पहिचान खोज्दै अठासीधाम - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पहिचान खोज्दै अठासीधाम

अठासीधाममा अवस्थित माङहिमतस्विर: सङसेमी माङयुङ

  • सङसेमी माङयुङ

१. सुरुवात

सूर्योदयको जिल्ला, पहाडकी रानी र विभिन्न ‘अ’हरुको जिल्ला भनेर इलाम प्रख्यात रहेको छ । इलाम धार्मिक, सँस्कृतिक र प्रकृतिक रुपले सुन्दर र धनी मानिन्छ । यस्तो अनेकौ सम्पदा भएको जिल्ला इलामलाई प्रशासनिक रुपमा १० ओटा पालिकामा विभाजन गरिएको छ । जस मध्ये दक्षिण पश्चिममा माङसेबुङ गाउँपालिका रहेको छ । माङसेबुङको नाम किरात लिम्बु भाषामा राखिएको हो । जसलाई बिग्रह गरेर हेर्दा माङ भन्नाले देवीदेवता/इश्वर, से भन्नाले रोजेको वा पवित्र र बुङ भन्नाले स्थान÷ठाउँ भन्ने जनाउछ । जसको अर्थ हुन्छ माङले रोजेको पवित्र ठाउँ । यस कुरालाई माङसेबुङमा भएको धार्मिकस्थल र धामहरुले सिद्ध गर्दछ ।

यस माङसेबुङ किरात धर्म दर्शनदाता राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्दको जन्म स्थान चुक्चिनाम्बा, वर्तमान किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको जन्मस्थान अगौटेबारी, ज्ञान तपोभूमि फुलुङगी (गुफाडाँडा) र कर्मभूमि विश्व किरातीहरुको आस्थाको शिखर माङसेबुङ(लारुम्बा) पर्छन् । गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको जन्म गाउँ उत्तरे पनि यहीँ रहेको छ । यसरी नै महाप्रभु ज्योतीनन्द गुरुको समाधिस्थल, माङखिम रहेको माङमालुङ, सचितानन्द गुरुले स्थापना गर्नुभएको केन्द्रीय विराट ज्योति माङहाङ मन्दिर र पूर्वकै प्रसिद्ध धाम भगवती देवी गजुरमुखीधाम माङसेबुङमै पर्दछन् ।

यसरी नै माङसेबुङकै सर्वशान्ति बुद्धविहार, ओमनन्दले सुरुगरेको प्रेमवादमा आस्था राख्नेहरुले मान्ने सेमीचोङ, नेवार समुदायले मान्ने भिमसेन थान मन्दिर जस्ता थुप्रै मन्दिर वा धामहरु रहेको छन् । यीनै मध्येको ऐतिहासिक शक्तिपिठ अठासीधामको महत्त्वको बारेमा यो लेखमा चर्चा गरिएको छ ।

२.परिचय

चारैतिरबाट घेरिएर रहेको उपत्यका जस्तै देखिने सानो मझुवा गाउँ रहेको छ । त्यसै मझुवा गाउँबाट एउटा सानो खोल्सी बग्छ, त्यस खोल्सीलाई मझुवा खोल्सी भनिन्छ । त्यो खोल्सीको शिर त्यसै गाउँको शिरान र मध्य भागसम्म गाउँलाई फुटाएर बीचबाट बग्छ भने पुछारतिर पुगेपछि पश्चिमतिर मोडिएर अग्लो चुलीभित्र भएर बग्दै जान्छ । जव चुलीभित्र खोला बग्न सुरु हुन्छ, त्यहीँनेर अठासीधाम देवस्थल रहेको छ ।

