किरात धर्मगुरु साँबा पवित्रहाङमा लिङ्देनको जन्मस्थान उत्तरे । तस्बीरः प्रविन सेलिङ सेन्दो
- सङसेमी माङयुङ
१. उठान :
इलाम जिल्लाको दक्षिण पश्चिममा माङसेबुङ गाउँपालिका पर्दछ । माङसेबुङ एक धार्मिक, साँस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण पालिका हो । यस पालिकामा किरात धर्म दर्शनदाता, पुनःउथानकर्ता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्म स्थान चुक्चिनाम्बा पर्दछ । यहीनेर निर्दलीय पञ्चायती व्यवस्था ढाल्नको लागि लड्दालड्दै वीरगति प्राप्त गर्नुभएका सहिद रत्नकुमार बान्तावाले सहादत प्राप्त गरेको ठाउँ रत्न बस्ती इभाङ पनि पर्दछ ।
वर्तमान किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सइेङको जन्मभूमि अगौटेबारी, ज्ञान तपोभूमि फुलुङगी र कर्मभूमि विश्व किरातीहरुको आस्थाको शिखर माङसेबुङ (लारुम्बा) पर्दछ । गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको जन्म गाउँ उतरे पनि यसै माङसेबुङ गाउँपालिकाको वडा नम्बर ३ मारहेकोछ । यसरी नै ज्योतीनन्द गुरुको तपोभूमि र समाधिस्थल रहेको धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्त्वको क्षेत्र माङमालुङ, विद्यानन्द गुरुले स्थापना गर्नुभएको मुख्य माङखिम विराट ज्योति र पूर्वकै प्रशिद्ध धामहरु मध्येको एक शक्तिशाली भगवती देवी गजुरमुखीधाम माङसेबुङमै पर्छ । किरातकालीन मिथक र महाभारतको किंवदन्ती जोडिएको ऐतिहासिक स्थल अन्धाराजा अन्धारानीदेखि लिएर चारसुरे, नाक्वालुङ र घोर्लेभीर जस्ता प्राकृतिक विविधताले सुसजित सम्पदाहरु यसै पालिकाभित्र छन् । यीनै सुन्दर सम्पदाहरुलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्दै संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने अभिप्राय लिएको छ । जस मध्ये यहाँ किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको जन्म स्थान उतरेको बारे चर्चा गरिएको छ ।
२. उत्तरेको परिचय :
तत्कालीन मिक्लुक थुम बाँझो गाविस वडा न.७, हालको माङसेबुङ गाउँपालिका वडा न. ३ मा अवस्थित छ उत्तरे गाउँ । यो स्थान फाल्गुनन्द मार्ग (दमक–चिसापानी–रवि) सडक खण्डको खलङ्गेस्थित शनिबारे बजारदेखि करिव १ कि.मी दक्षिण पश्चिमा पर्छ ।
यस उत्तरे गाउँ उत्तर मोहोडा फर्किएर बसेको छ । उत्तर मोहोडा फर्किएर बसेकै कारण उतरे भनिएको हो ।(लिङदेन कल्पना) सानो र सुन्दर गाउँ उतरे प्रकृतिक रुपमा मनोरम, हिमालको शितल हावापानी र बस्न योग्य अन्नबालीको लागि उर्वर माटो रहेको छ । यहाँबाट किरात धार्मिकहरुको आस्थाको केन्द्र माङसेबुङ(लारुम्बा), तराईका सुन्दर फाँटहरुमारतुवा खोला, मावा खोला र नुनसोरी खोलाको नाखबेली बगाई हेर्न सकिन्छ । चुलाचुलीका टाकुराहरु र माङमालुङ आसपासका सुन्दर पहाडहरुको दृश्यवलोकनले गर्न सकिनेछ । (पृथीमान खालिङसंगको कुराकानीमा आधारित)
