वर्तमान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’को गहन तपोभूमि । तस्विर : प्रविन सेलिङ सेन्दो
- काकीराम लावती ‘आन्छुमे नसान’
१. माङसेबुङको ऐतिहासिक पृष्ठभूमि
नेपालको सुदूरपूर्वी जिल्ला इलामको दक्षिण–पश्चिमी भागमा अवस्थित माङसेबुङ गाउँपालिका एक ऐतिहासिक, सँंस्कृतिक, धार्मिक तथा प्राकृतिक दृष्टिले विशिष्ट महत्त्व बोकेको क्षेत्र हो । ‘माङसेबुङ’ शब्द किरात लिम्बू भाषा शब्दबाट आएको हो –जहाँ ‘माङ’ भन्नाले देवीदेवता, ‘से’ भन्नाले रोजेको वा छानेको, र ‘बुङ’ भन्नाले बासस्थान वा स्थल भन्ने बुझिन्छ । तसर्थ, ‘माङसेबुङ’ भन्नाले माङ (देवीदेवता) ले रोजेको पवित्र स्थल भन्ने स्पष्ट अर्थ लाग्छ ।
यो गाउँपालिका भाषा, धर्म, संस्कृति तथा पर्यटनका दृष्टिले धनी हुनका साथै यस क्षेत्रको धार्मिक महत्त्वसँगै यसको साँस्कृतिक र भाषिक विविधता पनि अध्ययनको प्रमुख विषय बन्न पुगेको छ । किरात धर्मावलम्बीहरूका लागि मात्र नभई अन्य धर्म तथा संस्कृतिमा चासो राख्ने अनुसन्धानकर्ताहरूका लागि पनि यो क्षेत्र आकर्षणको केन्द्र बनेको छ ।
२. फुलुङगी नामको व्युत्पत्ति
‘फुलुङगी’ नामको उत्पत्ति किरात लिम्बू समुदायको मौलिक परम्परा र बोलीचालीसँग सम्बन्धित छ । जनश्रुतिअनुसार, माघे संक्रान्तिको अवसरमा पूर्वजहरू एकत्र भई पौडी खेल्न जम्मा हुने गर्दथे । पौडी खेल्ने क्रममा पानीमा डुबुल्की मारेर निस्कदा पानीको चिसोले शरीर काँप्दा निस्कने ‘फुलुक्लुक्लुक्’ कम्पनबाट ‘फुलुङगी’ नाम रहन गएको हो । यस सम्बन्धमा सन् २०८० मा प्रकाशित मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’को गुरु आशीर्वचन संग्रह ‘मैले तपाईंहरुलाई चोख्याएको छु’ मा विस्तृत उल्लेख छ । त्यसैले यस लेखमा गुफा डाँडालाई ‘फुलुङगी’ भनी उल्लेख गरिएको हो ।
सेवा पूजाको तयारीको लागि सजाइएको किरात धर्मगुरु तपोभुमि फुलुङगी । तस्विर : सुक योङहाङ
३. फुलुङगीः धर्मगुरुको तपोभूमिको परिचय
माङसेबुङ गाउँपालिका–३ (साविक इभाङ–८) मा अवस्थित फुलुङगी वा गुफाडाँडा वर्तमान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’को गहन तपोभूमि हो । वि.सं. २०२७ सालको साउन २५ गतेदेखि माघ २५ गतेसम्म बालागुरुले यही स्थलमा करिब ६ महिनासम्म एकान्त ध्यान साधना गरी समाधिज्ञान प्राप्त गर्नुभएको थियो ।
इलामको प्रमुख खोलाहरू—माई खोला, देउमाई खोला र मेक्वाखोलाको संगमस्थलमा अवस्थित फुलुङगी किरात धर्मावलम्बीहरूका लागि ज्ञान, ध्यान र आत्मबोधको केन्द्र बनेको छ । जसले यसलाई प्राकृतिक रूपमा पनि अत्यन्त पवित्र र विशिष्ट बनाएको छ । समाधिस्थ गुफा भएकोले यो स्थानलाई ‘गुफाडाँडा’ पनि भनिन्छ ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ले लामो समयसम्म गुफा ध्यान बस्नुभएपछि समाधिज्ञान प्राप्त गर्नुभएको पवित्र ठाउँ भएकोले यसलाई गुफाडाँडा भनिएको हो (लछुमण राई (जनम)सँगको कुराकानीमा आधारित) ।
४. फुलुङगी बारे पूर्व चर्चा
