माङसेबुङ । जनता समाजवादी पार्टी नेपालले ‘नो केबलकार’ आन्दोलनका अभियान्ताहरुमाथि ताप्लेजुङको फुङलिङमा शनिबार राति भएको दमन, धरपकड र आक्रमणको विरोधमा कोण सभाहरु गर्ने भएको छ ।
जसपा नेपाल प्रदेश १ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘मध्येरातको समयमा प्रहरी र सशस्त्र प्रहरीले नो केबलकार आन्दोलनमा संलग्न आन्दोलनकारीलाई आराम गरिरहेको अवस्थामा घरघरमा अश्रु ग्यास प्रहार गरेर नियन्त्रणमा लिएको, सुतिरहेको स्थानहरुबाट पक्राउ गरेको, कुटपिट गरी गम्भीर घाइते बनाएको साथै कतिपय आन्दोलनकारी अगुवाहरुलाई बेपत्ता बनाएको समेत जानकारीमा आएको छ ।’
उसले घाइतेहरुको निःशुल्क उपचार गर्न, बेपत्ता पारिएकाहरुको अवस्था तत्काल सार्वजनिक गर्न र पक्राउ परेका सबै नो केबलकार अभियान्ताहरुलाई बिनाशर्त तत्काल रिहाई गर्न माग गरेको हो ।
मुन्धुमी, साँस्कृतिक, धार्मिक आस्था र पर्यावरणीय पक्षको रक्षा गर्नुपर्ने भन्दै जारी विज्ञप्तिमा थप भनिएको छ –‘कथित विकासका नाउँमा चन्द्र ढकाल नामक दलाल बिचौलिया ब्यापारीको मुनाफाखोरी केबलकार निर्माण परियोजना तत्काल खारेज गर्न जसपा नेपाल पुनः जोडदार माग गर्दछ ।’
राज्य प्रशासन पछिल्लो समय जनघाती बन्दै गएको आरोप लगाउँदै जसपा नेपालले सरकारी पक्षको सो कार्यको भण्डाफोर गर्न र निरन्तर नो केबलकार आन्दोलनमा सहभागी हुन, समर्थन गर्न आफ्ना पार्टी सम्बद्ध संगठन र नेता कार्यकर्तालाई निर्देशनसमेत दिएको छ ।