किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मस्थान आगौटेबारी । तस्बीरः प्रविन सेलिङ सेन्दो
- काकीराम लावती ‘आन्छुमे नसान’
१. परिचय :
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदूरपूर्वी भेगमा अवस्थित इलाम जिल्ला प्राकृतिक सुन्दरताले समृद्ध, साँस्कृतिक, जातीय, धार्मिक तथा भौगोलिक विविधताले धनी जिल्ला हो । माङसेबुङ गाउँपालिका इलाम जिल्लाको दक्षिण–पश्चिमी भागमा अवस्थित छ । माङसेबुङ नाम किरात लिम्बू भाषाबाट राखिएको हो र यसै नाममा किरात धर्मावलम्बीहरूको एकमात्र आस्थाको केन्द्र रहेकोले गाउँपालिकाको नामाकरण गरिएको हो ।
यस क्षेत्रमा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरू फाल्गुनन्द, वर्तमान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’, ममतामयी गुरुआमा मुहिङगुम अङसीमाङ साँबा पवित्रहाङमा लिङदेन, ज्योतिनन्द गुरू, सचितानन्द गुरू (विद्यानन्द गुरू) लगायत धार्मिक गुरुहरूको जन्मस्थल रहेकोले पनि यस स्थानको महत्व अझ बढेको छ । माङसेबुङ गाउँपालिका भाषिक, सांस्कृतिक, प्राकृतिक र धार्मिक दृष्टिले धनी हुनका साथै मनोरम प्राकृतिक वातावरणले पनि भरिपूर्ण छ ।
माङसेबुङ गाउँपालिका राज्य पुनर्संरचनाको क्रममा इलाम जिल्लाका साबिकका बाँझो, इभाङ र गजुरमुखी गाउँ विकास समितिहरूलाई समेटेर २०७३ साल फागुन २७ गते गठन भएको हो । गाउँपालिकाको कार्यालय वडा नम्बर २ को इभाङमा रहेको छ भने यसै वडास्थित डाँडागाउँको पुछारमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’को जन्मस्थल अगौटेबारी पर्दछ । किरात धर्मावलम्बीहरूका लागि यो स्थान अत्यन्त पवित्र तीर्थस्थल मानिन्छ । यहाँ विश्वका विभिन्न स्थानबाट किरात धर्मावलम्बीहरू श्रद्धा प्रकट गर्न र दर्शन गर्न आउने गरेका छन् ।
गुरु आत्मानन्द जन्मस्थान अगौटेबारी माथि अवस्थित डाँडागाउँ । तस्विरः नविन लिङदेन
२. अगौटेबारी नामाकरण :
भौगोलिक बनावटका आधारमा गैरीगाउँ र डाँडागाउँ दुई भागमा विभाजन गरी नामाकरण गरिएको छ । ती गाउँहरुलाई चिर्दै चुक्चिनाम्बा खोल्सा वग्दछ । खोल्साको उत्तरतर्फ डाँडागाउँ र दक्षिणतर्फ गैरीगाउँ रहेको छ । डाँडागाउँको दक्षिणमा चुक्चिनाम्वा खोल्सा र उत्तर पूर्वतर्फ फेवाखोला रहेको छ । चुक्चिनाम्वा खोल्सातर्फ केही भिरालो छ भने फेवाखोलातर्फको जमिन दम्स्याइलो भएर उत्तर–पूर्वतर्फ फर्किएर रहेको छ । फेवा खोलापारीको घोर्ले भीर सदियौँदेखि गजधुम्म छ ।
डाँडागाउँको बीच भागको तुलनामा सिरान र पुछार केही भिरालो छ । पुछार गाउँ भिरालो भए पनि फेवाखोलाको नजिक भएकाले बीच र सिरानभन्दा खेतीका लागि उपयुक्त छ । साथै, कछाड भएकाले माथिल्लो भाग भन्दा अलि छिटो अन्न बाली पाक्छ । बाली छिटो पाक्ने भएकाले त्यस पुछार बारीलाई मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनले आगौटेवारी नामाकरण गर्नुभएको थियो । यस ठाउँ मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’को जन्मथलो हो ।