फुलुङगी क्षेत्रले धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले विशिष्ट पहिचान बनाएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ले यस पुण्यभूमिमा गुफासाधना गर्नुभएको ऐतिहासिक विवरण विभिन्न लेखकहरूले आफ्ना कृति, पत्रपत्रिका तथा अनलाइन मिडियामार्फत प्रस्तुत गरेका छन् । यस्ता विवरणहरूले फुलुङगीको महत्व अझ चुल्याएको छ । यस पवित्र एवम् पुण्यभूमिको ऐहिासिक वर्णन, चिनारी र प्रवद्र्धनले यो भूमि साँच्चै नै महत्त्वको स्थान हो भन्ने प्रमाणित हुन्छ ।
धार्मिक दृष्टिले पवित्र र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिएको यो स्थानबारे सञ्चारकर्मी धनबहादुर फागोले ‘किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृतिग्रन्थ’ (२०६७) मा उल्लेख गर्नुभएको छ । उहाँले फुलुङगीमा आत्मानन्द ‘सेइङ’ले गुफासाधना आरम्भ गर्नुभएको र त्यहीँ समाधिज्ञान प्राप्त गर्नुभएको विषयमा जानकारी प्रस्तुत गर्नुभएको छ ।
त्यसैगरी लेखक सेन्छेनहाङ हरि हुक्पा चोङबाङले ‘लिम्बुवानका ऐतिहासिक घटनाका केहि कुरा’ (२०७४) मा वालागुरुले यही स्थानबाट समाधिज्ञान प्राप्त गर्नुभएको र त्यसपछि मुहिङगुम अङसीमाङ उपाधिले सम्मानित भई हाङसाम धर्मगुरुका रूपमा मान्यता पाउनुभएको उल्लेख गर्नुभएको छ ।
किरात धर्मगुरु आत्मानन्द ‘सेइङ’ले प्रदान गर्नुभएको गुरु आशीर्वचन संग्रह ‘मैले तपाईंहरुलाई चोख्याएको छु’ (२०८०) मा पनि फुलुङगीको ऐतिहासिकता वर्णित गरिएको छ ।
त्यसैगरी पूर्व गुरु निजी सचिव माङमिङसोहाङ लिङदेनले ‘किरात समाचार’ (२०८१) मा वालागुरुले फुलुङगीमै प्रथम पटक धर्मोपदेश दिनुभएको कुरा उल्लेख गर्दै यस स्थलको आध्यात्मिक र ऐतिहासिक महत्वलाई थप प्रस्ट पारेका छन् ।
यिनै पूर्व कार्यहरुका आधारमा फुलुङगीको ऐतिहासिक महव, किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’को गुफासाधना, समाधिज्ञान प्राप्त, पर्यटन प्रवद्र्धन र अबको सम्भावना, चुनौती साथै उत्तरदायित्व विषयमा यो लेखन केन्द्रित छ ।
फुलुङगीमा सेवा पूजामा सहभागी भक्तजनहरु । तस्विर :ज्ञानु केदेम
५. वालागुरुको गुफासाधना : प्रारम्भ, प्रकृति र पवित्रता
गुफासाधन प्रारम्भ गर्नुभन्दा पहिले वालागुरु आत्मानन्द ‘सेइङ’ले आफ्नो यात्रा साथीको खोजी गर्नुभयो । उहाँले आफ्ना फुपाजु जोगदिल साम्सुहाङसँग लारुम्बाको बाटो हुँदै ध्यान गर्न उपयुक्त स्थानको खोजीमा निस्किनुभयो । एक महिनाको अथक प्रयासपछि हाल गुफाडाँडा भनेर चिनिने स्थानलाई साधनाको थलोका रूपमा चयन गरियो । माङसेबुङबाट पूर्व, गुरु आश्रमबाट करिब एक घण्टा ओरालो हिंडेर सो स्थानमा पुग्न सकिन्छ ।
वालागुरुलाई मिक्लाजुङ गाउँपालिका–५ (साविक कुरुम्बा) का नरहाङ लाओती, भिमबहादुर लाओती, मानवीर लाओती, दधिराम लाओती र माङसेबुङ गाउँपालिकाका वीरबहादुर योङहाङजस्ता शिष्यहरूको साथ प्राप्त भयो । गुफासाधनका लागि आवश्यक खाद्यान्न कुरुम्बाबाट सङ्कलन गरे । डेरा निर्माण, ध्यान स्थान, माङयोक (लाधुङसेमी गर्ने स्थान), बारवेरजस्ता संरचना तयार गर्न एक महिना लाग्यो । अन्ततः साउन २५ गतेदेखि वालागुरुले औपचारिक रूपमा ध्यान आरम्भ गर्नुभयो । गुरूले साधनाकालमा सबैलाई दिनको एक छाक मात्र भोजन गर्न निर्देशन दिनुभएको थियो (अजहाङ लाओतीसँगको कुराकानीमा आधारित) ।
