इलाममा श्रीमतीको हत्या गरी गाड्ने श्रीमानलाई प्रहरीले पक्राउ गरि सार्वजनिक - Mangsebung News
  • मङ्गलबार, जेठ १२, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा श्रीमतीको हत्या गरी गाड्ने श्रीमानलाई प्रहरीले पक्राउ गरि सार्वजनिक

इलाम । इलाममा आफ्नै श्रीमतीको हत्या गरी गाड्ने श्रीमानलाई प्रहरीले पक्राउ गरि आईतबार सार्वजनिक गरेको छ ।

जिल्लाको फाकफोकथुम गाउँपालिका–३ सल्लेरीका २५ वर्षीय उमेश गिरीले आफ्नी १९ वर्षीया श्रीमती विमला कट्टेलको हत्या गरी गाडेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

इलाम प्रहरी प्रमुख एक नारायण कोईरालाले दिएको जानकारी अनुसार गत चैत १ गते श्रीमती हराएको भन्दै प्रहरीमा निवेदन दिएका गिरीले नै हत्या गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गिरीले फागुन २९ गते राति ११ः५० बजे श्रीमतीको हत्या गरी फाकफोकथुम गाउँपालिका–२ धार्ने खोपस्थित दाहाल गोलाईमा खाल्डो खनी गाडेका थिए ।

श्रीमती हराएको निवेदन परेपछि प्रहरीले विशेष अनुसन्धान टोली गठन गरी अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा गिरीले हत्या गरेको स्वीकार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले गिरीले देखाएको स्थानबाट चैत १५ गते बिहान १ बजे शव उत्खनन गरी पोस्टमार्टमका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामले गिरीलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको छ। कर्तव्य ज्यान मुद्दामा गिरीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी प्रमुख कोइरालाले जानकारी दिएका छन । यो घटनाले इलाममा सनसनी मच्चाएको छ ।

नयाँबुलन्दबाट

सम्बन्धित खवर