यस अठासीधाम देवस्थल विकट, अप्ठ्यारो चेपको भिरालो भूभागमा रहेको छ । यहाँ ठूलो ओढार रहेको छ । जुन ओढार तीन तहमा रहेको छ । ओढारभित्र विभिन्न प्रकारका आकृतिहरु प्रकृतिक रुपमै बनेर/खोपिएर बसेका छन् । ती आकृतिहरुमा हात्ती, गाईको थुन, शंख, झ्याम्टा, डमरु, घण्टी र नौमती बाजाहरु गुफाको भित्ताभरी देख्न सकिन्छ । यीनै आकृति भएको ठाउँबाट पानी पर्ने वा घाम चर्को लाग्ने संकेत स्वरुप ठूलो वा मलिन आवाजमा बाजागाजा बज्ने गरेको किंवदन्ती पाइन्छ । यस अठासीधामभित्र जान गाह्रो हुने भएकोले थोरै माथि सजिलो ठाउँमा माङहिम बनाइएको छ । यस्तो अदभूत दैवी शक्ति भएको अठासीधाम देवस्थल माङसेबुङ ५, मझुवामा अवस्थित छ ।

अठासीधाममा अवस्थित माङहिमभित्र रहेको धुम्की(खाम्भुचङमा)तस्विर: सङसेमी माङयुङ

३. अठासीधाम सम्बन्धी पूर्व चर्चा

अठासीधाम छुटै महत्त्व र विशेषता बोकेको धार्मिकस्थल हो । यस धामको बारेमा केही पुस्तक, पत्रपत्रिका, चर्चा गरेको पाउन सकिन्छ । ती कुराले अठासीधामको महत्त्वलाई उजागर गरेको छ । ज्ञानु केदेम र अरु…(सं) ले माङसेबुङ दर्पण (२०८१) पुस्तकमा अठासीधाम देव स्थलमा किरात धर्मावलम्बीहरुले सेवा पूजा गर्दै आएको भनी उल्लेख भएको पाइन्छ ।

४. अठासीधामको उत्पत्ति र ऐतिहासिकता

अठासीधामको उत्पत्ति कहिले, कसरी भयो ? कसले पत्ता लगायो ? कहिलेदेखि मान्न थालिएको हो ? आदि बारे ठ्याकै तिथिमिति थाहा छैन । तर, पुर्खाहरुको भनाईलाई आधार मान्दा करिब दुई सय वर्ष भन्दा अगाडिबाटै हो भन्ने अनुमान गर्न सकिन्छ । यो अनुमान सत्यको नजिक हुन सक्छ, किनभने करिव दुई दशक अगाडिसम्म यहाँ विभिन्न खाले पुराना सिक्का पैसा करिब तीन पाथी जति रहेको थियो । संरक्षणको अभावले त्यो पुराना सिक्का पैसा अहिले छैनन् । कसले लग्यो ? कहाँ गयो ? कसैलाई थाहा छैन । तर अहिले यो धामको संरक्षण गर्नुपर्छ भन्ने लागेर स्थानीयले जोडदार पहल र प्रयास गरिरहेका छन् । (केबी राईसँगको कुराकानीमा आधारित)

यो धामलाई किन र कसरी अठासीधाम भनियो भन्ने जिज्ञासा धेरैको पाईयो । अठासी धाम भन्नुका खास कारण यही हो भन्न नसकिए पनि यस धाममा अनेकौ खालका आकृतिहरु प्रकृतिले नै कुदेर राखेको छ । जुन अहिले पनि धाममा गएर र्हेन सकिन्छ । ती आकृति चित्रहरुको कारण पनि पुर्खाहरुले आठासीधाम भनेर नामाकरण गरे कि ? भनेर अनुमान गर्न सकिन्छ । धेरैले सतासीधामको बारेमा सुनेको जानेको तर अठासीधामको बारेमा खासै कोही जानकार छैनन् । त्यसैले यसको बारेमा एउटा प्रसङ्ग जोडन मनासिव हुन्छ ।