३. पूर्व चर्चा :
अगौटेबारी धार्मिक दृष्टिले पवित्र मानिएको आस्थाको केन्द्र हो । यस पुण्यभूमिमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ जन्मअवतरण हुनुले नै ऐतिहासिक दृष्टिले विशिष्ट पहिचान बनाएको मानिन्छ ।
जिल्ला सदरमुकामबाट निक्कै टाढा र नजिक अन्य बजार पनि नभएकाले डाँडागाउँका मानिस खेतीमा नै निर्भर थिए । मकै, कोदो, धानजस्ता खाद्यान्न बाली नै जीवन चलाउने मुख्य आधार थियो । गाई, गोरू, भैंसी, बाखा, सुंगुर, कुखुरा पालिन्थे । (फागो, २०६७) (पृ ४३१)
अगौटेबारी वरपरका बासिन्दा खेतीपाती, पशुपालनमा निर्भर थिए । घरहरू परम्परागत शैलीमा ढुङ्गा, माटो र कमेरोबाट बनेका थिए । विकासका सुविधाबाट टाढा रहँदा पनि यस क्षेत्रमा धार्मिक चेतनाको उपस्थिति उल्लेखनीय थियो । किरात धर्म र परम्परागत माङसेवाको अभ्यास घर–घरमै देखिन्थ्यो ।
प्रस्तावित पवित्रहाङ्मा मार्ग हुँदै फाल्गुनन्द जन्मस्थल डाँडागाउँबाट केही तल झरेपछि पुगिने समुद्री सहतहदेखि करिब १४ सयको उचाईमा रहेको छ आगौटेबारी । दैनिक जसो सेवा पूजा गरिने अगौटेबारीमा वर्षेनी सावायेहाङ किरात आप्लुङगेन् ताङसेप येत्नाम्धुङ लाधुङ सेमी चोमन सेवा गर्ने गरिएको छ । (केदेम २०८१) (पृ १०)
गुरु जन्मभूमि अगौटेबारीको बारेमा सेर्मा साम्जिरी सेमीले आफ्नो पुस्तक ‘किरात लिम्बुवान र लिम्बूहरु’ (२०६५) मा उल्लेख गर्नुभएको छ । उहाँले पनि किरात धर्मगुरु अगौटेबारीमा जन्मअवतरण हुनुभएको कुरा उल्लेख गर्नुभएको छ ।
अगौटेबारीबाट देखिने घोर्लेभीर । तस्विरः आन्छुमे नसान
४. किरात धर्मगुरुको जन्म र प्रारम्भिक जीवन :
वि.सं. २०११ मंसिर १८ गते शुक्रबार बिहान अगौटेबारीमै किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’को जन्म, पूण्यप्रसाद लिङ्देन र चन्द्रमाया चेम्जोङ (श्यामजिरी)का सुपुत्रका रूपमा भएको थियो ।
‘परिवारका सदस्यहरूमध्ये कोही कामका लागि शीतले भिजेका खेतक गरा र बारीका कान्लामा पुगिसकेका थिए । कोही पूजापाठ घरधन्दामा व्यस्त थिए । यही समयमा पुछारेका छोरा पुण्यप्रमाद र बुहारी चन्द्रमाया (श्यामजिरी) चेम्जोङको छोराको रूपमा आत्मानन्द लिङ्देनको जन्मावतरण भयो’, (फागो, २०६७), (पृ ४३२) ।
‘टेकहादुर र जोगमायाको छोरा पुण्यप्रसाद लिङ्देनको पान्थर, चुङजीवा, ओजाचेप्पाकी चन्द्रमाया चेम्जोङ (श्यामजीरी) ले पनि बालक गर्भमा हुँदा मासुमंस, मद मदिरा खान नहुने, सपनामा हिमश्रृंखलामा, डाँडाहरूमा उडेको, सेतो घोडा कुदाएको बारम्बार देख्नु हुन्थ्यो । यस्तै लक्षणहरूसँगै श्यामजीरीको कोखबाट वि.सं. २०११ मंसिर १८ गते शुक्रबार बिहान घामको आगमनसँगै एउटा बालकको जन्म भयो’, (लिङदेन, २०८१) (पृ. ५) ।