अहिले उत्तरे गाउँमा किरात धार्मिक गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नाममा किरात पवित्र–आत्मा युमा माङहिम निर्माण गरिएको छ ।जसलाई थाङसेबुङ माङहिम समेत भन्ने गरिएको छ । करिव ३० घर जति रहेको यस उत्तरे गाउँ ऐतिहासिक महत्व बोकेको महत्वपुर्ण धार्मिक स्थानमा पर्छ । (टंक साँबा संग कुराकानीमा आधारित)
किरात धर्मगुरु साँबा पवित्रहाङमा लिङ्देनको जन्मस्थान । तस्बीरः योगेश लावती
३. गुरुआमा पवित्रहाङमाको जन्म र उत्तरे गाउँ :
किरात धर्मका वर्तमान गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको जन्म वि.स. २०१३ साल फागुन ३ गते बिहीबारका दिन पूर्णिमा तिथिमा सुब्बा बृर्खध्वज साँबा र आमा कौशिला(ऐश्वरी) साम्सुहाङ राई(साँबा)को कोखबाट जेठी सुपुत्रीको रुपमा यसै उत्तरेमा भएको हो । तत्कालीन अवस्थामा यस भेगमा बसोबास गर्ने स्थानीय साँबा, योङहाङ र राईहरुबीच भूमि सम्बन्धि विवाद परेपछि त्यो झगडा, इलाम र धन्कुटामा अड्डामा पनि नमिलेपछिमुद्दा मिलाउन सुब्बा बृर्खध्वज काठमाडौंजानु पर्ने भयो । आफू नभएको समयमा परिवारमा कुनै अप्रिय घटना नघटोस् भन्ने हेतुले श्रीमती कौशिलालाई (माइतीघर) उत्तरेमा छोडेर बृखध्वज बाटो लागे । माइतमा छोडेको छैटौं दिनको उषाको किरणसँगै कौशिला साम्सुहाङको कोखबाट जन्मिएको बच्चा नै वर्तमान अवस्थामा किरात धर्मका पथप्रर्दशक, युमा स्वरुप मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन हुनुहुन्छ । बिहानीको समयमा जन्म भएकोले गुरुआमा पवित्रहाङमाको नाम सानो छँदा तान्छोहाङमा भनेर बोलाउने गरेको थियो । (गुरुआमाको कान्छा मामा जोगदिल साम्सुहाङसँगको कुराकानीमा आधारित)
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’सँग वि.स.२०३२ साल माघ २२ गते बिहिबारका दिन गुरुआमा पवित्रहाङ साँबाबीच देव बिवाह सम्पन्न भयो । ततः पश्चात किरात धर्मगुरु आत्मानन्द लिङदेनसँग मिलेर धार्मिक, सामाजिक तथा साँस्कृतिक जागरण अभियानको थालनी गर्नुभयो । आफ्नो भाषा, लिपि, मुन्धुम, धर्म दर्शन, संस्कार र संस्कृति उत्थानमा महत्वपूर्ण योगदान गर्नुभयो । आफ्नोभाषाप्रतिको प्रेमले सदैव आफ्नो भाषा बोल्ने र बोलाउने गर्नु भयो । लिपिप्रतिको मोहले लिपि उत्थानको लागि गुरु–गुरुआमाको निर्देशनमा किरात साम्जिक मुन्धुम निसामहिम स्थापना गरि सञ्चालनमा ल्याएको पाइन्छ । जसलाई किरात मुन्धुम विश्व विद्यालय बनाउने सपना रहेको छ (लिङदेन, २०६७) (पृ. ४५८) ।
गुरुआमा गुरुआमा पवित्रहाङमाले धर्मलाई परम्पराको रुपमा होइन जीवन पद्धतीको रुपमा पुनः परिभाषित गरेर किरात धर्मलाई सफल नेतृत्व प्रदान गर्नुभएको छ । उहाँले गर्नुभएका सामाजिक अन्धविस्वास भत्काउनको कार्यहरु जस्तै : नारीले हलो जोत्नु हुँदैन, हरिस नाँघ्नु हुँदैन, धुरी चढ्नु हुँदैन भन्ने जस्ता पुराना मान्यता आफै तोड्नु भयो । नारी र पुरुष समान हुन्भन्ने चेतनाको विजारोपण गर्नुभयो । यस्ता अनेकौ धार्मिक, सामाजिक र साँस्कृतिक कार्यमा अगुवाई गर्नु भएकोले गुरुआमा स्वयम् नारी सशक्तिकरणको लागि समेत उत्प्रेरणा हुनुहुन्छ (नसान, २०७३) (पृ, ३) ।