त्यो समय गुफा क्षेत्र सखुवाको घना जङ्गलले ढाकिएको थियो । पानीको थोपा पातमा पर्दा, चराचुरुङ्गीको चिरबिराहट, जनावरको गर्जनजस्ता ध्वनिहरू गुरूको ध्यान प्रक्रियामा प्रभाव पार्ने गर्दथे । चराचुरुङ्गीहरू गुरूको हत्केलामा आएर नाच्थे, उहाँको शरीरमा खेल्थे (फागो, २०६७) (पृ. ४३५) ।
गुफाडाँडाको उत्तरमा बग्ने मेक्वाखोला र पूर्वतर्फ बहने माई नदीको साउने भेल गडगडाउँथ्यो । सखुवाका पातहरू हावाले हल्लिंदा मधुर ध्वनि निकाल्थे । वर्षाको बेला पातमा पानी ठोक्किँदा तालिको झैँ धुन आउँथ्यो । विहान, दिउँसो र साँझको समय भ्याउँकिरीको आवाजले वातावरण गुन्जायमान बनाउँथ्यो । कहिलेकाहीँ कोइरालोको तीव्र आवाजले ध्यानमा बाधा पु¥याउँथ्यो ।
यस क्रममा उहाँले माङसिवाखाहुन र माङसेवासाम्लोजस्ता आध्यात्मिक रचनाहरू सिर्जना गर्नुभयो, जुन उहाँ स्वयं सुमधुर स्वरमा गाउनुहुन्थ्यो । उहाँको स्वरले वरपरका साधकहरूलाई मन्त्रमुग्ध बनाउँथ्यो । निरन्तर छ महिनासम्म ध्यानमा बस्दै गुरूले समाधिज्ञान प्राप्त गर्नुभयो (लिङदेन २०८१) (पृ. ७) ।
किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङका अनुसार यो स्थान माङसेबुङ गाउँपालिका, देउमाई नगरपालिका र माई नगरपालिकाको संगमस्थल हो । साथै, माई, देउमाई र मेक्वा खोलाहरूको संगम पनि यहीँ भएकाले यो स्थान ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अत्यन्त विशेष छ । (कुराकानीमा आधारित)
‘मैले तपाईंहरुलाई चोख्याएको छु’ (२०८०) गुरु आशीर्वचन संग्रहमा समेत यस भूमिको ऐतिहासिकता र पवित्रताको वर्णन गरिएको छ । थालाचेप्पा (माङमालुङ) देखि चेम्भुवा हुँदै आएको डाँडा यहीँ टुङ्गिन्छ, जीतपुर र मिक्लुकको डाँडा पनि यहीँ आएर अन्त्य हुन्छ । प्रकृतिको यही भूगोलिक बनावटले फुलुङगीलाई विशेष आध्यात्मिक उचाइमा पु¥याएको छ ।

६. समाधिज्ञान र आत्मबोधको ऐतिहासिक क्षण
वि.सं. २०२७ सालमा बालगुरु आत्मानन्द लिङदेनले गुफा डाँडामा साधना गरेपछि युमासँग आत्म साक्षात्कार गर्न सफल हुनुभयो । यस तपस्याबाट उहाँले आफू किरात धर्मका महागुरु मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दको अपूरो कार्य सम्पन्न गर्न जन्मिएको आत्मबोध गर्नुभयो । त्यहीबेलादेखि गुरु आत्मानन्दलाई महागुरुको पुनः अवतार अङसीमाङको रूपमा पुज्न र मान्न थालिएको हो ।
समाधिज्ञान प्राप्त गर्नुभएपछि वहांले आफ्नो जन्मको औचित्य थाहा पाउनुभयो । युमासँग साक्षात्कार हुँदा मुहिङगुम अङसीमाङ फाल्गुनन्दको अपूरो कामलाई पूरा गर्न आफ्नो जन्मावतार भएको थाहा पाउनुभयो । प्रारम्भमा बालगुरु आत्मानन्दको एकमात्र इच्छा तागेरा निङवाभूमाङमा लीन हुने थियो, जुन उद्देश्यले वहाँले विभिन्न स्थानमा ध्यान र साधना गर्दै आउनुभएको थियो। उहाँले आफ्ना धर्मोपदेशहरूमा यस्तो उद्देश्यलाई स्पष्ट रूपमा व्यक्त गर्नुभएको पाइन्छ ।
