माङसेबुङ । चेतन आङ्थुपोको निर्देशनमा तयार पारिएको नाटक ‘उर्फ दारासिंह’ मंगलबार (वैशाख १६) देखि मञ्चन हुने भएको छ ।
काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा आगामी जेठ ११ सम्म मञ्चन हुने नाटक ‘उर्फ दारासिंह’ सुमन लिङदेनले लेखेका हुन् ।
नाटक सोमबारबाहेक प्रत्येकदिन साँझ ५ः३० बजे मञ्चन हुने निर्देशक आङथुपोले जानकारी दिए । उनका अनुसार शनिबार दिउँसो १ः१५ बजे नाटक अतिरिक्त प्रदर्शन हुनेछ ।
चुलाचुली रंगमञ्चको प्रस्तुति तथा एक थिएटरको सहकार्यमा मञ्चन हुन लागेको नाटकमा आकाश सुहाङ, अञ्जना राई, प्रविन मगर, लहना राई, मन कुमार योङहाङ, दावा शेर्पा लगायतले अभिनय गर्ने भएका छन् ।
रुपेश लामाको सह निर्देशन र सुमन राई निर्माता रहेको नाटक उर्फ दारासिंह अर्थात् कर्ण बहादुर केरुङको जीवन कथामा आधारित रहेको छ ।
तत्कालीन पञ्चायत सरकारले ल्याएको भूमि व्यवस्थापनको योजनामा झोडा, जमिन सट्टाभर्नाजस्ता राजनैतिक कोपभाजनमा परेर २०३७ सालमा दारासिङको मृत्यु भएको थियो । उनले भूमि संरक्षणका लागि गरेको संघर्ष र योगदानलाई रंगमञ्चमा देखाउन लागेको निर्देशक आङथुपोले बताए ।
‘पञ्चायत सरकारको समयमा नेपालको पूर्वी जिल्लाहरूमा भूमि फँडानी गर्न आएका भूपू सैनिहरूको संरक्षकको रुपमा क्रममा केरुङले गरेको काम, भोगेका समस्यालाई नाटकमा प्रस्तुत गर्न लागेका हौँ ।’ उनले भने, ‘त्यतिखेर उहाँलाई समाजमा खुङ्खार र डरलाग्दो मानिएको प्रेरणाको पात्र मान्नुहुन्थ्यो । उहाँको कुरा इतिहासमा नभनिएकोले हामीले नाटकमार्फत भन्न खोजेका हौँ ।’