार नाल्वो, संलोरामबाट रन्धोज ताम्लिङ रहेका थिए ।

सर्वाेच्च अदालतमा विचाराधीन रहेको मुद्दा भएपनि जबर्जस्ती केबुलकार निर्माणको परियोजना अगाडि बढाएको भन्दै अधिवक्ता शङ्कर लिम्बु सहितको कानुन व्यवसायीहरूले दायर गरेको मुद्दामाथि आजै पेसी बहस तोकिएपनि पूर्व न्यायधिसको निधन भएको भई मुद्दाका बहस नभएको जनाइएको छ ।

प्रक्रियाहरू पूरा नगरेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरूको बर्खिलाप गरेको भन्दै दुई दर्जन बढी व्यक्ति, संघसंस्था, राजनीतिक दल र समूहले सरकार, परियोजना र कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् ।

काठमाडौं माईतीघर मण्डलामा आन्दोलनरत पक्षका वार्ता सहजीकरणका सदस्यहरुले पत्रकारहरुसँग साक्षातकार गर्दै आजसम्ममा पनि मन्त्रीस्तरको वार्ता समिति सरकारले घोषणा नगरे माघ २८ गते पत्रकार सम्मेलन मार्फत नयाँ चरणको आन्दोलन घोषणा गर्ने मुक्कुमलुङ संरक्षण संघर्ष समितिले जनाएको छ ।

कार्यक्रममा संघर्ष समितिका नेताहरु पूर्व मन्त्री गोपाल किराती, खगेन्द्र माखिम, संविधानसभा सदस्य राजकुमार नाल्बो, सरु सिंगक, नेता आङकाजी शेर्पा लगायतका नेताहरुले आ–आफ्ना विचार राख्दै सरकारसँगको सहजीकरणबाट मुक्कमुलुङमा केवलकार निर्माण खारेजी आन्दोलनको बारेमा प्रष्ट पारेका थिए ।

आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहताले मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै संवाद गरिने बताएका छन् । आज आइतबार साँझसम्म यसका लागि सरकारले पहल नगरे आन्दोलनका कार्यक्रम घोषणा हुने उनको भनाइ छ ।

वार्ताका क्रममा सरकारी टोलीले केबलकार बन्ने र त्यसका लागि सेयर, रोजगारीलगायतमा मिलाउने प्रस्ताव गरेको आन्दोलनरत पक्षले जनाएको छ । उक्त विषयमा आन्दोलनरत पक्षले असहमति जनाएको छ ।

यसअघि माघ २२ गते भएको वार्तामा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्कालका लागि रोक्ने सहमति भएको थियो । सहमतिपछि आन्दोलन स्थगित भएको थियो ।

यसैबीच, ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद योगेश भट्टराईले आन्दोलनरत पक्षसँग कुराकानी गरेका छन् । कुराकानीपछि उनले गृहमन्त्रीसँग भेट गर्ने आन्दोलनकारीको आग्रह अनुसार भोलि सोमबार भेट हुने बताएका छन् ।

आन्दोलनकारीसँगको भेटपछि उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्–

आज बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म निर्माणाधीन पाथीभरा केवलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधि मित्रहरूसंग सौहाद्रपूर्ण संवाद गरिया े। वहाँहरूका कुरा सुने । मेरा कुरा भने ।

वहाँहरूले माननीय गृह मन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राख्न चाहनु भएको र त्यस्को समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरें। माननीय गृह मन्त्रीज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनु भएको जानकारी गराउँदछु ।

आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फत् समस्याको समाधान गर्न अनुरोध गर्दछु ।’

सम्बन्धित खवर