‘लिम्बुवानको इलाम थुम इमाड–५ चूक्चिनाम्वा अगौटे गाउँम्मा पूण्य प्रसाद लिङदेन श्यामजिरी चन्द्रमाया चेम्जोङको कोखमा वि २०११ साल मंसिर १८ गते ’सेइङ’ आत्मानन्द लिङदेनको जन्म भएको … बोजु जोगमायाको स्याहार सम्भारमा आत्मानन्द हुर्कँदै गए । उनको बाल चरित्र एकान्त ध्यान बस्नु पूजा अनुष्ठान गर्नु थियो’, (हुक्पाचोङबाङ,२०७४), (पृ ७४–७५) ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन । तस्विरः ज्ञानु केदेम
५. किरात धर्मगुरुको बाल्यकाल र पारिवारिक पृष्ठभूमि :
स्थानीय भू–संरचना, प्राकृतिक विविधता र सामाजिक परिवेशले धर्मगुरुको बाल्यकाललाई गहिरो असर पारेको पाइन्छ । परिवारको आर्थिक अवस्था सामान्य थियो । त्यसमाथि, मुहिङगुम अङसीमाङको जन्मपछि तीन महिनामै आमा श्यामजिरी भारतको आसामतिर लागेकी थिइन्, जसले बालकको जीवनमा मातृस्नेहको अभाव ल्यायो । यद्यपि, बोजू जोगमायाको संरक्षणमा बालक श्यामबहादुर (धर्मगुरुको बाल्यकालीन नाम) हुर्किनुभयो ।
‘जोगमाया माङसेवाका लागि आगौटेबारीबाट गैरीगाउँ माङहिममा जानुहुन्थ्यो । वहाँका काका बद्रीनन्द तुम्बापो माङसेवासावा रहनुभएको त्यस माङहिममा जाँदा नातिलाई पनि सँगै लानुहुन्थ्यो । घरमा बोजूले गर्नुभएको माडसेवा र माङहिम जाँदा देख्नुभएको सेवाका कारण श्यामबहादुरले माङसेवाबारे जानकारी लिइसक्नुभएको थियो’, (फागो, २०६७), (पृ ४३३) ।
६. प्रारम्भिक शिक्षा र गोठालो जीवन :
महागुरु फाल्गुनन्दले स्थापना गर्नुभएको स्थानीय प्राथमिक विद्यालयमा बर्तमान किरात धर्मगुरु आत्मानन्द ‘सेइङ’ ले आफ्नो औपचारिक शैक्षिक यात्रा आरम्भ गर्नुभयो । भक्तिप्रसाद तुम्बापोको शिक्षणमा करिब छ महिनासम्म अध्ययन गर्नुभयो ।
विद्यालय जाँदा वहाँलाई पुस्तक नपढी सबै कुरा आउँथ्यो । त्यसैले दिनभरि नजान्नेहरूसँग बसिरहनु वहाँलाई मन परेन । पुस्तकमा रहेका रूखो शब्दहरूले वहाँलाई वाँधेर राख्न सकेन । त्यसैले विद्यालय जान छाड्नुभयो । वाजे टेकबहादुरले अर्को वर्ष पारी गजुरमुखी तोभाङको विद्यालयमा पढ्न पठाउने भन्नुहुन्थ्यो । तर, सोही वर्ष वहाँ बित्नुभयो । जसले गर्दा तोभाङमा पढ्ने सपना अपूरो रह्यो (फागो, २०६७) (पृ ४३२) ।
शिक्षाको ढोका बन्द भएपछि उहाँको जीवन गोठालोको रूपमा अघि बढ्यो । बाल्यकालमै फेवाखोला, झाँक्रीखेत, घोर्ले भीरजस्ता दुर्गम क्षेत्रहरूमा गाईवस्तु चराउने जिम्मेवारी उहाँको काँधमा आयो । यस्ता ठाउँमा चितुवा जस्ता वन्यजन्तुहरूको जोखिम थियो, जसको प्रत्यक्ष अनुभव उहाँले बाल्यकालमै गर्नुभयो ।
बोजूले सिलाइदिएको खाँडी कपडाको दौरा, इस्टकोट र सुरूवाल लगाएर विद्यालय जाने सम्झनाहरू भने उहाँको मानसपटलमा अमिट छन् । यद्यपि, औपचारिक विद्यालयले उहाँलाई टाढा राखे पनि जीवन स्वयं विद्यालय बन्यो, र गोठालो जीवनकै कठिनाइहरू नै भविष्यको आध्यात्मिक यात्राको मर्म बुझाउने आधार बने ।
किरात धर्मगुरु आत्मानन्द लिङदेन जन्मस्थान । तस्विरः धनबहादुर फागो