वालागुरुले गुफाडाँडामा सेवा कार्य आरम्भ गर्न तत्कालीन इभाङ गाउँ पञ्चायतका प्रधानपञ्च हर्कध्वज सङबाङफेको अध्यक्षतामा एक समारोह समिति गठन गरियो । समिति सचिव खडक सङवाङफे तथा कामको बाँडफाँड तोपहाङ लिङ्देन लाई सुम्पिएको थियो । माघे संक्रान्तिको अवसरमा ‘लाधुङसेमी सेवा’ सम्पन्न गरियो । यही अवसरमा फुलुङगी मेलामा आउने सबैलाई प्रसाद वितरण गरियो (फागो, २०६७) (पृ. ४३५) ।
फुलुङगी साधनापछि वालागुरु गाउँ फर्कने क्रममा चुक्चिनाम्बा गैरीगाउँ माङहिममा ठूलो सेवा सम्पन्न भयो । त्यही सेवाको अवसरमा वालागुरुलाई महागुरु मुहिङगुम अङसीमाङ फाल्गुनन्दको पुनः अवतार घोषणा गरियो र किरात धर्ममा सातौँ मुहिङगुम अङसीमाङको रूपमा पूजा गर्न थालियो । यस सेवामै वहाँले प्रथम पटक धर्मोपदेश दिनुभयो (लिङदेन, २०८१) (पृ. ७) ।
फुलुङगी परिसरमा रहेको पूजा स्थल । तस्विर : प्रविन सेलिङ सेन्दो
७. धार्मिक र साँस्कृतिक महत्त्व
फुलुङगीको धार्मिक महत्त्व केवल किरात धर्मका लागि मात्र सीमित छैन । यस स्थानमा प्राप्त आत्मज्ञान र आध्यात्मिक अनुभवले समस्त मानव समुदायका लागि शान्ति, एकता र अहिंसाको सन्देश प्रदान गरेको छ । फुलुङगीलाई किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’को ज्ञानभूमिका रूपमा मानिन्छ, र यस पवित्र तथा पुण्यभूमिमा धार्मिक सेवापूजाका कार्यक्रमहरूको नियमित आयोजना हुँदै आएको छ । समयक्रमसँगै यो स्थान एक प्रमुख धार्मिक तिर्थस्थलका रूपमा स्थापित भएको छ, जसको यात्रा हजारौं भक्तजनहरूका लागि एक आध्यात्मिक गन्तव्य बनिसकेको छ ।
फुलुङगी क्षेत्रले भक्तजनहरूमा एक विशेष धार्मिक विश्वास जन्माएको छ, जस अनुसार यहाँ सेवा पूजा गर्दा मनोकामना पूरा हुने विश्वास प्रचलित छ । विशेष गरी माईखोलामा मकर स्नान गर्ने धार्मिक रीतिरिवाजको विश्वासका कारण यहाँ पवित्र स्नानका लागि भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ । माईखोलामा मकर स्नान गर्दा सबै पापहरूको हरण हुने विश्वास रहेको छ (हर्कवीर योङहाङसँगको कुराकानीमा आधारित) ।
फुलुङगीको धार्मिक महत्त्व यति गहिरो छ कि यहाँ भक्तजनहरू मनोकामना पूरा भएपछि पुनः भाकल पूरा गर्न सेवा पूजा गर्नका लागि फर्कन्छन् । यसैगरी फुलुङगीे क्षेत्रमा साक्मुरा वदेम्मा (गालीसराप वहन्ती) मुक्तिको कार्य पनि महत्त्वपूर्ण छ ।
गुरु आत्मानन्द लिङदेनले ज्ञान प्राप्त गरेको फुलुङगीस्थित माई खोलामा खोटाङ, लेटाङ, काठमाडौं, भुटान, आसाम, सिक्किम, दार्जिलिङ, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, उदयपुर, ओखलढुङगा, सुनसरी र मोरङलगायत विभिन्न जिल्लाका राईहरु भेला भएर २०६३ र २०६४ सालमा साकमुरा वदेम्मा सेवा सम्पन्न गरेका थिए (खालिङ २०६९) (पृ ६४) ।
यस प्रकार, फुलुङगीको धार्मिक र सांस्कृतिक महत्त्व केवल यसको आध्यात्मिक मूल्यमा नभई यसका परम्परागत सेवा पूजा र धार्मिक क्रियाकलापहरूमा पनि प्रकट हुन्छ, जसले यसलाई आध्यात्मिक आस्थाका एक गहिरो केन्द्रका रूपमा स्थापित गरेको छ ।
फुलुङगीस्थित माइखोलामा किरात धर्मगुरु, गुरुआमा लगायतका संस्थागत प्रतिनिधिहरु साकमुरा वदेम्मा सेवा (गालीसराप) गर्नुहुदै । तस्विर : योगेस लाओती