गुरुआमा पवित्रहाङमाको नोमाङगेन्ना (जन्मोत्सव) यसै उतरे जन्म स्थानबाट मनाउन सुरु गरिएको हो । पहिलो पटक वि.स. २०६१ फागुन ३ गते गुरुआमाको मामाहरुलाई सम्मान गर्दै नोमाङगेन्ना गर्न सुरु गरिको थियो । जेठा जसबहादुर साम्सुहाङ, माइला अगमसिं साम्सुहाङ, साइला मोहनसिं साम्सुहाङ रकान्छा जोगदिल साम्सुहाङहरुलाई सम्मान गरि खुसी बनाएर नोमाङगेन्ना सुरु भएको थियो । यसरी गुरुआमाको नोमाङगेन्ना सुरुवात भएको ठाउँ भएकोले पनि यो उत्तरे किरात धर्मावलम्बीहरुको लागि विशेष रहेको छ । किनभने गुरुबा–गुरुआमाको नोमाङगेन्ना गरि मागेन्ना उठाउदा सिङ्गो किरात धर्मावलम्बीहरुको माङगेन्ना उठ्छ भन्ने धार्मिक विश्वास रहेको छ (केहेरसिं योङहाङसंगको कुराकानीमा अधारित) ।
किरात धर्ममा आस्था राख्ने किरात धर्मावलम्बीहरुले किरात सभ्यताको जननी र आस्थाको रुपमा महत्वपूर्ण धार्मिक स्थानको रुपमा उत्तरेलाई मान्ने गरेको पाइन्छ । यस स्थानबाट किरात धर्मको अध्यात्मिक चेतना जागरणकर्ता पथप्रर्दशक गुरुआमा पवित्रहाङमाको जन्म भएकोले यस स्थानलाई किरात धर्मावलम्बीहरुले अत्यन्तै पवित्र र श्रद्धाको केन्द्र मान्ने गरेका छन् ।
उत्तरे थाङसेबुङमा अवस्थि किरात पवित्रआत्मा युमा माङहिम । तस्बीरः प्रविन सेलिङ सेन्दो
४. उतरे सम्बन्धी पूर्व चर्चा :
उत्तरे ऐतिहासिक धार्मिक महत्त्व बोकेको गाउँ हो । यस गाउँमा किरात धर्मका वर्तमान किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको जन्म भएको कुरा विभिन्न पुस्तक, पत्रपत्रिका, अनलाइन मिडिया र गुगल विकिपियामा उल्लेख भएको पाइन्छ । उत्तरेलाई धार्मिक पवित्र पुन्यभूमि मान्न सकिन्छ । यहाँ गुरुआमा पवित्रहाङमाको मावलीघर भएको र त्यहाँ नै गुरुआमाको जन्म भएको सञ्चारकर्मी आन्छुमे नसानले माङसेबुङ मासिक (२०६७) मा उल्लेख गर्नुभएको छ ।
ज्ञानु केदेम र अरु … (सं. )ले , माङसेबुङ दपर्ण (२०८१) पुस्तकमा गुरुआमा साविक बाझो ७ उत्तरेमा जन्मनुभएको र हाल गुरुआमा पवित्रहाङमाको नाममा आत्मा–पवित्र युमा माङहिम निमार्ण गरेको कुरा उल्लेख गरेको पाइन्छ ।
लेखक सेर्मा साम्जीरी सेमीले किरात लिम्बुवान र लिम्बुहरु (२०६५) नामक पस्तकमा गुरुआमा बारे चर्चा गर्दै तत्कालीन सिक्लुक थुम हाल इलाम बाँझो ७ उत्तरे मावली घरमा जन्म भएको उल्लेख गर्नुभएको छ ।
त्यस्तै, लेखक कल्पना लिङदेनले किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेल स्मृतिग्रन्थ (२०६७) मा गुरुआमाको खास घर बाँझो ८ भए पनि उत्तरेस्थित मावली घरमै जन्मीनु भएको उल्लेख गर्नुभएको छ ।
यी उल्लेखित आधार हेर्दा उत्तरे एक ऐतिहासिक स्थल हो । जहाँबाट सिङ्गो किरात धर्मावलम्बी आस्थामा विराजमान युमाको स्वरुप गुरुआमा पवित्रहाङमाको जन्म भएको देखिन्छ । जसले गर्दा यस ठाउँलाई किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र वा एक महत्त्वपूर्ण स्थलको रुपमा लिन सकिन्छ ।
४.वर्तमान अवस्था :