७. अगौटेबारीको वर्तमान अवस्था :
अगौटेबारी, किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को जन्मस्थल हुनुका साथै एक सम्भावनायुक्त धार्मिक र साँस्कृतिक तीर्थस्थल हो । तर यसको वर्तमान अवस्था भने पूर्वाधारको अभाव, सरकारी उपेक्षा र सामुदायिक श्रमदानको भरमा अडिएको छ ।
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङका अनुसार अगौटेबारीमा सवारीसाधन पुग्ने सडक ट्र्याक प्रारम्भमा किरात धर्मावलम्बी भक्तजनहरूले श्रमदानमार्फत निर्माण गरेका थिए । विशेषगरी फाल्गुनन्द मार्गको माङमालुङदेखि चुक्चिनाम्बासम्मको सडक भक्तजनहरूले हप्तौं लगाएर बनाएका हुन् । (कुराकानीमा आधारित)
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईका अनुसार अहिलेसम्म सरकारको तर्फबाट माङमालुङदेखि अगौटेबारीसम्मको सडकको स्तरोन्नति गर्नु बाहेक गुरु जन्मस्थलको विकासमा कुनै ठोस पहल भएको छैन । यस सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारले करिब आठ करोड रुपैयाँ विनियोजन गरेको थियो । जसअन्तर्गत माङमालुङ–चुक्चिनाम्बा–अगौटेबारी हुँदै गजुरमुखीसम्म जोड्ने योजनाअनुसार केही काम सम्पन्न भएको हो । तर हाल निर्माण जिम्मा प्रदेश सरकारलाई दिइएपछि बजेट अभावका कारण काम अलपत्र परेको छ । (कुराकानीमा आधारित)
माङसेबुङ हेरिटेज प्रा.लि.का अध्यक्ष सेरबहादुर लाओतीका अनुसार अगौटेबारीमा पर्यटकीय पूर्वाधार निर्माण गर्न स्थानीय, प्रदेश वा सङ्घीय सरकारबाट कुनै बजेट विनियोजन भएको छैन । सबै किरात धर्मावलम्बीहरूको माङ भेटी र सामुदायिक लगानीबाट सम्पन्न भएका हुन् । (कुराकानीमा आधारित)
यसरी हेर्दा, अगौटेबारीको वर्तमान अवस्था धार्मिक दृष्टिले गहिरो मूल्य लिए तापनि संरचना, पहुँच र संरक्षणको दृष्टिले अति पछि परेको छ । पूर्वाधार अभावका कारण यहाँको सम्भावना उपयोग हुन सकेको छैन, जुन विषय राज्यका लागि गम्भीर पुनर्विचारको विषय हो ।
किरात धर्मगुरु आत्मानन्द लिङदेन जन्मस्थलमा रहेको माङहिम । तस्विरः धनबहादुर फागो
८. धार्मिक पर्यटनको सम्भावना :
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका पूर्व सचिव नन्दकुमार नेम्बाङका अनुसार अगौटेबारीलाई धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न व्यापक सम्भावना रहेका छन् । माङसेबुङ, निजी गुरुआश्रम, खत्रक्पा र फुलुङ्गीमा आउने धार्मिक पर्यटकहरूलाई महागुरु फाल्गुनन्दको जन्मस्थल हुँदै किरात धर्मगुरु आत्मानन्द ‘सेइङ’को जन्मस्थल अगौटेबारीसम्म लैजान सकिने हो भने यस क्षेत्रको धार्मिक पर्यटक आगमन उल्लेखनीय रूपमा बढाउन सकिन्छ ।