८, फुलुङगीको ऐतिहासिकता माघे मेला
इलाम बजारको पूर्वोत्तर क्षेत्रमा रहेको ज्यादै आकर्षक माईपोखरीलाई उद्गम बिन्दु बनाएर बगेको माई खोलाको विभिन्न स्थानको किनारमा हरेक वर्ष माघ १ गते लाग्ने माघे मेला लाग्ने गर्दछ । जसमध्ये फुलुङगी पनि माघे मेला लाग्ने एउटा चर्चित स्थान हो । यस ठाउँमा कहिले देखि माघे मेला लाग्न सुरुवात भएको भन्ने यकिन तथ्य भने भेटिन्दैन । तर स्थानीयका अनुसार अनादिकालदेखिनै यस ठाउँमा माघे मेला लाग्न थालेको हो ।
अनुसार पहिला पहिला पुर्खाहरु माघे संक्रान्तिको दिन फुलुङगीमा आएर माई खोलामा मकर नुहाउने गर्थे । मकर स्नान गरिसकेपछि दियो कलस वालेर सेवा पूजा गर्थे । सेवा गरेपछि भने डेरा गएर दियो कलस विसाएर सुरुमा काँचो तरुलको टिका लगाउने र काचो तरुल खाने चलन थियो । त्यसपछिमात्र तरुल उसिनेर खाने फलफूल खाने अन्य मिठा मिठा खानेकुरा वाँडेर खाने चलन थियो । यसरी सो ठाउँमा भेला भएर सेवा गर्ने अनि फलार खाने रमाइलो गर्ने परम्परालेनै मेलाको रुप लिन थालेको हो । (हर्कवीर योङहाङसँगको कुराकानीमा आधारित)
किरात लिम्बू परम्परा अनुसार सेवा पूजा नगरी खोलानाला नाघ्न नहुने जनविश्वास थियो । जसका कारण पहिला पहिला देउमाई वारी र पारी दुवै ठाउँमा मेला लाग्ने गथ्र्यो । तर, जव किरात धर्मगुरु आत्मानन्द लिङदेनले फुलुङगीबाट समाधिज्ञान प्राप्त गर्नुभयो, माघे संक्रान्तिको अवसर पारेर ठूलो सेवा लागाउनुभयो । त्यस समयमा आगन्तुक भक्तजनलाई प्रसाद वितरण गरियो । त्यसपछि भने मेलाले वृहत रुप लिन थालेको र वारीपारी सबैजना एकै ठाउँमा भेला हुन थालेको हो । (हर्कवीर योङहाङसँगको कुराकानीमा आधारित)
फुलुङगीमा सेवा पूजामा गुरु गुरुआमाको देवसरमा स्वाथत गर्नुहुँदै पञ्चकन्या र सहभागी भक्तजनहरु । तस्विर :ज्ञानु केदेम
९. पर्यटन विकास र सम्भावना
नेपालको पर्यटन प्रवद्र्धन नीतिअनुसार नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास आवश्यक छ । पर्यटन क्षेत्रको विकास तथा सो बाट प्राप्त लाभ जनस्तरमा पु¥याउन पर्यटकीय गन्तव्यहरुको विविधिकरण गर्दै नयाँ पर्यटकीय स्थल र उपजहरुको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारहरुको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा विकास गर्न जरुरी छ ।
यस सन्दर्भमा फुलुङगी स्थलले अपार सम्भावना बोकेको छ । फुलुङगीको शान्त वातावरण, गुफा, खोलाहरूको संगम र हिमाली भूगोलले यसलाई पर्यटन र तीर्थको दृष्टिले पनि महत्वपूर्ण बनाएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विविधता भएको यस क्षेत्रमा पूर्वाधार विकास, सडक सञ्जाल विस्तार तथा संरक्षण योजनाका साथ पर्यटन उद्योगलाई टेवा पुर्याउन सकिन्छ ।
नेपाल सरकारबाट घोषित आ.व. २०७५/०७६ को बजेट बुँदा नं. ११४ अनुसार, पर्यटन, प्रवद्र्धन र विकासका लागि पहिचान गरिएका एकसय गन्तव्यहरुमा ‘गुरु फाल्गुनन्द सर्किट’ सुचिकृत गरिएको छ, जसमा लब्रेकुटी, गजुरमुखी धाम, लारुम्बा र चुक्चिनाम्बा समावेश छन् । यस सर्किटमा फाल्गुनन्द तपोभूमि खत्रक्पा(देउमाई नगरपालिका)सँगै आत्मानन्द ज्ञानभुमि फुलुङगीलाई समेट्न सके मात्र सर्किट पूर्ण र अर्थपूर्ण हुने देखिन्छ ।
