दमकमा शुक्रबारबाट याक्थुङ भाषा शिक्षक पेशागत विकास कार्यशाला सुरु - Mangsebung News
  • बिहिबार, असार १९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा शुक्रबारबाट याक्थुङ भाषा शिक्षक पेशागत विकास कार्यशाला सुरु

दमक । झापाको दमकमा विद्यालय शिक्षामा आदिवासी याक्थुङ (लिम्बू) भाषा शिक्षक पेशागत विकास कार्यशाला सुरू भएको छ ।

शुक्रबारबाट सुरु भएको कार्यशाला असार १५ गते सम्म तीन सञ्चालन हुनेछ । कार्यशालामा अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक प्रेम फियाक‚ भक्तपुरको सानोठिमी क्याम्पसका उपप्राध्यापक अमर तुम्याहाङ र काठमाडौं विश्वविद्यालयका एमफिल सोधार्थी पूर्णकुमारी लिङ्देनले सहजीकरण गर्ने छन् ।

किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमिति र अमेरिकास्थित कोलम्बिया विश्वविद्यलयको सहकार्यमा सञ्चालित कार्यशालामा झापा र मोरङका २० जना याक्थुङ (लिम्बू) भाषाका शिक्षकको सहभागिता रहेको छ । कार्यशालाको संयोजन किरात याक्थुङ चुम्लुङ झापा र मोरङले गरेको हो।

उद्घाटन समारोहमा प्राध्यापक फियाकले याक्थुङ भाषाका शिक्षकहरुको पेशागत विकासका लागि कार्यशाला आयोजना गरिएको प्रष्ट्याउनुभयो । उहाँले संविधानमा मातृभाषा शिक्षालाई लागु गर्ने उल्लेख भए पनि त्यो कार्यान्वयन हुन नसकिरहेको र स्थानीय स्तरमा समुदायको जोडबलमा मातृभाषामा पठनपाठन भइरहे पनि शिक्षकहरुले आवश्यक तालीम नपाएको बताउनुभयो ।

मुन्धुमसाबा इन्द्र आङदेम्बेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दमक याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति सेसेमी से–नाल्बो, किरात याक्थुङ चुम्लुङ मोरङका अध्यक्ष डिबी कुरूम्बाङ लगायतको उपस्थिति रहेको थियो ।

किरात याक्थुङ चुम्लुङ झापाका उपाध्यक्ष हस्त आङदेम्बेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कविन्द्र सेर्माले स्वागत मन्तव्य तथा सञ्चालन साङसेन पन्धाकले गरेका थिए ।

सम्बन्धित खवर