खासगरी पूर्वमा धन्कुटामा रहेको छिन्ताङ देवीलाई जेठी देवी, झापामा रहेको सतासीधामलाई साइँली देवी, इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजु्रमुखीमा रहेको भगवती देवी गजुरमुखी धाम कान्छी देवीका रुपमा रहेको छ । यी धामहरु निकै प्रसिद्ध रहेका छन् । तर, माइली देवीको रुपमा रहेको अठासीधाम भने अझै ओझेलमा रहेको छ । धामी, झाक्री, साम्बा, फेदाङमाहरुले सेवा गर्दा मुन्धुममा अठासी देवीको नाम पुकार गरेको पाइए पनि यो मुन्धुममै सीमित भएर बसेको छ । यी धामहरुको आफ्नै विशेषता र जनविस्वासहरु रहेका स्थानीय राई बताउनु हुन्छ ।

भनिन्छ – यहाँ परापूर्व कालमा यस धाममा एउटा सानो र सफा पोखरी रहेको थियो । पोखरीमा पात पतिङ्गार खस्दा एउटा सानो चराले टिपेर बाहिर निकाल्थ्यो र सधै सफा हुन्थ्यो । त्यस पोखरी भएको आसपासबाट चर्को घाम चकिर्ने दिनमा ठूलो आवाजमा विभिन्न खाले बाजागाजा बज्ने गथ्र्यो । यसरी नै पानी पर्ने संकेत स्वरुप अलिक मधुरो आवाजमा त्यसरी नै बाजागाजा बज्ने गथ्र्यो । जसले गर्दा त्यो दिनको मौसम कस्तो हुन्छ भन्ने अनुमान गर्ने चलन रहेको थियो । कुनै अनिष्ट हुने संकेत स्वरुप पनि बाजागाजा बज्ने गथ्र्यो ।

एक पटक यहाँ ठूलो अनिकाल आयो । त्तरुलभ्याकुर खोज्न जंगल गएर खनेर खोर्सेर ल्याउनु पथ्र्यो । त्यसै बेला एक दिन धाम नजिकै बस्ने तामाङ परिवारमा सन्तानको जन्म भयो । सुत्केरीको थाङ्ना धुन पोखरी नजिकै लगे र सुत्केरी सुतक धोएको फोहोर पानी पोखरीमा पस्यो । यसरी फोहोर मैला गर्ने परिवारमा ठूलो अनिष्ट भयो । परिवारका एक जना बाहेक सबै जनाको निधन भयो । ती बचेकाले पनि मझुवा गाउँ छोडेर गए । त्यसपछि पोखरी उडेर वा खुलेर बगेर गयो । तर अठासी धाममा भएको दैवी शक्ति देखेर धामप्रतिको आस्था र विस्वास भने अहिलेसम्म पनि स्थानीयमा रहिरहेको देखिन्छ ।

स्थानीयहरुले बताए अनुसार लामो समय खडेरी प¥यो भने पानी परोस् भनेर सेवा गर्दा पानी पर्ने गरेको छ । जसले गर्दा मौसमको लागि वा पानीको लागि दैवि शक्ति भएको धामको रुपमा विस्वास गर्न सकिन्छ । (राम प्रसाद योङहाङसँगको कुराकानीमा आधारित)

अठासीधाम माङहिमतस्विर: गोपाल फियाक

५. वर्तमान अवस्था

करिव तीन दशक अगाडिसम्म सामूहिक रुपमा यहाँ बलिपूजा गर्ने चलन थियो । पछि स्थानीयले किरात धर्ममा औपचारिक शब्दी ग्रहण गरेपछि बलि पूजा छाडेर फलफूलको माध्यमबाट सेवा पूजा गर्न थालिएको पाइन्छ । यसरी सेवा पूजा गर्नको लागि स्थानीयवासी मिलेर पोखरी भएको ठाउँमा एउटा सानो माङहिम(मन्दिर) निर्माण गरिएको छ । माङहिममा बृहत् रुपमा श्रीपञ्चमीको आसपासमा वार्षिक सेवा पूजा हुन्छ । (राम प्रसाद योङहाङसँगको कुराकानीमा आधारित)