यसैगरी पर्यटन प्रवद्र्धन र विकासको लागि नेपाल सरकारले ‘माङसेबुङ सर्किट’को रुपमा नयाँ गन्तव्यको रुपमा पहिचान गर्ने गरी किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा नामक संस्थाबाट माङसेबुङ लारुम्बाबाट गुरुआमा जन्मस्थल उत्तरे, चुक्चीनाम्बा, महागुरु जन्मस्थल डाडाँगाउँ, गुरु जन्मस्थल अगौटेबरी देमाई नगरपालिकामा अवस्थित महागुरु तपोभुमि खत्रक्पा, फुलुङगी र माङनगरपालिकामा अवस्थि मैना चुली हाङसाम वरक जोडेर अवधारण पत्र नेपाल सरकार संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रालयमा पेस गरिएको छ । तर यसको अहिलेसम्म कुनै सुनवाई हुन सकेको छैन (नन्दकुमार नेम्बाङसँगको कुराकानीमा आधारित) ।
यसरी माङसेबुङ सर्किटको रुपमा नयाँ गन्तव्य पहिचान गरि भ्रमण स्थलको रुपमा विकास गर्न सक्यो भने पर्यटनसँगै अनुसन्धानकर्ताका लागि पनि अध्ययनको रोचक केन्द्र बन्छ र र्यटन उद्योगलाई टेवा पुर्याउन सकिन्छ । तर, त्यसको लागि सडक अपरिहार्य छ । संग्राहलय निर्माण हुन जरुरी छ । जुन सरकाबाटमात्र सम्भव छ । त्यसैले स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।
सेवा पूजा स्थल धर्मगुरु तपोभुमि फुलुङगी । तस्विर : सुक योङहाङ
१०. संरचनागत प्रयासहरू र वर्तमान अवस्था
गुरुकै निर्देशनमा यस स्थानको संरक्षणार्थ पहिलो समिति किरात धर्मगुरुकै निजी सचिव माङमिङसोहाङ लिङ्देनको अध्यक्षतामा पहिलो समिति गठन भयो । तब यस स्थानको संरक्षणार्थ केही कार्य र भावी खाका तयार भए । सोही अनुसार पछिल्लो समय २०७५ सालमा स्थापना गरिएको संस्था ‘किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तपोभुमि फुलुङगी फाउण्डेशन’ ले सम्पूर्ण जिम्मेवारी लिएर संरक्षण, सम्वद्र्धन र विकासका गतिविधिहरु दु्रत गतिमा अघि बढाएको छ ।
फुलुङगी वरिपरि र आसपासका गरि करिबन १४ हेक्टर जमिन फुलुङगी फाउण्डेशनको स्वामित्वमा रहेको छ । हालसालै मात्रै चार किल्ला बाँधने काम सम्पन्न भएको छ । जसमा पश्चिमतर्फ मेक्वा खोला, पूर्वमा देउमाई र माई खोलको किनारमा रहेको १४ हेक्टर जमिन रहेको छ (उदयविक्रम तुम्बापोसँगको कुराकानीमा आधारित) ।
फुलुङगीलाई धार्मिक साँस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले फुलुङगी फाउण्डेशनले नेपाल सरकारमा दर्ता गरेको योजना प्रस्ताव वमोजिम भवन निर्माणको लागि प्रदेश सरकारबाट वजेट विनियोेजन भएको छ । यसैगरी यसलाई धार्मिक साँस्कृतिक पर्यटकिय क्षेत्रको रूपमा विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारको भूमिका रहनुपर्ने देखिन्छ (उदयविक्रम तुम्बापोसँगको कुराकानीमा आधारित) ।
‘सहयोगको सवालमा धेरै ठाउँमा हामीले निवेदन गरेका छौँ । तर, सरकारबाट त्यति सहज रूपले प्राप्त भइरहेको अवस्था भने छैन, यद्यपी हामी आाबादी छौं’, फउण्डेशनका उपाध्यक्ष तुम्बापोको गुनासो छ ( कुराकानीमा आधारित) ।
