माङसेबुङ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपोभूमि एवम् समाधिस्थ स्थल पान्थरको ऐतिहासिक देवभुमि नाम्भुनयक सिलौटीमा २२औं नेम्बाङ बार्षिक सेवा हुने भएको छ ।
किरात याक्थुङ पेभाकुम नेम्बाङ सङ्जुम्भो इलाम तथा २२औं बार्षिक सेवा समारोह २०८१ नाम्भुनयक पान्थरको आयोजनामा आगमी चैत १२, १३ र १४ गते तीन दिनसम्म २२औं नेम्बाङ बार्षिक सेवा हुने भएको हो ।
नेम्वाङ वंशको एकता, शान्ति, समृद्धि एवम् क्षमाप्राप्ति र मानव शान्तिका लागि सेवाको आयोजना गरिएको आयोजक किरात याक्थुङ पेभाकुम नेम्बाङ सङ्जुम्भोको अध्यक्ष नन्द कुमार नेम्बाङले बताए ।
वर्षेनी वार्षिक सेवा गर्नाले नेम्बाङ बंशमा एकताको सन्देश दिन सफल हुँदै आएको अध्यक्ष नेम्बाङले बताए । अध्यक्ष नेम्बाङका अनुसार नेम्बाङ वंशमा देखिएका विकृति विसंगति(साइनो मिच्ने/नमान्ने)को अन्त्य गर्दै नेम्बाङ एकताको सन्देश प्रवाह गर्नको लागि पनि वार्षिक सेवाको आयोजना गरिएको बताए ।
बार्षिक सेवाको पहिलो दिन चैत १२ गते फिदिम ७ स्थित ऐतिहासिक देवभुमि तिदाङवा–आप्ताङवामा साकमुरा माङहुप वदेम्मा सेवा हुने भएको छ ।
यसैगरि चैत १३ महागुरु फाल्गुनन्द तपोभुमि एवम् समाधिस्थल नाम्भुनयक शिलौटीमा सावायेत लाधुङसेमी सेवा १ लाख ८ हजार १ सय आठ दीप प्रज्वलन गरि सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।
यस्तै चैत १४ गते कुयाम सेमा सेवासँगै विदाई कार्यक्रम रहेको र सेवामा प्रत्येक दिन १ लाख ८ हजार १ सय आठ दीप प्रज्वलन गरिने आयोजकका अध्यक्ष नन्द कुमार नेम्बाङले बताए ।
यस वार्षिक सेवामा उपस्थितिको लागि शुभेच्छुक सवैमा आयोजकले अपिल समेत गरेको छ ।