गुरुआमा पवित्रहाङको जन्म स्थान उत्तरेमा दैनिक नित्य सेवाको थालनी गर्ने हेतुले वि.स. २०५९ मा साम्दाङगेनवरुमसाबा खडक खालिङ र मुङगीराम दुखुन राईहरुलाई उत्तरेमा बसोबास गराइएको थियो । त्यस ठाउँको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनको लागि जमिन संस्थाको मातहतमा ल्याउने काम भयो । त्यसको २ वर्ष पछि वि.स. २०६१ मा गुरुआमा पवित्रहाङमाको जन्मोत्सव पहिलो पटक उत्तरेबाटै मनाउने प्रचलनको सुरु भयो । त्यसबेला गुरुआमा जन्मिनु भएको घरको भग्नावशेष वा ठाउँमा सामान्य खारेर ढुङ्गाको स्तम्भ निर्माण गरिएकोछ । त्यसपछि अन्य भौतिक संरचना निर्माण भने हुन सकेको छैन । किरात धर्मगुरुबा तथा गुरुआमाले गुरुआमा जन्मिनु भएको ठाउँलाई किरात धर्मको मुख्य धार्मिक स्थल मध्ये एउटा बनाउने परिकल्पना सार्वजनिक गर्नुभएको छ । जसको लागि यहाँ पोखरी बनाएर कमलको फूल फुलाउने, गुरुआमा जन्म भएपछि बच्चा, बालक, किशोरावस्था र वैंश्क हुँदै वृद्ध अवस्थासम्महुँदाको झल्को दिने प्रतिमा निर्माण गर्ने योजना रहेको छ । तर अन्य ठाउँको विभिन्न संरचना निर्माणको काम भइरहेकोलेयस उत्तरेको काम गर्न सकिएको छैन । (केहेरसिं योङहाङसँग कुराकानीमा आधारीत)
उतरे पुग्नको लागि फाल्गुनन्द मार्ग (दमक–चिसापानी–रवी) सडक खण्डको खलङ्गेस्थित शनिबारे बजारदेखि करिव १.५ कि.मी कच्ची सडक निर्माण भएको छ । जुन सडक वि.स. २०६० सालमा किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समितिको आह्वानमा आम किरात धर्मावलम्बी भक्तजनहरुले श्रमदान गरेर खनिएको हो । करिव ७०० मिटर सडक भने साविक बाँझो गाविस हुँदा वडाबाट बिनियोजित ३५ हजार रकमर अन्य लागतस्थानीयबासी मिलेर आर्थिक संकलन गरिखनिएको हो । (खडक खालिङसँग कु्राकानीमा आधारित)
किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ सावाँ पवित्रहाङमा लिङदेनको पहिलो पटक जन्मोत्सव तथा नोमाङगेन्ना सेवाको अवसरमा सम्मानित गुरुआमाको ४ भाई मामाहरु ।
५.समस्या र विकासको प्रयास :
किरात धर्म गुरुआमा पवित्रहाङमाको जन्म स्थान उत्तरे पवित्र, पुन्य र ऐतिहासिक भूमि हो । जहाँ दर्शन गर्न कयौं किरात धर्मावलम्बीहरु पुग्ने गरेका छन् । तर यहाँ भने जस्तो भौतिक संरचनाको निर्माण भएको छैन । यहाँ किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनहरुको देव उपस्थिति गराउँदा बस्ने आश्रम निर्माण गरिएको छैन । भक्तजनहरु दर्शन गर्न आउँदा बस्ने भक्तशाला निर्माण हुन बाकी रहेको छ । शौचालय र अन्य अत्यावश्यक पूर्वाधार छैनन् । पोखरी बनाएर कमल फूल फुलाउने योजना रहेको भए पनि पानीको अवाभले सो योजना थालनी भएकै छैन । जसको लागि दीर्घकालिन पानीको मुहान पत्ता लगाई व्यवस्थापन गर्नुपर्ने देखिन्छ । दैनिक उपभोगका लागि खानेपानी आइरहेको भएपनि धेरै पानी आवश्यक पर्ने भएकोले छुटै पानीको ब्यवस्थापन गर्नुपर्ने देखिन्छ । (खडक खालिङसँगको कु्रकानीमा आधारित)