‘किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तपोभूमि फुलुङगी फाउण्डेशन’का सचिव मिनेन्द्र सेर्मा (महेश) फुलङगी क्षेत्रको विकासमा सुस्तता देखिएको गुनासो गर्नुहुन्छ । ‘यो भूमि सिद्धपुरुष, महात्मा मुहिङगुम अङसीमाङले अध्यत्म दर्शन प्राप्त गर्नु भएको तपोभूमि, ज्ञानभूमि सिद्धभूमि भएर पनि राज्यको नजर परेको छैन’, (कुराकानीमा आधारित) ।
यस क्षेत्रका लागि यसअघि प्रदेश सरकारको सहयोगमा सहरी विकास कार्यालय इलामको प्राविधिक टोलीले प्रदेश सरकारबाट विनियोजित २० लाख बजेटले लारुम्बा गुरु आश्रमबाट फुलुङगीसम्म फुलुङगी तीर्थमार्गको डिपिआर कार्य सम्पन्न भएको छ । डिपिआरमा नौ करोड रूपैयाँ लागतमा फुलुङगीमा पाँचतले प्रवचन भवन, दुई तले आवास भवन, पार्किङ गार्डेन र माङहिमसमेतको संरचना बन्ने उल्लेख छ ।
फुलुङगीमा भवन र माङहिम निर्माणको लागि प्रदेश सरकारबाट छ करोड बराबरको बजेट विनियोजन भई मन्त्रिपरिषद्बाट समेत स्वीकृत भएर ठेक्का प्रक्रियामा पुगेको छ । अव चाडैनै ठेक्का प्रक्रिया पुरा भएपछि निर्माण कार्य सुरुवात हुनेछ (हेमन्त राईसँगको कुराकानीमा आधारित) ।
राज्यको सहयोगमा यहाँ हाल गुरु विश्रामको लागि एएटा भवन निर्माण भएको छ । मेक्वा खेलामा तटबन्धन गर्ने कार्य पनि राज्यकै सहयोगमा भएको हो । यद्यपि, राज्यस्तरबाट अपेक्षित पूर्वाधार विकास र यस स्थानको संरक्षणमा ध्यान नपुगेको बताइन्छ । फुलुङगी जस्तो ऐतिहासिक स्थलको दीर्घकालीन संरक्षणका लागि राज्यको दीर्घकालीन नीति र कार्यमक्रम बन्न आवश्यक छ ।
हाल फुलुङगी ज्ञानसिद्धि युमा हाङसाम माङहिम निर्माणाधिन अवस्थामा रहेको छ । प्राविधिक मणिकुमार सेर्माको डिजाइनमा तयार भएको सो माङहिम भने वालागुरुले गुफा साधन गर्नुभएको स्थानमा निर्माण हुँदैछ । आठ करोड रूपैयाँ बराबारको लागतमा निर्माण गरिने माङहिम आर्थिक व्यवस्थापन भने संसारभरि छरिएर रहेका भक्तजनहरुको माङभेटीबाट सम्पन्न हुनेछ (मिनेन्द्र सेर्मासँगको कुराकानीमा आधारित) ।
फुलुङगी फउण्डेशनले पछिल्लो समय प्रत्येक वर्ष माघ १ गते माघे संक्रान्ति सत्यहाङमा शान्ति मकर सेवा (मेला) को आयोजना खत्रक्पा संरक्षणार्थ गठित समितिसँग सामूहिक रूपमा हरेक वर्ष पालैपालो खत्रक्पा र फुलुङगीमा बृहत् कार्यक्रमको आयोजना हुने गर्दछ ।
सेवा पूजाको लागि सजाइएको किरात धर्मगुरु आत्मानन्द लिङदेन तपोभुमि फुलुङगी । तस्विर : योगेस लाओती
११. निष्कर्ष
फुलुङगी केवल एक स्थल मात्र होइन, यो किरात धर्मको आध्यात्मिक मूलस्रोत, ऐतिहासिक चिनारी र सांस्कृतिक पुनर्जागरणको केन्द्र हो । यही स्थलबाट राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्दको अधुरो र अपुरो अभियानलाई वर्तमान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ले पुनः सुरु गर्नुभयो ।
अतः फुलुङगीकोे संरक्षण, अध्ययन, अनुसन्धान र प्रचारमा राज्य, स्थानीय सरकार, धार्मिक संस्था, अनुसन्धानकर्ता तथा आम नागरिकको समन्वय आवश्यक छ । यसमार्फत फुलुङगीलाई विश्वसमक्ष आध्यात्मिक र सांस्कृतिक सम्पदाका रूपमा उभ्याउन सकिनेछ ।
