दमक । निर्देशक सागर केरुङको लेखन तथा निर्देशन रहेको लिम्बू भाषाको चलचित्र ‘चे’ फागुन २६ गते दमकमा प्रदर्शन गरिने भएको छ ।
आधुनिक विकासका नाममा लिम्बू जातिहरु आन्तरिक र बाह्य रुपमा कसरी लास सरह भइरहेका छन् भन्ने कुरालाई इंकित गर्दै निर्माण गरिएको अर्थात चलचित्र ‘चे’ ‘लास’को फागुन २६ मा दमकस्थित डिम्याक्स सिनेमा हलमा विशेष प्रदर्शनी गरिने भएको हो ।
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि. र लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकले शनिबार दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र फागुन २६ मा दमकस्थित डिम्याक्स सिनेमा हलमा विशेष प्रदर्शनी हुने जानकारी गराएको छ ।
निर्माता समेत रहनु भएका चलचित्रका लेखक एवम् निर्देशक सागर केरुङले आधुनिक विकासका नाममा याक्थुङ आदिवासीहरुको चे (लास) समाधि गर्ने स्थल नासिएको विषयलाई साँस्कृतिक गाम्भिर्यताका रुपमा चलचित्रमा उतारिएको बताउनु भयो ।
चलचित्र आधुनिकताका नाममा सांस्कृतिक सम्पदा नास्ने र जोगाउने बीचको द्वन्दात्मक कथाका रुपमा रहेको प्रष्ट्याउनु भयो ।
कार्यक्रममा मुन्धुमी गायक ब्रबिम सेर्मा, निर्देशक लोकेन साँवा, बरिष्ठ कलाकार राज काउछा मगर, कियाचु लिम्बुवान प्रदेश सचिव साङसेन पन्धाक, कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, नगर अध्यक्ष देवेन्द्र चेम्जोङ, याक्थुङ मुन्चइत चोक सयङ लिम्बुवान प्रदेश अध्यक्ष भुपेन्द्र तुम्बाहाङफे लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा कलाकार प्रमिता फियाकको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रम लिम्बु भाषा साहित्य प्रतिष्ठानका कुलपति सेसेमी से नाल्बोको अध्यक्षता र दिलकुमार लावतीको संचालनमा भएको थियो ।