धर्म कर्म सुधार गरेर लानुपर्छ : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धर्म कर्म सुधार गरेर लानुपर्छ : अङसीमाङ आत्मानन्द सेइङ

माङसेबुङ । दुःख र अभावबाट मुक्त हुन धर्म कर्म चिन्नुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । ‘हाम्रो धर्म कर्म सुधार गरेर लानुपर्छ’ आशीर्वचनमा वहाँले थप्नुभयो, ‘खानपिनमा शुद्धता भयौं भने हाम्रो दिमागको विकास हुन्छ ।’

धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङमा शनिबार आयोजित मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।

‘आत्मामा सत्य छ भने माङको बाँस हुन्छ’ आशीर्वचनमा वहाँले थप्नुभयो, ‘सत्य चिजलाई सत्यनै सम्झन्नुपर्छ । सबैले माङप्रति विश्वास राखौं, सत्यमा विश्वास गरौं ।’

‘माङको भक्ति गर्ने मान्छे चाहिन्छ त्यसैले माङले हामी मान्छेलाई बचाउनुपर्छ ।’ अङसीमाङले अगाडि भन्नुभयो ‘संसारमा नरसंहार भयो भने कसले माङको भक्ति गर्छ ।’

आशीर्वचनको क्रममा अङसीमाङज्यूकोले सत्य र शान्तिको बाटो किरात धर्म दर्शनमा सबै सहभागि हुन आग्रह गर्नु हुँदै अङसीमाङले सुनाउनुभयो, ‘तपाईहरु सबैले किरात धर्ममा आएर बुझ्नुहोस् । किरात धर्म दर्शनलाई संसारभर फैलाउनु होस् ।’

महासमारोह माङसेवा विभागका संयोजक तथा किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अनुसार फागुन १ गते साक्मुरा वादेम्मा सेवा र आज २ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न गरिएको छ ।

महासमारोहको समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का सांसद तथा पूर्व स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बू रहनु भएको थियो । भने कार्यक्रममा नेपालको विभिन्न जिल्लाबाट किरात धर्मावलम्बी भक्तजनहरु सहभागि हुनु भएको थियो । त्यसैगरी भारत, भूटान, संयुक्त राज्य अमेरिका, युके, हङकङ लगायतका मुलुकबाट किरात धर्मावलम्बीहरु समारोहमा सहभागि भएका थिए । विशेष महासमारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा समेत सम्पन्न भएको छ । नुमाङगेन्ना सेवामा ६९ जना माङसेवासाबा, माङसेवासामाबाट किरात साम्जीक मुन्धुम वाचन गरिएको थियो ।

समारोहका अध्यक्ष योङहाङका अनुसार विगतका वर्षझै यस वर्ष पनि अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम समेत सम्पन्न गरिएको छ । यसका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गरेको थियो। नुमाङगेन्ना सेवाको अवसरमा यस प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि महासमारोहले व्यवस्थापन गरेको थियो ।

जन्मोत्सव कार्यक्रम अन्तर्गत फागुन ४ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माडआशीर्वचन प्रदान हुनका साथै मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा अभिनन्दन चढाउने, मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन समेत गरिएको थियो । भने माङगेन्ना चामल वितरणसँगै महासमारोह समापन भएको थियो ।

कार्यक्रममा पवित्रहाङमा साहित्य पुरस्कार २०८१ द्वारा लेखक तथा साहित्यकार भीमा खजुम मुसुमलाई सम्मान गरिएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोह समितिका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न महासमारोहलाइ सरिता राईले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

सम्बन्धित खवर