सन्दर्भ सामाग्री
गुरु आशीर्वचन संग्रह (२०८०), ‘मैले तपाईंहरुलाई चोख्याएको छु’ । माङसेबुङ, इलाम । किरात इङभो पान्जुम्भो ।
माङसेबुङ गाउँपालिकाको वेबसाइट https://mansebungmun.gov.np
फागो, धनबहादुर (२०७१), किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृति ग्रन्थ । आस्थाका केन्द्र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’को संक्षिप्त जीवनी दमक, झापा । किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृति ग्रन्थ ।
हुक्पाचोङवाङ, सेन्छेनहाङ हरि (२०७४), लिम्बुवानको ऐतिहासिक घटनाका केही कुरा । शिवसताक्षी, झापा । दिलबहादुर लाओती ।
ज्ञानु केदेम र अरु (सं.) (२०८१), माङसेबुङ दर्पण । इलाम । माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय इभाङ (माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रा. लि. र किरात इङ्भो पान्जुम्भो) ।
लिङदेन, माङमिङसोहाङ (२०८१), किरात समाचार । माङसेबुङ, मंसिर १८ । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’को संक्षिप्त परिचय । ७१औं नोमाङगेन्ना । पुजनीय मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ विशेष अंक । किरात मल्टिमिडिया ।
किरात समाचार https://kiratsamachar.com/
केदेम, ज्ञानु (२०८१), माङसेबुङ मासिक । माङसेबुङ । मंसिर । सत्य, शान्ति र एकताका संवाहक मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको संक्षिप्त । धनबहादुर थेवे ‘निवाहाङ’ ।
माङसेबुङ मासिक https://mangsebungnews.com/
खालिङ, दुवारलक्षी (२०६९), किरातेश्वर युमा माङखिम दोस्रो स्मारिका । कुभिण्डे, खोटाङ । मानव सृष्टि तथा किरात संस्कार र महागुरु फाल्गुनन्दज्यूको १२७ औं जन्मजयन्ती । दुवारलक्षी खालिङ ।
यी हुन् एक सय वटा नयाँ पर्यटकीय गन्तव्य (सूचीसहित) (कात्तिक १५, २०७५)
https://deshsanchar.com/2018/11/01/115718/
Kirat Holy Places – Kirat Community Organization of America – blog
कुराकानी
हेमन्त राई, अध्यक्ष, माङसेबुङ गाउँपालिका (२०८२ जेठ ६ गते गरेको कुराकानी)
केहेरसिं योङहाङ, अध्यक्ष, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा (२०८२ जेठ १ गते गरेको कुराकानी)
हर्कवीर योङहाङ । केन्द्रीय उपाध्यक्ष, किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा (२०८२ जेठ ६ गते गरेको कुराकानी)
नन्दकुमार नेम्बाङ । पूर्वसचिव, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा (२०८२ वैशाख ३१ गते गरेको कुराकानी)
लक्षुमन राई, जनम । वडाध्यक्ष, माङसेबुङ ३ (२०८२ बैशाक २५ गते गरेको कुराकानी)
उदयविक्रम तुम्बापो । उपाध्यक्ष, किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तपोभुमि फुलुङगी फाउण्डेशन (२०८२ बैशाक २५ गते गरेको कुराकानी)
मिनेन्द्र सेर्मा (महेश) । सचिव, किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तपोभुमि फुलुङगी फाउण्डेशन (२०८२ जेठ ६ गते गरेको कुराकानी)
ओजहाङ लाओती । (२०८२ जेठ ६ गते गरेको कुराकानी)