यस धाम अतिनै दैवी शक्ति भएको धाम भएकोले यसलाई प्रकृतिक रुपमै रहन दिइएको छ । विगतमा जे थियो त्यस्तै अवस्थामा रहन दिँदा नै यस धामको पहिचान झल्कन्छ । सेवा पूजा गर्नलाई राम्रो माङहिम बनाउने सोच भए पनि बनाउन सकेको छैन । सानो माङहिम बनाएर सेवा पूजा गर्ने गरिएको छ । धुनी कुण्डको लागि जलबहादुर राईले चार आना जग्गा दान गर्नुभएको छ । अन्य भौतिक निर्माणका कामहरु भएका छैनन् । यहाँ पुग्नलाई बाटो भने नजिकैसम्म पुगेको छ । सेवा पूजा हुदाँ खानेपानी, शौचालयको अभाव भने छँदैछ । (केबी राईसँगको कुराकानीमा आधारित)

अहिले भएको माङहिमको छानो खिया लागेर पुरानो भइसकेको छ । धाममा नयाँ माङहिम बनाएर सेवापूजा गर्ने योजना रहेको छ । पटक–पटक स्थानीय सरकारसँग बजेट माग गरिएको छ । तर अघिल्लो सालको बजेटमा एक लाख रुपैयाँ विनियोजन भए पनि त्यसलाई स्थानीयले कार्यान्वयन गर्न चाहेनन् । पाँच लाख भन्दा कमको बजेटको योजनाले माङहिम बनाउनमा केहि नहुने ठानेर काम नगरिएको स्थानीय समितिको भनाइ छ । वडा र पालिकामा योजना पेश गरी बजेटको माग गर्दा कुनै सुनुवाई भएको छैन । जवसम्म स्थानीय सरकारले माग सुनुवाई गर्दैन, तबसम्म योजनामा पर्छ कि भन्ने आशाले योजना माग गरिरहने भन्नेमा उनीहरु छन् । (विकेन्द योङहाङसँगको कुराकानीमा आधारित)

अठासीधाम परम्पागत रुपमै मान्दै आएको धाम हो । यस ठाउँमा स्थानीयहरुले आफनै लगानीमा एउटा सानो मन्दिर बनाएर सेवा पूजा गर्दै आएका छन् । यस मन्दिरलाई ब्यवस्थापन गर्न भनेर कहिलेकाहीँ योजना माग गर्न आएका छन् । माग अनुसारको रकम नभए पनि गत वर्षको बजेटमा एक लाख विनियोजन गरको थियौँ । स्थानीयबासीहरुमा के मिलेन वा के भएर हो कार्यान्वयन गर्नुभएन । यस वर्षको बजेटमा पनि एक लाख विनियोजन गर्ने भन्ने तयारी छ । त्यस बाहेक तत्कालका लागि कुनै योजना रहेको छैन । तर, माग लिएर आएमा त्यहाँको आवश्यकतालाई हेरेर प्राथामिकताको आधारमा माग सम्बोधन गर्नु स्थानीय सरकारको कर्तब्य हो । (नरेन्द्र राईसँगको कुराकानीमा आधारित)

६. पर्यटनको सम्भावना

सामान्यतः पर्यटन भनेको व्यापार, मनोरञ्जन वा रमाईलोका लागि गरिने यात्रा भनेर बुझिन्छ । तर पर्यटन यतिमै सीमित छैन । यसले स्थानीय कला, संस्कृति, धर्म र स्थानहरुको उजागर गराउँछ । रैथाने खानपान, कृषि र अन्य उत्पादनको पवद्र्धन र बजारीकरणमा योगदान गर्छ । आर्थिक उपार्जनको लागि टेवा दिन्छ र मानिसको जीवनस्तर उकास्ने प्रमुख आधार बन्दछ । तसर्थ, धार्मिक, ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक महत्त्वका स्थलहरुको पहिचान गरी तिनलाई सम्वद्र्धन, प्रवद्र्धन गर्नु पर्दछ ।