यसै उद्देश्यका लागि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाले ‘माङसेबुङ सर्किट’को अवधारणा विकास गरेको छ । उक्त अवधारणाअन्तर्गत माङसेबुङ, खत्रक्पा, फुलुङ्गी, अगौटेबारी, चुक्चिनाम्बा, उत्तरे तथा माई नगरपालिकाको मैनाचुली र हाङसाम वरक क्षेत्र समेटिएका छन् । यी स्थानहरू सडक पूर्वाधार राम्रो भए एकै दिनमा भ्रमण गर्न सकिने सम्भावना रहेको छ । तथापि, हालसम्म नेपाल सरकारबाट सो अवधारणालाई कार्यान्वयन गर्न ठोस् पहल भएको छैन । (कुराकानीमा आधारित)
हालको अवस्थामा, माङसेबुङ र गुरुआश्रममा आउने तीर्थयात्रीहरूलाई सर्किट अन्तर्गतका स्थलहरूमा पुर्याउन सकिने हो भने धार्मिक पर्यटनको विकाससँगै स्थानीय अर्थतन्त्र पनि सुदृढ हुन सक्ने देखिन्छ ।
त्यसैगरी, धर्मगुरु आत्मानन्द ‘सेइङ’ले आफ्नो जन्मस्थल अगौटेबारीमा ‘चुक्चिनाम्बा अगौटेबारी–लेछेबुङ संग्रहालय’ निर्माण गर्ने परिकल्पना अघि सार्नुभएको छ । गुरु निजी आश्रमअन्तर्गतको अर्थ समितिले यसका लागि आवश्यक परामर्श लिँदै प्रारम्भिक चरणको कार्य अघि बढाएको जानकारी मिलन लाओतीले दिनुभएको छ । (कुराकानीमा आधारित)
गुरु र गुरुआमाको सोचअनुसार गुरुको जन्म र बाल्यकालसँग सम्बन्धित प्रत्येक स्मरणीय क्षणलाई मूर्त रूपमा संरक्षण गर्ने उद्देश्यले प्रतिमा निर्माण योजना अघि सारिएको छ । जस अन्तर्गत गुरु जन्मेपछि पहिलोपटक वामे सर्दैगरेको प्रतिमा, आमाले स्तनपान गराइरहेको प्रतिमा, बाल्यकालमा खेलिरहेको र क्रमशः हुर्किँदै गरेको अवस्थाहरूको प्रतिमा, गुरुका बोजू जोगमाया तुम्बापो, पिता पुण्यप्रसाद लिङ्देन, आमा श्यामजीरीलगायतका परिवारजनसँग सम्बन्धित दृश्य समेट्ने प्रतिमाहरू निर्माण गर्ने योजना अघि सारिएको छ । (सेरबहादुर लाओतीसँगको कुराकानीमा आधारित)
यी योजनाहरू कार्यान्वयनमा आउन सके अगौटेबारी एक प्रमुख धार्मिक तथा साँस्कृतिक गन्तव्यका रूपमा स्थापित हुने देखिन्छ ।
अगौटेबारी । तस्विरः योगेश लावती
९. निष्कर्ष :
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’को जीवन यात्रा सामाजिक, साँस्कृतिक र धार्मिक रूपान्तरणको एक प्रेरणादायी अध्याय हो । उहाँको जन्मभूमि अगौटेबारी केवल भौगोलिक स्थान मात्र नभई किरात धर्मको एक जीवित आस्था र इतिहासको केन्द्र हो । बाल्यकालको कठिन परिस्थिति, मातृवियोग, गोठालो जीवन, र शिक्षाबाट वञ्चित समाजमा हुर्केर धार्मिक ज्ञान, अनुशासन र सेवामा समर्पित भई धर्मगुरु बन्नु उहाँको अद्वितीय साधना र प्रेरणाको प्रतीक हो । यसले किरात धर्म र परम्परागत ज्ञानको सजीव र मूर्त उदाहरण प्रस्तुत गर्दछ ।
अगौटेबारीलाई धार्मिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न केही आधारभूत पूर्वाधारको विकास अत्यावश्यक देखिन्छ । विशेषगरी, यातायात सहज बनाउने गरी सडकको कालोपत्रे, गुरुको जीवन दर्शन प्रस्तुत गर्ने स्मृति संग्रहालयको निर्माण, विभिन्न धार्मिक प्रतिमाहरूको स्थापना, तथा पर्यटन प्रवद्र्धनका लागि राज्य, प्रदेश र स्थानीय सरकारको समन्वित प्रयास अपरिहार्य भइसकेको छ । यस क्षेत्रबाट नजिकै देखिने घोर्ले भीर जस्ता मनोरम दृश्यहरूले यसलाई प्राकृतिक पर्यटनसँग पनि जोड्न सकिने सम्भावना खोल्दछन् । त्यस्तै, ‘माङसेबुङ सर्किट’ अवधारणा कार्यान्वयनमा ल्याएर महागुरु फाल्गुनन्ददेखि वर्तमान धर्मगुरु ‘सेइङ’सम्मको तीर्थयात्रा मार्ग निर्माण गर्नु यस क्षेत्रको पर्यटन तथा धार्मिक पहिचान विस्तारको लागि महत्वपूर्ण कडी बन्न सक्छ ।