उत्तरेको समग्र विकासको लागि अहिलेसम्म छुटै फाउन्डेसन वा समिति बनेको छैन ।यहाँ गुरुआमाको जन्मस्थानमा माङसेवासाबाको रुपमा दुई परिवार बस्दै आएका छन् । वहाँहरुले दैनिक धुपवाती बाल्ने र जग्गा चासभोग गरि संरक्षण गर्दै आउनुभएको छ । यसरी नै यहाँ गुरुआमाको नाममा आत्मा–पवित्र युमा माङहिम थाङसेबुङ निर्माण गरिएको छ । यस माङहिम सञ्चालनको निम्ती समिति बनाई त्यसैको निगरानीमा माङहिम रहेको छ । यसबाहेक गुरुआमाको जन्मस्थान नजिकैसम्म सडक पुगेको छ ।जन्म स्थानमै जोडिने गरि करिव ३ सय मिटर सडक खन्न बाँकी रहेको छ । स्थानीय सरकार (पालिका) र वडामा पहल गरेको तर अहिलेसम्ममाग सम्बोधन हुन सकेको छैन । (पृथीमान खालिङसँग कुराकानीमा आधारित)
माङसेबुङ गाउँपालिकाले माङसेबुङभित्र रहेको धार्मिक, सस्कृतिक र प्रकृतिक सम्पदाको सम्वद्र्ध र प्रवद्र्धन गरि पर्यटन विकास गर्ने योजना गरेको छ । जस अन्तर्गतकिरात पद मार्गले गुरुआमाको जन्मस्थान उत्तरेलाई छुँदै अगाडि बढेको छ । यसले उत्तरेको प्रचारप्रसारमा सघाउ पु¥याउँछ । यस बाहेक उत्तरेको विकासको लागि अहिलेसम्म कुनै बजेट पालिकाले छुट्याएको छैन । आगामी आर्थिक वर्षमा उत्तरेको आश्यकीय कुराहरुको पहिचान गरि प्राथामिकताको आधारमा बजेट छुट्याई विकास गरिने छ । (हेमन्त राईसँगको कुराकानीमा आधारित)
किरात धर्मगुरु साँबा पवित्रहाङमा लिङ्देनको जन्मस्थान उत्तरे । तस्बीरः प्रविन सेलिङ सेन्दो
६. पर्यटनको सम्भावना :
पर्यटनले स्थानीय कला, संस्कृति, धर्म र स्थानहरुको उजागर गराउँछ । विकास हुनमा टेवा पु¥याउँछ । आर्थिक उपार्जनको प्रमुख आधारशिला खडा गर्न सक्छ । जसको लागि पर्यटकलाई आकर्षितगर्न सकिने कुनै पनि स्थान, वस्तु वा धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाहरुको पहिचान गरि प्रवद्र्धन गर्न आवश्यक हुन्छ । जसबाट प्रत्यक्ष लाभान्वित स्थानीय जनता हुन पाउँछन् । उत्तरेबाट नजिकै किरात धर्मको केन्द्रीय माङहिम रहेको छ । धर्मगुरु गुरुआमाको आश्रम रहेको छ । जहाँ वर्षेनी लाखौँ किरात धार्मिक भक्तजन र आस्थावान मानिसहरु गुरुबा–गुरुआमासँग दर्शनभेट गर्न र माङहिममा सेवा गर्न उपस्थित हुन्छन् । ती धार्मिक पर्यटकहरुलाई गुरुआमाको जन्मस्थल उत्तरेसम्म अनिवार्य पुग्ने बनाउन सकिन्छ । जसको लागि आवश्यक भौतिक संरचनाहरु निर्माण गर्नुपर्ने देखिन्छ । सम्वद्र्धन, प्रवद्र्धन र प्रचारप्रसार गर्नुपर्छ । फाल्गुनन्द मार्गलाई छिटो भन्दा छिटो कालोपत्रे बनाउन स्थानीय राजनीतिक दल, धार्मिक संघसंस्था र सरोकारवालाले पहल गर्नुपर्ने देखिन्छ । यो मार्ग बनेमा उत्तरे धार्मिक गन्तव्यको लागि एउटा मुख्य स्थल बन्ने पक्का छ ।
पर्यटन पर्वद्धनको लागि माङसेबुङ गाउँपालिकाले नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहयोगमा किरात पदमार्ग भनेर माङसेबुङदेखि फक्ताङलुङसम्मको पदमार्ग सुरु गरेको देखिन्छ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना भनेर यस पद मार्ग सुरु गर्नुको उद्देश्य मान्छेको जिवीकोपार्जनसँग प्रत्यक्ष जोड्न खोजेको देखिन्छ । तर,यस किरात पदमार्गले माङसेबुङ गाउँपालिकामा पर्ने केहि प्रमुख पर्यटनको केन्द्र बन्ने सम्भावना बोकेका महत्वपूर्ण ठाउँहरुलाई समेट्न सकेको देखिँदैन । खासगरी किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिकस्थल माङसेबुङ (लारुम्बा), गुरु तपोभूमि फुलुङ्गी, गुरुको जन्मस्थान अगौटेबारीलाई पनि जोड्न÷समेट्न सके सुनमा सुगन्ध थपिने थियो । जसले गर्दा यी ठाउँहरुसँगै गुरुआमाको जन्म स्थान उतरेमा पनि दर्शन, अवलोकन गर्न आउनेको घुइँचो लाग्न सक्छ ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन । तस्विरः ज्ञानु केदेम