माङसेबुङ गाउँपालिकाले पर्यटन पर्वद्धनको लागि नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहयोगमा किरात पदमार्ग भनेर माङसेबुङदेखि फक्ताङलुङसम्मको पदमार्ग सुरु गरेको देखिन्छ । यस पदमार्ग सुरु गर्नुको उद्देश्य स्थानीय जनताको जिविकोपार्जनसँग प्रत्यक्ष जोड्दै स्थानीय पर्यटकीय क्षेहरुको प्रचारप्रसार गर्नु भन्ने बुझिन्छ । पदयात्रीहरुले ती ठाउँको भ्रमण, अवलोकन गरुन् भन्ने नै हो । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना भनेर सञ्चालित किरात पदमार्ग माङसेबुङ गाउँपालिकाको वडा न. ४ मा रहेको अन्धाराजा अन्धारानीबाट सुरु भएकोछ । तर, यस पदमार्गले माङसेबुङ गाउँपालिकामा रहेका केही प्रमुख पर्यटनको केन्द्र बन्ने सम्भावना बोकेका महत्त्वपूर्ण स्थानहरुलाई समेट्न सकेको देखिँदैन । किरात धर्मावलम्बीहरुको केन्दी्रय धार्मिक स्थल माङसेबुङ(लारुम्बा), गुरु तपोभूमि फुलुङगी, गुरुको जन्मस्थान अगौटेबारीलाई पनि जोड्न/समेट्न सक्नु पथ्र्यो । यस पदमार्गलाई माङसेबुङ ५ मा रहेको अठासीधामलाई जोड्न सक्नु पथ्र्यो । यसो गर्न सकेको भए यस धाममा भएका अदभूत प्राकृतिक चित्रहरु अवलोकन गर्न, रमाउन र धामको दर्शन गर्न मानिसहरुको आगमन हुन सक्छ ।

अठासीधामतस्विर: गोपाल फियाक

७. निष्कर्ष र सुझाव

अठासीधाम ऐतिहासिक धार्मिक स्थल भए पनि अहिले ओझेलमा रहेको छ । यस धामभित्र भएको विभिन्न बाजागाजाको आकृति र पशुपंक्षीको आकृति प्राकृतिक रुपमै खोपिएर रहेको छ । जुन हेर्दा आर्कषक देखिन्छ, अदभूत महसुस गर्न सकिन्छ । यस्तो ऐतिहासिक शक्तिपिठ देवस्थल धामलाई संरक्षण सम्वद्र्धन र प्रवद्र्धनमा स्थानीय सरकारले ध्यान दिएको देखिँदैन । जसले गर्दा ओझेलमा परेको छ । त्यसैले गर्दा स्थानीय सरोकारवाला र स्थानीय सरकारले अठासी धाम र यसको धार्मिक, प्राकृतिक महत्त्वलाई पहिचान गरि विकास गर्न सके धार्मिक पर्यटनको केन्द्र बन्न सक्छ ।

सन्दर्भ सामग्री 

१.ज्ञानु केदेम र अरु…(सं), (२०८१) माङसेबुङ दपर्ण । माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय (माङसेबुङ पब्लिकेसन एण्ड मिडिया प्रा.लि. र किरात इङभो पान्जुम्भो)

स्रोत व्यक्ति

१. नरेन्द्र राई, वडा अध्यक्ष, माङसेबुङ ५ । (२०८२ जेठ ५ गतेको कुराकानी)

२. राम प्रसाद योङहाङ, सदस्य, किरात धर्म तथा साहित्य उत्थान संघ तथा स्थानीय जानकार (२०८२ जेठ ५ गतेको कुराकानी)

३. विकेन्द्र योङहाङ, अध्यक्ष , नेकपा माओवादी केन्द्र माङसेबुङ ५, तथा स्थानीय जानकार) (२०८२ जेठ ५ गतेको कुराकानी)

४. केवी राई, अध्यक्ष, फाल्गुनन्द आवासीय बोर्डिङ स्कूल तथा स्थानीय जानकार) (२०८२ जेठ १३ गतेको कुराकानी)

सम्बन्धित खवर