यसर्थ, अगौटेबारीको महत्वलाई सम्मान गर्दै यसको दिगो संरक्षण, प्रवद्र्धन र अन्तर्राष्ट्रियस्तरको धार्मिक गन्तव्यका रूपमा विकास गर्न बहुआयामिक र दीर्घकालीन योजना आवश्यक छ ।
सन्दर्भ सामग्री :
फागो, धनबहादुर (२०७१), किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृति ग्रन्थ । आस्थाका केन्द्र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’को संक्षिप्त जीवनी दमक, झापा । किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृति ग्रन्थ ।
हुक्पाचोङवाङ, सेन्छेनहाङ हरि (२०७४), लिम्बुवानको ऐतिहासिक घटनाका केही कुरा । शिवसताक्षी, झापा । दिलबहादुर लाओती ।
ज्ञानु केदेम र अरु (सं.) (२०८१), माङसेबुङ दर्पण । इलाम । माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय इभाङ (माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रा. लि. र किरात इङ्भो पान्जुम्भो) ।
लिङदेन, माङमिङसोहाङ (२०८१), किरात समाचार । माङसेबुङ, मंसिर १८ । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’को संक्षिप्त परिचय । ७१औं नोमाङगेन्ना । पुजनीय मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ विशेष अंक । किरात मल्टिमिडिया ।
सेर्मा, साम्जीरी सेमी (२०६५), किरात लिम्बुवान र लिम्बूहरु । माङसेबुङ, इलाम । नेम्बाङ मोहनमान
किरात समाचार– https://kiratsamachar.com/
केदेम, ज्ञानु (२०८१), माङसेबुङ मासिक । माङसेबुङ । मंसिर । सत्य, शान्ति र एकताका संवाहक मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको संक्षिप्त । धनबहादुर थेवे ‘निवाहाङ’ ।
माङसेबुङ मासिक -https://mangsebungnews.com/
माङसेबुङ गाउँपालिकाको वेबसाइट– https://mansebungmun.gov.np
Kirat Holy Places – Kirat Community Organization of America – blog
कुराकानी
१. हेमन्त राई, अध्यक्ष, माङसेबुङ गाउँपालिका (२०८२ जेठ ११ गते गरेको कुराकानी) ।
२. केहेरसिं योङहाङ, अध्यक्ष, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा (२०८२ जेठ १ गते गरेको कुराकानी) ।
३. सेरबहादुर लाओती । अध्यक्ष, माङसेबुङ हेरिटेज प्रा.लि.÷कोषाध्यक्ष, गुरु निजी आश्रम अर्थ समिति (२०८२ जेठ ११ गते गरेको कुराकानी) ।
४. नन्दकुमार नेम्बाङ । पूर्वसचिव, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा (२०८२ वैशाख ३१ गते गरेको कुराकानी) ।
५. मिलन लाओती । सचिव , गुरु निजी आश्रम अर्थ समिति (२०८२ जेठ १० गते गरेको कुराकानी) ।