५. निष्कर्ष :
उत्तरे गुरुआमा पवित्रहाङमाको जन्म स्थान हो । जुन अत्यन्तै ऐतिहासिक, पवित्र र महत्वपूर्ण रहेको छ । गुरुआमाप्रतिको गरिमा, आस्था र सर्वोच्चतालाई जुन हिसाबले आम किरात धर्मावलम्बी भक्तजनले मानेका छन् । श्रद्धा र भक्ति गरेका छन्, त्यसै हिसाबले उत्तरेको विकास र प्रचार प्रसार भएको देखिदैँन । अब किरात धर्मावलम्बीहरुले आस्थाको रुपमा मान्दै पुज्दै आएको युमाको स्वरुप गुरुआमा पवित्रहाङमाको जन्म स्थानलाई विश्वमान चित्रमा महत्वपूर्ण धार्मिक गन्तब्यको रुपमा उभ्याउनु पर्दछ । जसको लागि स्थानीयसहित तीनै तहका सरकार, धार्मिक संघसंस्था, स्थानीय सरोकारवाला र दलहरुको समन्वय, पहलकद्मी जरुरी रहेको देखिन्छ । जसले गर्दा उत्तरेको गरिमा र श्रद्धा चुलिन्छ ।
सन्दर्भ सामाग्री :
१. नसान, आन्छुमे (२०७३), माङसेबुङ मासिक । अङसीमाङका परिपुरक अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन’ (२०७३ फागुन), । धनबहादुर थेवे निवाहाङ ।
२. केदेम ज्ञानु र अरु … (सं. ), (२०८१), माङसेबुङ दर्पण । माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय (माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रा.लि. र किरात इङभो पान्जुम्भो)
३. लिङदेन, कल्पना (२०६७), दमक, झापा । किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृतिग्रन्थ । ‘मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङदेन संक्षिप्त परिचय’, किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृतिग्रन्थ । किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृतिग्रन्थ ।
४. सेर्मा, दिलहाङ (२०६७), किरात लिम्बुवान र लिम्बुहरु (दोस्रो संस्करण, पृ. १०९) । नेम्बाङ मोहनमान ।
कुराकानी
१. केहेरसिं योङहाङ, अध्यक्ष, किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा माङसेबुङ–५, लारुम्बा इलाम (२०८२ जेठ ५ गतेको कुराकानी)
२. जोगदिल साम्सुहाङ, साम्दाङगेनवरुमसावा तथा गुरुआमा पवित्रहाङमाको कान्छा मामा, (२०८२ जेठ ६ गतेको कुराकानी)
३. खडग खालिङ, साम्दाङगेनवरुमसाबा तथा गुरुआमा जन्म स्थानमा सेवासाबाको रुपमा नियुत्त भई बसोबास गरिरहनुभएका ब्यक्तित्व । (२०८२ जेठ ६ गतेको कुराकानी)
४. पृथीमान खालिङ, अध्यक्ष, किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्जुम्भो तथा गुरुआमा जन्म स्थानमा बसोबास गर्नुहुने ( कुराकानी)
५. हेमन्त राई, अध्यक्ष, माङसेबुङ गाउँपालिका (२०८२ जेठ १२ गतेको कुराकानी)
६.टंक साँबा, अध्यक्ष, आत्मा–पवित्र युमा माङहिम, माङसेबुङ ३, थाङसेबुङ, उतरे (२०८२ जेठ ७ गतेको कुराकानी)